• १२ असोज २०८१, शनिबार

गौरवको आयोजनामै ढिलाइ

blog

रामपुर–कपुरकोट आयोजनाको हुमिन ताहुँ क्षेत्रमा भइरहेको काम ।

रेखीराम राना 

तानसेन, असार ७ गते । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–कपुरकोट सडक निर्माणमा ढिलाइ भएको छ । बजेट अभावका कारण पाँच वर्षदेखि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट पुग्ने सडकको काममा ढिलाइ भएको हो । 

आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणको काममा ढिलाइ भएको आयोजना पक्षले जनाएको छ । रामपुर–कपुरकोट आयोजना अन्तर्गत पाल्पामा झन्डै दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । होलाङ्दी–ढुङ्गाखानी सडकखण्डमा झन्डै एक किलोमिटर सडक कालोपत्रेको काम भएको छ । यसबाहेक गत वर्षदेखि आर्यभन्ज्याङ–रामपुर सडकखण्डको हुमिन–ताहुँ क्षेत्रमा साढे चार किलोमिटर सडक निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालय प्रमुख वासुदेव भण्डारीले साढे चार किलोमिटर सडक निर्माणका लागि २४ करोड २६ लाख रुपियाँमा दिव्यज्योति कन्स्ट्रक्सनसँग आगामी २०८२ साल असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको जानकारी दिनुभयो । 

कार्यालय प्रमुख भण्डारीले यो वर्ष हार्थोक–छहरा र हुमिन ताहुँखण्डको काम गर्न भनेर आठ करोड मात्र बजेट आएको थियो तर हार्थोक–छहरा क्षेत्रमा भने कामै हुन नसकेको बताउनुभयो । टेन्डर भइसकेको क्षेत्रको काम सक्न पनि बजेट अभाव रहेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । बजेट अभावले काममा सुस्तता आएको उहाँले स्वीकार गर्नुभयो । 

प्रदेश सरकारले गौरवको आयोजना भने पनि बजेट पर्याप्त विनियोजन गर्न नसकेको सरोकारवाला निकायको भनाइ छ । रामपुर–कपुरकोट सडक निर्माण हुने भनेर भनेको पाँच वर्ष भए पनि सोचे अनुसार काम नहुँदा रामपुर–आर्यभन्ज्याङ–हार्थोक–छहराका बासिन्दाले सास्ती बेहोर्न बाध्य भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले गौरवको आयोजना अलमलमा परेपछि सडक जीर्ण बनेको बताउनुभयो । प्रदेश सरकारले गौरवको आयोजनालाई खासै प्राथमिकता दिन नसक्दा सडक निर्माणको काम लामो समयदेखि अलपत्र बनेको खनालले बताउनुभयो । 

रामपुर–कपुरकोट सडक अन्तर्गत पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र सल्यान गरी २९० किलोमिटर सडक निर्माण गर्ने योजना छ । त्यसमध्ये सबैभन्दा बढी १०५ किलोमिटर सडक पाल्पा क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ । यो सडक निर्माण गर्नका लागि २० अर्ब बजेट लाग्ने अनुमान लुम्बिनी प्रदेश सरकारले गरेको छ । 

यो सडकले पहाडका जिल्ला छुँदै गण्डकी प्रदेश र कर्णाली प्रदेश छुने छ । लुम्बिनी प्रदेश सभाका सदस्य खेमबहादुर सारूले १० वर्षभित्र काम सक्ने गरी योजना बने पनि बजेट अभावका कारण अधिकांश भागमा काम हुनै बाँकी रहेको बताउनुभयो । 

प्रदेशको गौरवको योजना भनेर स्थानीय तह र सङ्घीय सरकारले पनि यो सडकलाई बजेट नहाल्ने र प्रदेश सरकारको बजेट कम हुँदा जनताले लामो समयदेखि सास्ती बेहोर्नु परेको उहाँले बताउनुभयो । 

रामपुर–कपुरकोट सडकखण्ड अन्तर्गत पाल्पाको हार्थोक–छहरा सडकखण्ड निर्माणका लागि आगामी आव २०८१/८२ देखि काम हुने गरी बहुवर्षीय ठेक्का स्वीकृत भएको छ । यो खण्डको छ किलोमिटरभन्दा बढी सडक निर्माणका लागि २६ करोड लागत लाग्ने अनुमान गरिएको छ ।