• १६ असार २०८१, आइतबार

बाल केन्द्रित अभियान चलाउन जनशक्ति तयार

blog

होटल हिलसाईट मान्ममा बालअभियान्ता तालिम । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असार १३ गते । सबै खाले जोखिमबाट प्रभावित भएका बालबालिकाको उद्धार, राहत र व्यवस्थापनका लागि अभियान चलाउन जनशक्ति तयार भएको छ । द्वन्द्व प्रभावित, यौन दुर्व्यवहार, बेचबिखन, कुनै दुर्घटनामा अभिभावक गुमाएका, गरिबीको रेखामुनी रहेका घर परिवारका बालबालिकाको पहिचान गरी जोखिमका प्रकार छुट्याउन अभियन्तालाई प्रशिक्षित गरेर परिचालन गरिएको छ । 

लामो समय बालविवाह न्यूनीकरण, जोखिम बालबालिकाको उद्धार, राहत र शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गदै आएको सेभःद चिल्डेनको सहयोगमा मामला व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएपछि अभियन्ता गाउँमा परिचालन भएका हुन् । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, (किर्डाक) नेपाल र भिडिसेभ नेपालको साझेदारीमा कालीकोटको शुभकालीका गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिकाका यी अभियन्ताले बाल केन्द्रित विभिन्न लेखाजोखा गर्ने भएका हुन् । 

किर्डाक नेपालका बालअधिकार तथा बालसंरक्षण संयोजक प्रकाश शाहीले बालबालिका जोखिममा पर्नुका १७ कारणको लेखाजोखा गरेर खास जोखिमका प्रकार यकिन गरी उनीहरूलाई आवश्यक पर्ने सहयोग प्रदान गर्न मामला व्यवस्थापन तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले कुनै पनि जोखिमका कारणले बालबालिका समस्यामा पर्न नदिन कालीकोट र जुम्ला जिल्लाका दुई पालिकामा कार्यरत अभियन्ता, महिला तथा बालबालिका शाखाका कर्मचारी, बालकल्याण अधिकारी संस्थाका कर्मचारीलाई ज्ञान सिपसँग केन्द्रित प्रशिक्षण दिइएको सुनाउनुभयो । 

सेभ द चिल्ड्रेनका परियाेजना संयाेजक बाले विश्वकर्माले हिंसा पीडित बालबालिकाको पहिचान तथा मनोसामाजिक सहयोगका लागि पनि अभियन्ता तयार पारिएको बताउनुभयो । कुनै पनि समस्याका कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका, उनीहरूका अभिभावक र समुदायका व्यक्तिलाई आवश्यक सिपको माध्यमबाट मनोसामाजिक परामर्श समेत गरिँदै आएको सुनाउनुभयो । 

होटल हिल्साईटमा सञ्चालन भएको तीन दिने प्रशिक्षणमा हिंसा प्रभावित तथा जोखिममा रहेका बालबालिका र उनको परिवारलाई आवश्यक पर्ने विभिन्न सेवा तथा सहयोग गर्ने निकायको श्रोत नक्साङकन गरिएको छ । 

प्रशिक्षक बालअधिकारक्रर्मी विश्वकर्मा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बालबालिका विरुद्ध हुने हिंसा, कानुनी प्रावधान र जोखिममा रहेका बालबालिकाको प्रकारका विषयमा जानकारी गर्नुका साथै घटना व्यवस्थापन गर्ने बालबालिकाहरूको स्याहार योजना निर्माणको प्रक्रिया र अभ्यासका बारेमा जानकारी गरिएकाले अब गाउँमा रहेका जोखिम बालबालिकाहरूले दुख नपाउने बताउनुभयो । प्रशिक्षक तालिममा बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गरिएको थियो ।