साप्ताहिक समाचारपत्रका रूपमा विसं १९५८ वैशाख २४ मा ‘गोर्खापत्र’ प्रकाशन सुरु भएको ४८ वर्षपछि नेपाल बाह्य जगत्का लागि खुला भयो । २००७ सालअघि विदेशीका लागि ‘निषिद्ध देश’ नेपाल प्रवेश गर्न तत्कालीन वंशगत प्रधानमन्त्री श्री ३ महाराजको अतिथि हुनुबाहेक अर्को उपाय थिएन । बाह्य विश्वसँग सडक र हवाईमार्ग दुवैबाट पृथक् रहेको ‘निषिद्ध देश’ नेपालमा सन् १९५० सम्म अङ्ग्रेजहरू मात्र आउन पाउने (त्यसबेला गोरो छाला भएका सबैलाई नेपालीहरू अङ्ग्रेज भन्दथे) टोनी हागन उल्लेख गर्दछन् ।
तत्कालीन शासकको अनुमतिपछि सन् १९५० दशकको सुरुमा राष्ट्रसङ्घका तर्फबाट नेपालमा कार्यरत स्विट्जरल्यान्डका भूगर्भविद् टोनी हागनले नेपालका सबै क्षेत्रमा घुमेर मध्ययुगीन सामन्ती समाजदेखि आधुनिक प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपाललाई आफ्नो कृति ‘नेपाल’ को माध्यमबाट यो निषिद्ध देशलाई विश्वसामु परिचित तुल्याउन योगदान पुर्याएका थिए । त्यतिबेला सिल्भा लेभी, पर्सेभल ल्यान्डन र विल्हेन फिल्चनरलगायतका केही कृतिबाहेक चर्चित प्रकाशनको अभाव रहेका बेला हागनको ‘नेपाल’ ले यो देशलाई आंशिक रूपमै भए पनि अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सघाउ पुग्यो ।
पश्चिमी राष्ट्रका केही लेखकको नेपालसम्बन्धी सीमित कृति सार्वजनिक हुनुअघि प्रथम रुसी नेपालविद् इभान पाब्लोभिच मिनाएभ तथा जापानका बौद्ध भिक्षु इकाई कावागुचीले १९ औँ शताब्दीको अन्त्यताका नेपाल भ्रमण गरेर सार्वजनिक गरेका तथ्यले पनि नेपाललाई बाह्य जगत्सँग परिचित तुल्याउन योगदान पुर्याएको थियो । सन् १८७५ मा पहिलो भारतयात्राको सन्दर्भमा रुसी विद्वान् मिनाएभले नेपाल भ्रमणको वृत्तान्तसम्बन्धी विभिन्न लेख रुसी पत्रपत्रिकामा प्रकाशित गरेर यो निषिद्ध देशलाई विश्व समुदायमा चिनाउने कार्यमा इँटा थपेका थिए ।
रुसी नेपालविद् मिनाएभले झन्डै डेढ शताब्दीअघि नेपालसम्बन्धी कृतिमा लेखेका थिए, “देशको सम्पूर्ण शासनको बागडोर जङ्गबहादुरको बहुसङ्ख्यक परिवार, उनका भाइ, छोरी र भतिजाको हातमा छ, यहाँ उनीहरू जति धनाढ्य अरू कोही छैन, राम्रो घर, घोडा, बग्गी उनीहरूकै अधीनमा छन् । नेपाल स्वतन्त्र राष्ट्र हो, परन्तु युरोपेलीको निम्ति त्यसको ढोका प्रायशः बन्द छ । त्यहाँ पश्चिमी सभ्यताको प्रभाव पनि निकै थोरै परेको छ । यहाँ पर्यटक निकै कम आउँछन् । काठमाडौँस्थित ब्रिटिस लिगेसनमा स्थायी रूपले बस्ने तीन युरोपेली रेजिडेन्ट, उनका सहायक र चिकित्सकबाहेक कोही थिएनन् ।” रुसमा दशकौँ बिताएका कृष्णप्रकाश श्रेष्ठद्वारा अनुदित ‘ई पा मिनाएभको नेपाल’ मा उनले तत्कालीन नेपालको राजनीतिक तथा सामाजिक परिवेशको यथार्थ चित्रण उतारेका छन् ।
कावागुचीको योगदान
नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक बौद्ध भिक्षु र अन्वेषक इकाई कावागुचीले तिब्बत जाने क्रममा सन् १८९९ मा नेपाल भ्रमण गरेपछि लेखेका यात्रावृत्तान्त ‘तिब्बतमा तीन वर्ष’ मा नेपाल बसाइका विभिन्न पक्षलाई समेटेका थिए । त्यसबेला नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश र जीवनशैलीलाई आफ्नो कृतिमा उल्लेख गरेर जापानी समुदाय र अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई परिचित गराउन कावागुचीको योगदान त्यत्तिकै स्तुत्य छ । बाह्य विश्वका लागि नेपाल खुला गरिनुअघि नेपाल सम्बन्धमा सार्वजनिक गरिएका यी कृति केही उदाहरण मात्र हुन् ।
पश्चिमी राष्ट्रका विद्वान्ले त्यसबेला अन्य कतिपय कृतिसमेत प्रकाशन गरेका थिए र यो क्रम २००७ सालमा देशमा प्रजातान्त्रिक युगको सूत्रपात भएपछि निरन्तर बढ्दै गएको छ । हालका अवधिमा विदेशीद्वारा नेपालको राजनीतिक, आर्थिक, सामाजिक, हिमाल आरोहण र पर्यटकीय स्थललगायत कतिपय पक्षमा लेखिएका कृतिको सूची निकै लामो छ ।
नेपाल चिनाउनेहरू
कैयन् शताब्दीसम्म बाहिरी विश्वका लागि बन्द देशमा त्यतिबेला प्रतिष्ठित व्यक्ति शासकको निम्तोमा सिकारका लागि आउने गरेकाले मात्र होइन, विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल, वीर गोर्खाली सैनिकको भूमिका रूपमा विश्व समुदायमा चिनिएको थियो । ७४ वर्षअघि सन् १९५० जुन ३ मा ८०९१ मिटर उचाइको अन्नपूर्ण हिमालको प्रथम सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका फ्रान्सेली आरोही मौरिस हर्जोगको कृति ‘अन्नपूर्ण’ प्रकाशमा आएपछि विश्वका विभिन्न भूभागमा रहेका पर्वतारोहीले नेपालका हिमशृङ्खलाबारे जानकारी पाए । ८००० मिटरभन्दा उच्च हिमालको सफल आरोहण गर्ने पहिलो कीर्तिमान राख्ने हर्जोग तथा लुई लचेनन टोलीको अन्नपूर्ण आरोहण नेपालको पर्वतारोहण, पदयात्रा र समग्रमा पर्यटनका लागि कोसेढुङ्गा साबित भएको छ । नेपालमा पर्वतीय पर्यटनको व्यावसायिक शुभारम्भ गर्ने हर्जाेगको स्मृतिमा म्याग्दीको नारच्याङबाट अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गले त्यसपछिका वर्षमा हजारौँ पदयात्रीलाई त्यस भेगका हिमशृङ्खलाप्रति मोहनी लगाइरहेको छ ।
अन्नपूर्ण हिमाल आरोहणको तीन वर्षपछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीद्वारा विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम सफल आरोहणपछि विदेशका सयौँ पर्वतारोही हिउँले सेताम्य नेपालका उच्च हिमाल आरोहणप्रति आकर्षित हुन थाले । सन् १९२४ को जुन ८ मा बेलायतका एन्ड्र्यु स्यान्डी इर्भिन तथा जर्ज म्यालोरी सगरमाथा आरोहणका सिलसिलामा बेपत्ता भएपछिका वर्षमा आरोहणका छिटपुट प्रयास भए पनि सन् १९५३ मा मात्र आरोहीलाई इतिहास रच्ने अवसर जुट्यो । आरोही जर्ज सन् १९९९ मा मृत फेला परेका थिए भने नेसनल जियोग्राफिक डकुमेन्ट्री टोलीले हालै सगरमाथाको उत्तरी मोहडा तल रोङबुक हिमनदीमा एन्ड्र्युको जुत्ता र जुत्ताभित्र खुट्टा फेला पारेपछि नेपालको हिमशृङ्खला फेरि एक पटक विश्व चर्चामा आएका छन् । देशमा हिमाच्छादित हिमाल र हिमचुचुराको विश्वभर प्रवर्धन गर्न गोरखापत्र संस्थानका प्रकाशन (‘गोरखापत्र’, ‘दी राइजिङ नेपाल’, ‘युवामञ्च’, ‘मधुपर्क’ तथा ‘मुना’) लगायत देशविदेशका असङ्ख्य सञ्चार माध्यमको उल्लेख्य योगदान रहेको जगजाहेर छ ।
साहसिक पदयात्रा
सर्वोच्च शिखर सगरमाथा नेपालको गौरव मात्र होइन, विश्व समुदायको अनुपम सम्पदा हो । ७१ वर्षअघि सफलताको गाथापछि यो हिमशिखरले प्रत्येक वर्ष विश्वका विभिन्न भूभागका सयौँ पर्वतारोहीलाई आकर्षित गर्दै आएको छ र सन् २०२२ सम्म ७२२६ नेपाली र विदेशी पर्वतारोही (५१९ महिलासमेत) ले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । शिखरबाट आधार शिविर झर्ने क्रममा तीन सयभन्दा बढी आरोहीले जीवन गुमाएका छन् भने ३६ भन्दा बढी कीर्तिमान स्थापित भइसकेका छन् । सगरमाथा आरोहणमा आरोहीको बढ्दो सङ्ख्याका कारण फोहोर व्यवस्थापनमा चुनौती थपिएको मात्र होइन, जलवायु परिवर्तन र हिमताल विस्फोटका सम्भावनाले थप समस्या सिर्जना भएको छ ।
हिमाल आरोहण र साहसिक पदयात्राको प्रमुख गन्तव्य राष्ट्रका रूपमा चर्चित नेपालमा ८००० मिटरभन्दा बढी उचाइका आठ हिमाल (सगरमाथा, कन्चनजङ्घा, अन्नपूर्ण, ल्होत्से, मकालु, चोयु, धवलागिरि र मनासलु) तथा ६००० मिटरभन्दा बढी उचाइका एक हजार ३१० हिमचुचुरा भएको बताइन्छ । प्रत्येक वर्ष यी हिमाल आरोहणबाट प्राप्त रोयल्टी वृद्धि हुने व्रmम जारी छ । सरकारले हालै ५७ हिमचुचुरा आरोहणका लागि खुला गरेपछि पूर्वदेखि पश्चिमसम्म खुला गरिएका हिमचुचुराको सङ्ख्या ४६१ पुगेको छ तर अधिकांश चुचुरा आरोहणतर्फ न त आरोही आकर्षित हुन सकेका छन् न त यी नयाँ चुचुराको प्रचारप्रसार र प्रवर्धन नै हुन सकेको छ ।
एसियाका दुई उदाउँदा विशाल आर्थिक शक्ति राष्ट्र भारत र चीनको बिचमा अवस्थित नेपालको विश्व पर्यटन जगत्मा हिमाली शृङ्खलाको कारण मात्र होइन, प्राकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा तथा १४२ जातजाति र १२४ मातृभाषा भएका जनताका संस्कृतिले समेत पर्यटकलाई नेपाल भ्रमणप्रति आकर्षित गर्ने गरेको छ, यद्यपि पर्यटक आगमन अन्य राष्ट्रको तुलनामा सन्तोषजनक छैन ।
जीवित सङ्ग्रहालय
काठमाडौँ उपत्यकामा २० किलोमिटर क्षेत्रभित्र १३ औँ शताब्दीमा तत्कालीन मल्ल राजाको शासनकालमा निर्मित हनुमानढोका दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्रका साथै चाँगुनारायण, स्वयम्भूनाथ, बौद्धनाथ स्तूप, पशुपतिनाथ क्षेत्र तथा लुम्बिनी विश्व सांस्कृतिक सम्पदा सूचीमा समावेश हुनुका साथै सगरमाथा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्ज विश्व प्राकृतिक सम्पदामा सूचीकृत भएकाले नेपालको प्रकृति र सांस्कृतिक सम्पदाले विश्वका लाखौँ पर्यटकलाई नेपाल भ्रमणप्रति आकर्षित गर्न सकेको हो र काठमाडौँ उपत्यकाका विश्व सम्पदामा सूचीकृत सात सम्पदाको फलस्वरूप कतिपय लेखकले उपत्यकालाई जीवित सङ्ग्रहालयका रूपमा चित्रण गर्ने गरेका छन् ।
काठमाडौँमा १९५० को दशकमा होटेल स्थापना गर्ने टम मेन्डिज ‘नेपालका सम्झनाहरू’ मा लेख्छन् । यो देश एक सजीव सङ्ग्रहालय हो । मानव रचित कलाकौशल र सासै रोकिने गरी आश्चर्यचकित पार्ने प्राकृतिक दृश्यले झकिझकाउ सङ्ग्रहालय, परम्परागत सौन्दर्य, सरलता, हँसिला अनुहारका मानिस र मनमोहक प्राकृतिक सौन्दर्यले समृद्ध देश । देशको पूरा अर्थतन्त्र धान्न पुग्ने धन पर्यटन उद्योग एक्लैले आर्जन गर्न सक्छ । नेपालमा पर्यटन विकासको प्रसङ्गमा बोरिस लिसानोभिच, जेम्स रोबट्र्स, रोबर्ट रिफेललगायत कतिपय व्यक्तित्वको योगदान अविस्मरणीय रहिरहने छ ।
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ मा शाहवंशीय राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरेपछि देशमा सात प्रदेश (सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी, मधेश, कोशी प्रदेश) का साथै छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तह स्थापना गरियो । सङ्घीय, प्रदेश र स्थानीय निकाय तिनै तह अन्तर्गत रहेका क्षेत्रमा पर्यटकीय आकर्षणका अनगन्ती सम्पदा रहे पनि पूर्वाधार र प्रवर्धनको अभावमा ती आकर्षणको अपेक्षित सदुपयोग हुन सकेको छैन । गोरखापत्र र यसका सहप्रकाशनले नियमित रूपमा त्यस्ता आकर्षण र गन्तव्यको विविध सामग्रीका माध्यमबाट जनतालाई सुसूचित गर्दै आएका छन् ।
विश्वको कुल भूभागको ०.०३५, एसिया महादेशको ०.३५ र दक्षिण एसियाको २.८२५ भूभाग ओगटेको तथा पूर्व पश्चिम लम्बाइ ८८५ किलोमिटर र उत्तर दक्षिण चौडाइ करिब १९३ किलोमिटरमा फैलिएको भूपरिवेष्ठित राष्ट्र नेपाल जलसम्पदा, जडीबुटी र पर्यटकीय आकर्षणमा समृद्ध छ । देशका २१ हिमाली जिल्ला, २८ पहाडी जिल्ला, भित्री मधेशका सात, तराईका १८ जिल्ला तथा काठमाडौँ उपत्यका सबैमा सयौँ पर्यटकीय गन्तव्य छनोट गरेर ती क्षेत्रको पूर्वाधार विस्तारमा स्थानीय निकायद्वारा ध्यान दिइए पनि ती क्षेत्रले अपेक्षा अनुरूप विदेशी पर्यटक आकर्षित गर्न अनेकन चुनौती सामना गर्नु परेको छ । कतिपय क्षेत्रमा आन्तरिक पर्यटकको यात्रा अभिरुचि हालका वर्षमा वृद्धि हुनु सकारात्मक पक्ष मानिनु पर्छ ।
सन् १९६० दशकको प्रारम्भमा स्थापित ट्रेकिङ एजेन्सीमार्फत पदयात्रा व्यवसायका सङ्गठित प्रयास सुरु भएपछि नै नेपाल साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विश्वका कतिपय ट्राभल गाइडमा चर्चित छ । अन्नपूर्ण सर्किटका विभिन्न क्षेत्र, अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, उपल्लो मुस्ताङमा प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा पदयात्री पुग्ने गर्दछन् । नेपालमा पदयात्राका लागि आउने विदेशीको रोजाइमा पर्ने प्रमुख पदयात्रा मार्गमा पर्दछन् । अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, सगरमाथा क्षेत्र, मनासलु, लाङटाङ, माछापुच्छ्रे, मार्दी हिमाल, माथिल्लो मुस्ताङ, डोल्पा क्षेत्र, रारा खप्तड, लिमी उपत्यका, पाथीभरा, दुधकुण्ड, हेलम्बु, रुवी उपत्यका र पश्चिमी क्षेत्रका हिमाली र पर्वतीय क्षेत्र समेट्ने ‘ग्रेट हिमालयन ट्रेल’ लामो पदयात्रा गर्ने ट्रेकरका लागि मुख्य गन्तव्य रहेको छ ।
अर्को आकर्षण जलयात्रा र्याफ्टिङ । सन् १९७० दशकताका व्यावसायिक आधारमा जलयात्रा सुरु गर्ने क्रममा सुनकोशी, सेती, अरुण, कालीगण्डकी, कर्णाली, भोटेकोशी, तामाकोशी, मस्र्याङ्दी, भेरी र त्रिशूली नदी खुला गरिए । करिब छ हजार नदीनाला भएको देशमा जलयात्राको योजनाबद्ध विकास हुन नसक्दा यस व्यवसायले गति लिन सकेको छैन । र्याफ्टिङ प्रवर्धनमा निजी क्षेत्रका व्यवसायी सक्रिय रहे पनि सरकारी नीतिमा यसले उच्च प्राथमिकता पाएको उनीहरू अनुभव गर्दैनन् । प्रत्येक वर्ष नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) ले जलयात्रा महोत्सव आयोजना गरेर मात्र सेतो सुन जस्तै अपार सम्भावना भएको व्यवसाय फस्टाउन सक्दैन ।
आकर्षक गन्तव्य
सानो तर सुन्दर नेपाल । समुद्र सतहको ७० मिटरदेखि ८८४८.८६ मिटर (२९०३२ फिट) उच्च सगरमाथाले सुसज्जित देश वन्यजन्तु पर्यटनमा पनि आकर्षक स्थल मानिन्छ । करिब २० प्रतिशत संरक्षित क्षेत्र रहेको नेपालमा सात राष्ट्रिय निकुञ्ज (बर्दिया, खप्तड, लाङटाङ, मकालुवरुण, रारा, से फोक्सुन्डो र शिवपुरी नागार्जुन), तीन संरक्षण क्षेत्र (अन्नपूर्ण, कञ्चनजङ्घा र मनासलु), तीन वन्यजन्तु आरक्ष (कोशी, पर्सा र शुक्लाफाँटा) तथा सिकार आरक्षमा ढोरपाटन जैविक विविधता र पशुपन्छीको संरक्षणमा अतुल्य छन् । १९७३ मा स्थापित (३२ वर्ग किमी क्षेत्रफलको चितवन राष्ट्रिय निकुञ्ज विश्वकै जङ्गल सफारीको आकर्षक गन्तव्य रहिआएको छ । एकसिङे गैँडादेखि दुर्लभ वन्यजन्तुको वासस्थान रहेको राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर सौराहादेखि नवलपुरको अमलटारीसहित कतिपय क्षेत्रमा सफारी पर्यटन प्रवर्धन संस्थागत रूपमा सञ्चालित छ ।
पर्यटकलाई लोभ्याउने पर्यटकीय आकर्षणको सूची निकै लामो छ । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ अल्ट्रालाइट एयरक्राफ्ट उडान, पर्वतीय उडान, बन्जीजम्पिङ, कायाकिङ, माउन्टेन बाइकिङ, हट एयर बेलुनिङ अन्य आकर्षण हुन्, तथापि यी आकर्षणले अझै गति लिन सकेको छैन । राजनीतिक पण्डितले नेपाल विश्वकै अत्यन्त आकर्षक प्रमुख गन्तव्य भनेर सुगा रटाइ प्रचार गरेर आत्मसन्तुष्टि लिए पनि विश्व पर्यटन मानचित्रमा देशमा पर्यटक आगमन केही अपवाद छाडेर वार्षिक औसत आठ लाखभन्दा बढी पुगेको छैन । किन ? प्रश्न जति गम्भीर छ, त्यत्तिकै अनुत्तरित !
अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि पुनस्र्थापित गर्ने, पर्यटन विकासप्रति जनचेतना विस्तार, आन्तरिक पर्यटन प्रवर्धनका साथै नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या पाँच लाख पुर्याउने, पर्यटकको औसत बसाइ अवधि १३ रात र औसत दैनिक खर्च ५० अमेरिकी डलर पुर्याउने लक्ष्यका साथ पहिलो पल्ट सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरियो तर पर्यटक आगमन सन् १९९८ मा ४ लाखको हाराहारीमा नाघ्न सकेन । पर्यटन प्रवर्धनको सन्दर्भमा सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाई प्रतिपर्यटक प्रतिदिन खर्च १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ ।
विनाशकारी भूकम्प र कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र अब लयमा फर्किएको छ । सन् २०२३ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलित भ्रमण आय ६८ अर्ब रुपियाँ नाघेको छ । जबकि रेमिट्यान्सबाट प्राप्त रकम राष्ट्रिय बजेट बराबर गत वर्ष १७ अर्बभन्दा बढी छ । नेपालीले विदेश भ्रमण गर्दा प्रत्येक वर्ष विदेशी पर्यटकबाट प्राप्त आम्दानीभन्दा बढी रकम खर्च गर्ने गरेका छन् । सन् २०२३ को तथ्याङ्क हेर्दा पर्यटकको औसत बसाइ १३.२ र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलरमा सीमित छ । हवाईमार्ग र स्थलमार्ग दुवैसमेत सन् १९२२ मा कुल छ लाख १४ हजार ८६९ पर्यटक नेपाल आएका थिए भने सन् २०२३ मा हवाईमार्गबाट नौ लाख १४ हजार २७० तथा स्थलमार्गबाट एक लाख ६१२ समेत कुल १० लाख १४ हजार ८८२ पर्यटकले नेपाल भ्रमण गरे ।
सेतो हात्ती नबनून्
पर्यटकलाई आतिथ्य प्रदान गर्ने होटेलको निर्माण र सञ्चालन मौलाएको छ । डिलक्ससहितका पाँचतारे होटेलको सङ्ख्या २०८० पुससम्म १८२, तारे स्तरबाहेकका होटेल, लज र रिसोर्टको सङ्ख्या एक हजार २३४, तारे स्तरका होटेलमा शय्या सङ्ख्या करिब १८ हजार, अन्य होटेलमा करिब ३७ हजार, २८ क्यासिनो, मिनी क्यासिनो सञ्चालनमा छन् । त्यस्तै ट्राभल एजेन्सी चार हजार ८४५, ट्रेकिङ एजेन्सी तीन हजार १९१, र्याफ्टिङ एजेन्सी ९४, अन्तर्राष्ट्रिय उडान गर्ने ३१ वायु सेवा, आन्तरिक उडानतर्फ २२ वायु सेवा, कुल सञ्चालित विमानस्थलको सङ्ख्या ३३ छ । देशको आवश्यकता अनुरूप विदेशी ऋणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि विदेशी विमान सेवाको उडान हुन नसक्दा कतै ती सेतो हात्ती बन्ने त होइनन् भन्ने चिन्ता बढेको छ ।
नेपाल आगमन गर्ने हवाई भाडा अत्यन्त महँगो, हवाई भाडामा १३ प्रतिशत भ्याट र पाँच प्रतिशत सेवा शुल्क लिने सरकारी नीतिले नेपाल हालका वर्षमा अत्यन्त महँगो गन्तव्य प्रमाणित भएको छ । बारम्बार विमान दुर्घटनापछि युरोपियन युनियनले नेपाली विमानलाई युरोपियन आकाशमा उडान गर्न प्रतिबन्ध लगाउँदै कालो सूचीमा राखेकाले समेत पर्यटक आगमनमा प्रतिकूल असर परेको देखिन्छ । यस अवस्थामा सन् २०२४ मा पर्यटक आगमन १६ लाख पुर्याउने सरकारी लक्ष्य योजनामा मात्र सीमित हुने छ र पर्यटक आगमन १६ लाखवरपर रहने आकलन छ । हालका वर्षमा नेपाल पर्यटन बोर्ड गठनमा बढ्दो राजनीतीकरणका कारण निजी क्षेत्रको अपेक्षित विश्वास बोर्डले प्राप्त गर्न सकेको छैन ।
विश्वमा २१ औँ शताब्दीको सुरुदेखि नै प्रत्येक राष्ट्रका कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । विकसितदेखि विकासशील र अल्पविकसित राष्ट्रहरू सबैमा सञ्चार माध्यमले पर्यटन उद्योगको विकास विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सञ्चार माध्यमले पर्यटन क्षेत्रको विकास विस्तारका प्रसङ्गमा विभिन्न पर्यटकीय गन्तव्यको जानकारी, गन्तव्यका संस्कृति र विशेषताको सूचना प्रवाह, नयाँ पर्यटन प्रविधिको प्रचारप्रसार, यात्रा आलेख र विवरणमा पर्यटकको अनुभव आदानप्रदान मात्र होइन, स्थानीय व्यवसायको प्रवर्धन र सामुदायिक विकासमा समेत योगदान पुर्याउँछन् ।
छापा पत्रपत्रिका, रेडियो र टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमले पर्यटन क्षेत्रको विषयमा सूचना प्रवाह, पर्यटकीय आकर्षणको प्रवर्धन, विज्ञापनका माध्यमबाट बजार प्रवर्धन गर्न सकारात्मक सन्देश प्रवाहित गर्नुका साथै समस्याको समाधानमा सम्बद्ध निकायलाई घचघच्याउने गरेकाले पर्यटन विकासको माध्यमबाट स्थानीय विकास र समुदायको आर्थिक, सामाजिक रूपान्तरणमा योगदान पुग्छ भन्ने सन्देश गाउँघरमा समेत पुगेको छ । फलस्वरूप आन्तरिक पर्यटनको विकास तथा घरबासको (होमस्टे) व्यापक विस्तार भई यसबाट राष्ट्रिय अर्थतन्त्रमा सानै परिणाममा भए पनि योगदान पुगेको पक्षलाई बिर्सन मिल्दैन ।
गोरखापत्र र यसका सहप्रकाशनले यस आलेखमा उल्लेख गरिएका विविध पक्षलाई समाचार, विचार र तस्बिरमार्फत नियमित रूपमा समेटेर जनतालाई सुसूचित गर्ने गरेका छन् । पर्यटन क्षेत्रका विविध पक्षका विषयमा समाचार विचार प्रस्तुतिमा गोरखापत्र दैनिक र यसका सहप्रकाशन ‘दी राइजिङ नेपाल’ तथा मासिक प्रकाशनहरू अग्रपङ्क्तिमा रहेको विचार व्यक्त गर्दछन् कतिपय पर्यटन व्यवसायी ।
विकास पत्रकारितालाई ग्रामीण क्षेत्रसम्म व्यापक पार्न सकेको गोरखापत्रले नेपाल बाह्य विश्वका लागि खुला गरिएपछि सात दशकसम्म अनवरत रूपमा पर्यटन प्रवर्धनको दिशामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । देशमा पर्यटन पूर्वाधारको समुचित विकासको अभाव, वातावरणीय प्रदूषणको समस्या, प्राकृतिक र सांस्कृतिक सम्पदाको उचित संरक्षणको अभाव, यातायातलगायत विविध समस्याका कारण अद्यापि पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।
देशको सबैभन्दा जेठो अखबार गोरखापत्रले स्थापनाकालदेखि १२४ वर्षको अवधिमा विभिन्न आरोह अवरोहको सामना गर्नुपरेको छ । विसं १९५८ मा साप्ताहिक समाचारका रूपमा प्रकाशन सुरु भएको ‘गोर्खापत्र’ विसं २००० असोजमा अर्धसाप्ताहिक, २००३ पुसमा हप्तामा तीन पटक प्रकाशित हुने गरेकामा २०१७ फागुन ७ गते दैनिक प्रकाशन हुन थाल्यो । विसं १९८३ जेठ ४ मा ‘गोर्खापत्र’ को सट्टा ‘गोरखापत्र’ लेख्न थालिने क्रमसँगै पहिलो पटक विसं १८८४ वैशाख १३ गते चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठनीको तस्बिर प्रकाशित भयो । यस अर्थमा फोटो पत्रकारिताको जननी गोरखापत्र मानिँदै आएको छ ।
गोरखापत्र अहिले नेपालको मात्र नभएर दक्षिण एसियाकै सर्वाधिक पुरानो अखबारमध्येको पङ्क्तिमा पर्दछ । गोरखापत्र प्रकाशनको १२४ वर्षको अवधिमा यस समाचारपत्रले हजारौँहजार तस्बिर प्रकाशन गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रदेखि प्रमुख पर्यटकीय आकर्षण विषयमा तस्बिरहरूका अतिरिक्त समाचार, विचार सम्प्रेषण गर्दै आएको छ । देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा यो समाचारपत्र अनुसन्धाता निम्ति आधारभूत महत्वको स्रोत सामग्री रहेको मात्र होइन, नेपाली पत्रकारिताको पर्यायवाची शब्द बनेको छ ।
नेपाली पत्रकारिताका प्रभाव र विश्वसनीयता सम्बन्धमा विविध क्षेत्रमा बहस जारी रहे पनि गोरखापत्र तथा यसका सहप्रकाशन समाचार र विचार सम्प्रेषणमा बढी जिम्मेवार र विश्वसनीय रहँदै आएको तथ्य कसैले अस्वीकार गर्न सक्दैन । देशको दुर्गम क्षेत्रका गाउँघरका कुना कुनाका समाचार सम्प्रेषण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमबारे यसले आमजनतालाई सुसूचित गर्दै आएको छ ।
यस्तै गोरखापत्रमा २०६४ असोज १ देखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको नयाँ नेपाल बहुभाषिक पृष्ठ प्रकाशन प्रारम्भ भएपछि यो क्रम बढ्दै गई हालसम्म विभिन्न ४५ भाषामा समाचार, विचार प्रकाशित हुँदै आएका छन् । सुरुका वर्षमा तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेवारी भाषामा नयाँ नेपाल बहुभाषिक पृष्ठ प्रकाशन भएकामा अहिलेसम्म नेपाल, मगर, राई, तामाङ, लिम्बु, भोजपुरी, अवधि, थारू, गुरुङ, शेर्पा, बराम, उराँव, धिमाल, माझी, मैथिली, उर्दु, ताजपुरिया, किसान, दनुवार, जिरेल, मारवाडी, सुनुवार, थामी, बज्जिका, ल्होमी, कुमाल, राजवंशी, दराई, मगही, संस्कृत, चेपाङ, वान्तवा राई, मुगाल, मेचे, खस जुम्ली, डोटेली, अछामी, बाहिङ, ह्योल्मो, बझाङ्गी, नेपाल भोटे, डडेल्धुरेली, याक्खा, राना थारू, वाम्बुले राई भाषासमेत ४५ भाषामा प्रत्येक दिन दुई पृष्ठका समाचार, विचार प्रकाशित हुँदै आएका छन् । यी बहुभाषिक पृष्ठमा नेपालका पर्यटन क्षेत्रका गन्तव्य, आकर्षण तथा सांस्कृतिक सम्पदाको समाचार, विचार सम्प्रेषण हुँदै आएकाले यसबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा आन्तरिक पर्यटनको विकास विस्तारमा पनि टेवा पुगेको छ ।
पर्यटन प्रवर्धन
अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्धनका दिशामा देश अझै अन्य राष्ट्रको तुलनामा धेरै पछाडि छ र पर्यटन क्षेत्र सरकारी नीतिमा तदर्थवादका आधारमा सञ्चालित रहिआएको छ । यस पृष्ठभूमिमा गोरखापत्र र यसका सहप्रकाशन ‘दी राइजिङ नेपाल’, ‘युवामञ्च’, ‘मधुपर्क’, ‘मुना’ ले पर्यटन क्षेत्रमा समेत जनचेतना विस्तार गर्न समाचार, विचार सम्प्रेषण गरी अतुल्य योगदान निर्वाह गर्दै आएका छन् । विगतमा गोरखापत्रका सहप्रकाशन तर हाल बन्द ‘पर्सपेक्टिभ’, ‘सन्डे डिस्प्याच’, ‘मनोरम अप्सरा’ मासिकसमेतले पर्यटन प्रवर्धनमा पुर्याएका योगदानलाई बिर्सन मिल्दैन ।
यस अर्थमा १२४ वर्षको निरन्तर यात्रा गरी अघि बढिरहेको गोरखापत्र र यसका सहप्रकाशन पर्यटन प्रवर्धनको क्षेत्रमा समाचार, विचार र तस्बिर मार्फत जनतालाई सुसूचित गर्न अग्रणी रहिआएका छन् । बदलिँदो परिस्थितिमा गोरखापत्रले डिजिटल पत्रकारिताको विस्तारमा ध्यान, चिन्तन गरी आफ्ना अनलाइन संस्करणबाट समेत पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । २१ औँ शताब्दीमा नेपाली पत्रकारिताले अनेकन चुनौती सामना गर्नु परिरहेको तथा डिजिटल पत्रकारितासँग प्रतिस्पर्धा गर्नु परेको स्थितिमा गोरखापत्र र यसका सहप्रकाशनले भविष्यका सम्भावित चुनौतीलाई समयमै विश्लेषण गरेर अघि बढ्नु अति आवश्यक छ ।
देवशमशेरको शासनको छोटो अवधिमा शुभारम्भ भएको गोरखापत्रले अहिलेको गणतान्त्रिक युगसम्म आइपुग्दा विकास पत्रकारिताको संवाहक बनी बढी जिम्मेवार र विश्वसनीय रूपमा समाचार र विचार प्रस्तुतिमा अग्रणी भूमिका निर्वाह गर्दै आए जस्तै भविष्यमा समेत डिजिटल पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात् गरी अघि बढ्न विलम्ब गर्नु हुँदैन ।
लेखक गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘अग्रणी पर्यटन सञ्चारक ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।