• १६ असार २०८१, आइतबार

सन्दर्भ : राष्ट्रिय वृक्षरोपण दिवस

संस्थागत जिम्मेवारीमा कमी

blog

बाटोघाटो, पानीपँधेरो, मठमन्दिर, चौतारो, खेतबारी आदिमा बिरुवा रोपी हुर्काउने हाम्रो परम्परा रहेको छ । गोर्खाका राजा रामशाहले राज्य सञ्चालन गर्न २६ वटा थिति बाँधेका थिए । तीमध्ये १३ औँ थितिमा बाटो छेउ रुख रोप्नुपर्ने र काट्नेलाई दण्डजरिबाना गर्ने व्यवस्था थियो । 

नेपालमा वृक्षरोपण गर्ने कार्य धेरै पहिलेदेखि चलिआएको भए पनि योजनाबद्ध तरिकाले र व्यापक रूपमा भने २०१० सालको दशकबाट सुरु भयो । देशका विभिन्न भागमा वन नर्सरी स्थापना गरी करोडौँका सङ्ख्यामा बिरुवा उत्पादन गरी सरकारी र निजी गरी हजारौँ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिसकिएको छ । हुन त उपयुक्त हावापानी र मलिलो माटोका कारण देशका अधिकांश ठाउँमा प्राकृतिक रूपमै बिरुवा उम्री हुर्केका छन् तर यो सबै ठाउँमा सम्भव हुँदैन । चाहेको ठाउँमा चाहेको प्रजातिको छिटो उत्पादन लिन त वृक्षरोपण नै एक मात्र उत्तम उपाय हो ।

मानव सभ्यताको विकासमा वन र वनस्पतिको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । वन हाम्रो प्राणरक्षक पनि हो । हामी नरहे पनि वन रहन्छ तर वन नरहे हामी रहन सक्दैनौँ । मानिसको जीवनमा रुखबिरुवाको महिमा अपरम्पार छ । रुखबिरुवाले सम्पूर्ण मानव जातिलाई सुख दिने हुनाले नै बुद्धले प्रत्येक मानिसले आफ्नो जीवनकालमा कम्तीमा पाँच वटा रुख रोपी हुर्काउनु पर्छ भनेका थिए । 

वनले हामीलाई काठ, दाउरा, घाँस, स्याउला, जडीबुटीलगायत पैदावारका साथै भूक्षय नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण, जैविक विविधता प्रवर्धन, पर्यापर्यटन, प्रदूषण नियन्त्रण, सौन्दर्यीकरण, मनोरञ्जन, मानसिक र शारीरिक स्वास्थ्यमा सुधार, अध्ययन अनुसन्धानलगायत क्षेत्रमा ठुलो योगदान दिन्छ । वनले मानिसको फोक्सोले जसरी चौबिसै घण्टा हावा सफा गरिरहन्छ । साथै, सामाजिक र धार्मिक क्षेत्रमा पनि वनको अहम् भूमिका रहेको छ । 

नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्र कृषि, ऊर्जा, उद्योग, पर्यटनको विकासको आधारस्तम्भका रूपमा वन रहेको छ । देशको ५१ प्रतिशत परिवारले खाना पकाउन अझै पनि दाउरा नै प्रयोग गर्छन् । कृषिप्रधान देश नेपालमा कृषि र वनबिच अन्योन्याश्रित सम्बन्ध छ । नेपालको ४४.७४ प्रतिशत भूभाग वनले ओगटेको छ । वन क्षेत्र क्रमशः बढेको भए पनि देशभर समान रूपमा भने छैन । ग्रामीण पहाडी क्षेत्रमा खास गरी सामुदायिक वन विकास कार्यक्रमको सफल कार्यान्वयन र मानिसको अन्यत्र बसाइँसराइ जस्ता कारणले गर्दा वन क्षेत्र बढिरहेको छ तर सहरी क्षेत्रमा भने हरियाली कम छ । नेपालमा सहरीकरणको स्तर कम देखिए पनि गति तीव्र छ । विभिन्न देशका कतिपय सहर जहाजी दृश्यबाट हेर्दा सुन्दर बगैँचा जस्ता देखिन्छन् तर हाम्रा सहरहरूमा अत्यन्त कम हरियाली रहेको छ । 

कतै कतै एकदम साँघुरा फुटपाथमा समेत ठुलो हुने प्रजाति वृक्षरोपण गरिन्छ । कतिपय ठाउँमा स्थान र बिरुवाको गुणको ख्याल नै नगरी जसले पायो त्यसले, जहाँ पायो त्यहीँ, जसरी पायो त्यसरी, जुन पायो त्यही प्रजातिका बिरुवा रोप्नुका साथै रोपणपछि संरक्षण र व्यवस्थापनमा पनि खासै ध्यान दिएको पाइँदैन । वृक्षरोपण र व्यवस्थापनका लागि स्पष्ट संस्थागत जिम्मेवारीको कमीले गर्दा समस्या परेको छ । 

सहरी क्षेत्रमा वृक्षरोपण गर्ने जग्गा पनि कम र जनसङ्ख्याको चाप पनि बढी हुने भएको हुँदा अन्य क्षेत्रको दाँजोमा यस्ता क्षेत्रमा बिरुवा रोप्दा विशेष ध्यान पु¥याउनु पर्छ । स्थान अनुसार प्रजाति छनोटमा विशेष ध्यान दिनु पर्छ । संरक्षण गर्न र हुर्काउन सहजताका लागि ठुला आकारका बिरुवा रोपिनु पर्छ । कुनै ठाउँमा गलत प्रजाति परेमा फाइदाभन्दा बेफाइदा बढी हुन्छ । त्यसैले ‘ठिक ठाउँमा ठिक प्रजाति’ रोपिनु पर्छ । साथै बिरुवा रोपेपछि नहुर्केसम्म बच्चालाई जस्तै स्याहारसुसार गरिरहनु पर्छ । सडक छेउका बिरुवाको सुरक्षाका लागि त ‘ट्री गार्ड’ को पनि व्यवस्था गरिनु आवश्यक हुन्छ । वृक्षरोपण एक प्राविधिक विषय भएकाले प्राविधिक पक्षलाई विशेष ध्यान दिनु जरुरी हुन्छ । सम्बन्धित वन कार्यालय तथा स्थानीय निकायका प्रतिनिधि, वनस्पति विज्ञसहितको एक समिति गठन गरी प्रजाति छनोट, वृक्षरोपण, संरक्षण र व्यवस्थापनको व्यवस्था गरिनु आवश्यक हुन्छ । यो कार्य कुशल योजना, कार्यदिशा, बलियो इच्छाशक्तिसहित तयारी हुनु पर्छ ।  

ग्रामीण पहाडी क्षेत्रमा वनक्षेत्र बढेको देखिए पनि बहुमूल्य प्रजातिको भन्दा पनि कम महìवका र झाडीयुक्त वनस्पतिको बाहुल्यता देखिन्छ । त्यसैले छिटो बढ्ने बहुउपयोगी प्रजाति रोप्नु पर्छ । साथै यस वर्ष डढेलोबाट धेरै वन विनाश भएकोले पनि वृक्षरोपणलाई अझ अभियानकै रूपमा सञ्चालन गर्नु पर्छ । वृक्षरोपणमा आवश्यक सङ्ख्यामा गुणस्तरीय बिरुवा उत्पादनको सुनिश्चितता हुन जरुरी हुन्छ । 

वृक्षरोपणको प्रसङ्ग उठाउँदा सदुपयोगको विषयलाई पनि जोड्नु सान्दर्भिक हुन्छ । वन एक नवीकरणीय महत्वपूर्ण प्राकृतिक सम्पदा हो । पृथ्वीभित्र रहेका पेट्रोल, डिजेल, कोइला जस्ता खनिज पदार्थ जसरी यो सकिँदैन । वृक्षरोपण गरी बिरुवा हुर्काउने र व्यवस्थित तथा योजनाबद्ध तवरले कटान गर्ने हो भने यो कहिल्यै पनि सकिँदैन । अर्को शब्दमा भन्नुपर्दा, उपयुक्त समयमा कटान गर्ने र वृक्षरोपण तथा व्यवस्थापन कार्य एकसाथ गर्दै गएमा वन अक्षुण्ण प्राकृतिक स्रोतका रूपमा रहिरहन्छ । त्यसैले यसलाई नवीकरणीय प्राकृतिक स्रोत भनिएको हो र यसका दिगो व्यवस्थापन प्रणाली पनि विकास भएका छन् ।

देशको झन्डै आधा भूभाग ओगटेको वनलाई सुव्यवस्थित, दिगो र बुद्धिमत्तापूर्ण तरिकाले सदुपयोग गर्न सकेमा देशमा काठलगायत वन पैदावारको माग र आपूर्तिमा सन्तुलन आई हाल विदेशबाट हुने आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । यसबाट देशको अर्बाैं रकम विदेश जानबाट जोगिनुका साथै प्रशस्त रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना भई देशको समृद्धिमा समेत टेवा पुग्ने छ ।

आज असार १४ गते, राष्ट्रिय वृक्षरोपण दिवस । बर्सेनि वृक्षरोपण गर्नुका साथै प्रचारप्रसारका विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । वृक्षरोपण गरी वन वृद्धि गर्नु र वन, वातावरण, जैविक विविधता, पर्यापर्यटन, जलवायु परिवर्तनलगायतका विषयमा जनचेतना अभिवृद्धि गर्नु नै यो दिवसको प्रमुख उद्देश्य हो । 

विगत केही दशकदेखि नेपालमा कहिले असार १३ गते, कहिले असार २३ गते र कहिले असार १५ गते वन महोत्सव/दिवस मनाउने गरिएकोमा २०७५ सालबाट असार १४ गते मनाउन थालिएको हो । हाल नेपालमा मात्र नभई विश्वमा नै ख्याति कमाएको सामुदायिक वन विकास कार्यक्रमका आधारस्तम्भका रूपमा रहेका वन ऐन, २०१८ अन्तर्गत पञ्चायती वन र पञ्चायत संरक्षित वन नियमावलीहरू २०३५ असार १४ गते नै नेपाल राजपत्रमा प्रकाशित भएको थियो । त्यसलाई नै आधार मानी यो दिन तय भएको हो । 

२०७६ साल असार १४ गते काठमाडौँको चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सडकको दायाँबायाँ र बिचमा गरी तीन हजारभन्दा बढीको सङ्ख्यामा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएका थिए । हाल उक्त बिरुवा हुर्केर सो क्षेत्रको सुन्दरता अभिवृद्धि भएको छ । वातावरण मनमोहक बनेको छ । 

सरकारी, गैरसरकारी, शैक्षिक, वित्तीय आदि सबै क्षेत्र तथा नागरिक समाज, धार्मिक संस्था, वन उपभोक्ता समिति आदि सबैको संलग्नतामा देशभर उपयुक्त क्षेत्रमा अभियानकै रूपमा वृक्षरोपण गर्न यस दिवसले प्रेरणा दिन्छ । ‘त्यो समाज नै समृद्ध हुन्छ, जहाँ बुढाबुढीले आफू त्यो रुखको छहारीमा बस्न पाउँदिन भन्ने जान्दाजान्दै पनि बिरुवा रोप्छन्’ भन्ने ग्रिक भनाइ हामी सबैले मनन गर्नुपर्ने देखिन्छ । अतः आजको यो राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा वृक्षरोपण गरिएका बिरुवाको संरक्षण र व्यवस्थापन गर्न अभियान नै सञ्चालन गर्नु पर्छ । अनि मात्र ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिलाई चरितार्थ गर्न सहयोग पुग्छ ।