• १२ असोज २०८१, शनिबार

छुट जग्गा दर्ता गर्ने विषयमा विवाद

blog

केदार तिमल्सिना 

बनेपा, असार ७ गते । काभ्रेपलाञ्चोकमा करिब ६४ वर्ष पहिले स्थापना गरिएको बनेपाको शिर मेमोरियल अस्पतालको नाममा छुट जग्गा दर्ता गर्ने विषयमा विवाद देखिएको छ । अस्पताल सञ्चालन गर्दै आएको शिर मेमोरियल मेडिकल एन्ड एजुकेसनल ट्रस्टको नाममा साबिक बनेपा नगरपालिका–१ ‘क’ (हाल वडा नम्बर–५) को कित्ता नं. २७३ को १४ रोपनी दुई आना छुट जग्गा दर्ता गर्ने विषयमा विवाद उत्पन्न भएको हो । 

छुट जग्गा दर्ताका लागि मन्त्रीपरिषद्बाट निर्णय गरेपछि शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले साबिक नापीको समयमा अस्पतालको नाममा नापजाँच भई दर्ता छुट भएको कित्ता नं. २७३ को १४ रोपनी दुई आना जग्गा शिर मेमोरियल मेडिकल एन्ड एजुकेसनल ट्रस्टको नाममा दर्ता गर्न गत चैत २६ गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा निवेदन दिएको थियो । अस्पतालले निवेदन दिएसँगै मालपोत कार्यालय काभ्रेपलाञ्चोकले वैशाख १३ गते हकदाबीसम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि बनेपावासीले जग्गा दर्ता नगर्न मालपोत कार्यालयमा उजुरी दर्ता गरेका थिए । 

बनेपाका ५२५ जनाले दिएको उजुरीमा ट्रस्टका नाममा छुट दर्ता गर्न लागिएको जग्गा विसं २०१६ मा निवेदकका बाबु÷बाजेहरूले सामुदायिक अस्पताल निर्माण गर्ने प्रयोजनका लागि दान, दातव्य गरी अस्पतालका लागि दिएको दाबी गर्दै शिर मेमोरियल अस्पताल सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुनुपर्ने र उक्त जग्गाको प्रयोग नेपाली नागरिकको अपनत्व देखिने गरी सार्वजनिक सेवा कार्यमा प्रयोग हुनुपर्ने उल्लेख छ । स्थानीयले अस्पताल निर्माणका लागि स्थानीय साहुहरूबाट चन्दा उठाएको र निःशुल्क रूपमा जग्गा दिएको उनीहरूको दाबी छ । 

साथै अस्पताल निर्माण एवं सञ्चालनका लागि दान, दातव्य भएको सम्पत्ति स्वतः सार्वजनिक गुठी हुने भएकाले शिर मेमोरियल सामुदायिक अस्पताल भन्ने नामकरण गरी स्रेस्तामा सार्वजनिक गुठी जग्गा भन्ने कैफियत कायम हुने गरी मात्र जग्गा दर्ता प्रक्रिया अघि बढाउन मालपोत कार्यालयलाई आग्रह गरिएको छ । बनेपा नगरपालिका–५ नम्बर वडा कार्यालयले भूमि सुधार तथा मालपोत कार्यालय, डिल्लीबजारमा एजुकेसनल ट्रस्टको नाममा गुठीमा दर्ता भएको र अस्पतालको नाममा नापी नक्सा भएको उक्त जग्गा छुट दर्ता गर्नका लागि गत चैत २६ गते मालपोत कार्यालयलाई सिफारिस गरेको थियो । “वडा कार्यालयले कित्ता नं. २७३ को फिल्डबुकमा शियर मेमोरियल अस्पतालको जनिएको नाम संशोधन भई शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल कायम हुँदै हाल शिर मेमोरियल मेडिकल एन्ड एजुकेसनल ट्रस्ट अन्तर्गत सञ्चालनमा रहेको हुँदा अस्पतालको नाममा नापी नक्सा स्ववासी घर जग्गा एजुकेसनल ट्रस्टको नाममा छुट दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउँदा फरक नपर्ने देखिन्छ,” वडा कार्यालयले गरेको सिफारिसमा उल्लेख छ । 

अस्पताललाई सुविधा सम्पन्न बनाई विस्तार गरी अन्य कल्याणकारी सामाजिक कार्यक्रम सञ्चालन गरी सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक गुठी अन्तर्गत २०७७ असोज ४ गते मालपोत कार्यालय डिल्लीबजारमा एजुकेसनल ट्रस्ट दर्ता गरिएको हो । सार्वजनिक/निजी गुठी मुलुकी देवानी संहिता, २०७४ को दफा ३१८ को उपदफा (१) बमोजिम दर्ता गरी गुठी अन्तर्गत अस्पताल सञ्चालन हुँदै आएको हो । अस्पतालको छुट जग्गा दर्तामा असहमति जनाउनुहुने काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केजी बैदारले नेपालको कानुन अनुसार अस्पताल सार्वजनिक गुठी अन्तर्गत सञ्चालन हुने व्यवस्था रहेको बताउनुभयो । उहाँले एजुकेसनल ट्रस्टको ११ सदस्यीय ट्रस्टमा बनेपा नगरपालिकाका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र नगरप्रमुखबाट मनोनीत दुई जना सदस्य हुनुपर्ने बताउनुभयो । यस्तै ट्रस्टको सम्पत्ति बिक्री र हकहस्तान्तरण गर्न नपाउने र ट्रस्ट भङ्ग भएको वा विघटन भएमा ट्रस्टको सबै सम्पत्ति नेपाल सरकारको हुनुपर्ने बनेपावासीको माग रहेको उहाँले बताउनुभयो । 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख मालपोत अधिकृत दीपक कोइरालाले सरकारले छुट जग्गा दर्ताका लागि सूचना जारी गरेपछि ट्रस्टले फिल्डबुक र वडाको सिफारिससहित छुट जग्गा दर्ताका लागि निवेदन दिएको बताउनुभयो । उहाँले अस्पतालको निवेदनसँगै कार्यालयले हकदाबीका लागि ३५ दिने सूचना प्रकाशन गरेपछि स्थानीय ५२५ जनाले जग्गा दर्ता नगर्न उजुरी दिएको बताउनुभयो । प्रमुख मालपोत अधिकृत कोइरालाले जग्गा दर्ता गर्न र जग्गा दर्ता नगर्नका लागि निवेदन परेपछि दुवै पक्षबिच सहमति नजुट्दासम्म जग्गा दर्ता गर्न नसकिने बताउनुभयो । उहाँले जग्गाको विषयमा दुई पक्षबिच सहमति नभएपछि हकवेहकका क्षेत्राधिकारको कुरा उठ्ने भएकाले उक्त कामका लागि मालपोतको क्षेत्राधिकार नभएकाले हकवेहकका लागि अदालत पठाउन वा तामेलीमा राख्ने प्रक्रिया अघि बढाउन सक्ने बताउनुभयो ।