• १८ साउन २०८२, आइतबार

उपयोगविहीन बन्दै बलेवा विमानस्थल

blog

वर्षौंदेखि सञ्चालनमा आउन नसकेको बागलुङको बलेवा विमानस्थल । तस्बिर : प्रदीप पन्त

प्रदीप पन्त

बागलुङ, साउन १८ गते । बागलुङको पुरानो बलेवा विमानस्थल विगत ३४ वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०२२ मा स्थापना भएको विमानस्थलले धौलागिरि क्षेत्रको पर्यटन र यातायातको सम्भावना बोकेको भए पनि नियमित उडानको अभावमा उपयोगविहीन बनेको हो । 

बागलुङ सदरमुकामदेखि १० किलोमिटर दक्षिण नारायणस्थान १४ मा रहेको बलेवा विमानस्थल पोखरा–बागलुङ राजमार्ग बनेपछि २०४८ सालपछि बन्द हुँदै आएको छ । विमानस्थल वर्षाैंदेखि उपलब्धिविहीन र निमार्ण भएका संरचना पनि प्रयोग नहुँदै जीर्ण बन्दै गएको स्थानियवासी भरत पौडेलले बताउनुभयो ।

विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्गको कालोपत्रे र टर्मिनल भवन मर्मत, तारजाली लगायत र अन्य संरचना निमार्णको लागि पटकपटक गरी अहिलेसम्म झण्डै नौ करोड रुपियाँ खर्च भइसकेको तथ्याङ्कले देखाएको छ । पछिल्लो पटक २०७८ सालमा कालोपत्रे र रङ्गरोगन सहित पूर्वाधार निर्माण गरी चिटिक्क बनेको विमानस्थल अहिले प्रयोगविहीन भएको नारायणस्थानका स्थानीवासी योगेन्द्र पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो,“नियमित उडान हुन छाडेको बागलुङ बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै पूर्वाधार निर्माण गरे पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन ।” “सम्पूर्ण तयारी हुँदासमेत नियमित उडान हुन नसक्नु चिन्ताको विषय बनेको छ ।” बागलुङमा हवाई सेवा नियमित सञ्चालन नहुँदा धौलागिरीका नागरिक पोखरा पुगेर सेवा लिन बाध्य छन् । 

विमानस्थल सञ्चालनका लागि प्रयास भइरहेको बागलुङ नगरपालिकाका प्रवक्ता एवं बा.न.पा.–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चालनका लागि अन्तिम पटक पहल भइरहेको छ, सबैको सहयोग र साथ आवश्यक पर्दछ ।” 

जिल्लामा विमानस्थल नियमित रुपमा सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई सहज हुनुका साथै कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसँग जोडिएर पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ ।