• १३ साउन २०८१, आइतबार

तारकेश्वरमा राखिएका प्रचार सामग्री हटाइए

blog

काठमाडौं, वैशाख १६ गते । नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरीत राखेका प्रचारप्रसारका सामग्री हटाउन सुरु गरेको छ ।

काँग्रेस तारकेश्वर नगरपालिकाले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता विपरीत बिजुलीको पोललगायत अन्य स्थानमा राखेका चुनाव चिह्न तथा पार्टीको झण्डालाई निकालेको छ ।

तारकेश्वर नगरपालिका प्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जनले आचारसंसिहतामा समेटिएका कुराहरु पूर्णरुपमा पालना गर्ने उद्देश्यले निर्वाचन लक्षित प्रचारप्रसारका सामग्री हटाउन थालेको जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहितामा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ ।

महर्जनले भन्नुभयो, ‘‘हामीले सबै वडामा प्रचारप्रसारका सामग्री हटाउँदै छौं । सम्बन्धित वडामा सम्बन्धित वडाका सभापतिहरुले जिम्मेवारी लिएर प्रचारप्रसारका सामग्रीहरु हटाउन सुरु गरेका हौं ।’’

तारकेश्वरमा नेकपा माओवादी केन्द्रले बिजुलीका पोलहरुमा राखेका प्रचार सामग्री भने शुक्रबारसम्म हटाइएको छैन ।