• ११ मंसिर २०८१, मङ्गलबार

गाउँका एक्ला अर्गानिक कृषक एमकुमार

blog

कविराज घिमिरे 

हिले, असार १४ गते  । उत्पादन बढाउन र रोग किरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा विषादीको प्रयोग बर्सेनि बढ्दो छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषादी निरुत्साहित गर्न पटक पटक आवाज उठ्ने गरे पनि विषादीको प्रयोग घट्न सकेको छैन । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषक एमकुमार राई भने विगत तीन वर्षदेखि अर्गानिक खेतीको अभियानमा लाग्नुभएको छ । 

उहाँ करिब २५ रोपनी बारीमा लगाएको कृषिजन्य उत्पादनमा न विषादी प्रयोग गर्नुहुन्छ न त रासायनिक मल नै । उहाँको बारीमा तरकारी बाली अन्तर्गत काउली, बन्दा, भिन्डी, काँव्रmा, आलु, टमाटर छन् । फलफूलमा कागती, सुन्तला, अनार, अम्बा, एभोकाडो आदि लगाउनुभएको छ तर ती बालीमा उहाँले कुनै विषादी प्रयोग गर्नुहुन्न । अन्य स्थानमा विषादीले गरेको असर देखेपछि तथा भारतले गरेको नाकाबन्दीका बेला रासायनिक मल र विषादीको अभाव हुँदा विकल्पस्वरूप अर्गानिक खेती सुरु गरेको राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विषादीले असर गर्छ भन्ने त पहिलाबाटै थाहा थियो तर त्यही पनि प्रयोग गरिन्थ्यो । भारतले गरेको नाकाबन्दीमा विषादी पाइनै छाड्यो । त्यसपछि यसको विकल्प खोजिएको हो । त्यहाँबाट अहिलेसम्म विषादी प्रयोग गरिएको छैन ।” उहाँ सो गाउँपालिकाका एक्ला अर्गानिक कृषक हुनुहुन्छ । 

सहिदभूमि गाउँपालिकाका करिब ९० प्रतिशत परिवार कृषि पेसामा आबद्ध छन् । अन्य कृषक विषादी र रासायनिक मल खोज्न बजार धाइरहँदा राई भने आफैँ मल र विषादी बनाउन व्यस्त रहनुहुन्छ । गाईवस्तुको मलसँगै वनमारा, असुरो, भोगटे आदिलाई कुहाएर कम्पोस्ट मल बनाउने गर्नुभएको छ । त्यस्तै असुरो, खुर्सानी, चिलाउनेको बोव्रmा, प्याज, लसुन, सुर्ती आदिबाट औषधी निर्माण गर्ने गर्नुभएको छ । ट्र्याप विधि लिसोमा तथा बत्ती र पानीमा किरा फसाउने गर्नुभएको छ । उत्पादन अर्गानिकबाट केही कम हुने भए पनि माग र मूल्य भने बढी हुने गरेको राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विषादी र रासायनिक मल प्रयोग गर्दाभन्दा उत्पादन त कम हुन्छ तर मूल्य राम्रो छ । बजार पनि छ ।”