• २८ वैशाख २०८१, शुक्रबार

सय दिनदेखि त्रिविमा ताल्चा

blog

काठमाडौँ, वैशाख १६ गते । त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । 

विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग बनिसकेको छ । आन्दोलनकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल भए पनि वार्ता सफल नहुँदा विश्वविद्यालयको छवि अन्तर्राष्ट्रियस्तरमै धूमिल हुन सक्ने भन्दै यस क्षेत्रका विज्ञले चिन्ता व्यक्त गर्नुभएको छ । 

नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रार (कुल सचिव)को कार्यकक्षमा गत माघ ६ गतेदेखि ताला लगाएको छ । जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरेको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत् राख्नुपर्ने माग सङ्घको छ । अनियमिततामा लाग्नेलाई कानुनी कारबाही हुनुपर्ने तथा विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग पनि उनीहरूको छ । 

विश्वविद्यालयमै कार्यरत आंशिक प्राध्यापकले पनि करारमा नियुक्ति दिनुपर्नेलगायतका माग राख्दै तीनवटै पदाधिकारीको कक्षमा ताला लगाएका छन् । 

तालाबन्दीका कारण कार्यकक्षमा प्रवेश गर्न नसकेपछि पदाधिकारीहरू परीक्षा नियन्त्रण कार्यालय, अनुसन्धान केन्द्रलगायत कार्यालयमा बैठक बस्छन् । ती कार्यालयबाटै कार्यकारी परिषद्, प्राज्ञिक परिषद्को बैठक तथा अन्य शैक्षिक तथा आर्थिक प्रशासनसँग सम्बन्धित विषयमा निर्णय हुने गर्छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले तालाबन्दीका कारण समस्या भएको बताउँदै भन्नुभयो, “कर्मचारीबाट थोरै काम त भएको छ तर बजेट निर्माणदेखि शैक्षिक योजना बनाउनेसम्मका काम रोकिएका छन् ।” 

समस्या समाधानका लागि पटकपटक छलफलको प्रयास भए पनि सफल भएको छैन । बरु यसबीचमा आन्दोलन थप चर्कन थालेको छ । यहीबीचमा विश्वविद्यालयमा आबद्ध प्राध्यापकको तीनवटा सङ्गठनले पनि संयुक्त रूपमा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको राजीनामा मागेका छन् । 

राजीनामा माग गर्नेमा नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेकपा (माओवादी) निकट राष्ट्रिय प्राध्यापक सङ्गठन र नेकपा एकीकृत (समाजवादी) निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन छन् ।

शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले चित्त नबुझेको विषयमा विरोध गर्न पाउनु सबैको अधिकार भए पनि विश्वविद्यालयजस्तो सार्वजनिक संस्थामा ताला लगाएर महिनौँसम्म लथालिङ्ग पार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “चित्त नबुझेको विषयमा विश्वविद्यालयकै संयन्त्रमा उजुरी दिन सकिन्छ । उक्त संयन्त्रले पनि न्याय दिएन भने अदालत जान सकिन्छ तर ताला लगाउँदैमा कसैले कसैलाई बहादुर भन्दैन ।”

मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय चरम बेथितिमा गुज्रिँदा पनि समस्या समाधान हुन नसक्नु दुःखद भएको शिक्षाविद् तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक प्रा. डा. त्रिरत्न मानन्धरले बताउनुभयो । आन्दोलन सारमा  हेर्दा प्राध्यापक र विद्यार्थीको मात्रै आन्दोलनजस्तो देखिए पनि दीर्घकालीन रूपमा समस्या समाधान गर्न मुख्य दलले हस्तक्षेप गर्नुपर्ने उहाँले बताउनुभयो । 

विश्वविद्यालयजस्तो प्राज्ञिक निकाय लामो समयदेखि बन्द भएपछि राष्ट्रिय मानव अधिकार आयोगले समेत विश्वविद्यालयमै पुगेर पटक पटक अध्ययन गरिसकेको छ । तालाबन्दीले विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक तथा प्रशासनिक कार्यमा असर परिरहेको भन्दै आयोगले यो असरप्रति संवेदनशील भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको थियो । 

वर्षे बिदा

त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण क्याम्पस, विभाग र स्कुलमा वैशाख २२ गतेदेखि वर्षे बिदा दिने भएको छ । कार्यकारी परिषद्को बुधबार बसेको बैठकले जेठ १३ गतेसम्म बिदा दिने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सेमेस्टर प्रणालीमा पढाइ हुने अध्ययन संस्थानले भने आफूलाई अनुकूल हुने गरी बिदा तोक्न सक्ने निर्णय भएको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले जानकारी दिनुभयो । त्रिविले विगतमा जेठ लागेपछि मात्रै वर्षे बिदा दिने गरेको थियो । यस पटक वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई समेत ध्यानमा राखेर बिदाको निर्णय गरिएको उहाँले बताउनुभयो । 


Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।