• १३ साउन २०८१, आइतबार
blog

गोपालचन्द्र सुवेदी

काठमाडौँ,वैशाख १५ गते । चैतदेखि नै विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब झेलिरहेको नेपाल विद्युत् प्राधिकरण अहिले झन् समस्यामा परेको छ । मागको तुलनामा आन्तरिक उत्पादन कम भएको यो अवस्थामा प्राधिकरणले भारतबाट विद्युत् आयात गरी आपूर्ति गर्दै आएको थियो तर तीन दिनयता आयात गर्न पनि सक्ने स्थिति छैन । 

भारतमै विद्युत् अभाव भएपछि किन्नै नपाएकाले केही ठूला उद्योगमा आंशिक रूपमा आपूर्ति कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । भारतबाट विद्युत् आयात गर्न समस्या परेपछि नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा पूर्वसूचना दिएर विद्युत् कटौती गर्ने भएको हो । 

घिसिङका अनुसार दैनिक करिब तीन सय मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्नुपर्ने हुन्छ तर पछिल्लो तीन दिनदेखि भारतको विहारबाट दिउँसो उपलब्ध हुँदै आएको विद्युत् पनि दिन नसक्ने जानकारी आएको छ । 

भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा पनि सूचीकृत परिमाणभन्दा माग नै आठ गुणा बढी हुने अवस्थाले बिड गरेअनुरूप नेपालले बिजुली पाउन सकेको छैन । “नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटसम्म माग गर्न पाउँछ, पूरै माग गरे पनि ७० मेगावाट मात्र पाउने अवस्था आएको छ । अहिले हाम्रो करिब १४ सय मेगावाट उत्पादन त छ तर करिब तीन सय मेगावाट भारतबाट किन्नैपर्छ,” घिसिङले भन्नुभयो । 

अब भारतबाट दैनिक उपलब्ध हुने विद्युत् परिमाणका आधारमा ठूला उद्योगलाई विद्युत् दिने व्यवस्था गर्न लागिएको घिसिङले जानकारी दिनुभयो । “भारतबाट कति बिजुली आउने भन्ने अघिल्लो दिन निश्चित हुन्छ, सोहीअनुसार नै हामीले उद्योगीलाई पूर्वसूचना दिने र विद्युत् आंशिक कटौती गर्नेे व्यवस्था गर्न लागेका छौँ,” उहाँले भन्नुभयो । 

देशभित्रै औसत नौ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने जलाशयमार्फत पिक समयमा एक हजार चार सय मेगावाटसम्म उत्पादन हुने गरेको छ । घिसिङका अनुसार चैतमा भन्दा अहिले १५० मेगावाट विद्युत् उत्पादन घटेको छ । 

भारतबाट नेपालले आईआईएक्सका अतिरिक्त विहारसँग आपसी सम्झौतामार्फत निश्चित दर छ रुपियाँ १८ पैसामा नियमित बिजुली खरिद गर्ने गरेको छ तर त्यो बिजुली पनि कोइला सङ्कटका कारण उत्पादन गर्न नसकिएको भन्दै विहारले बिजुली पठाउन सकिरहेको छैन । विहारमा अहिले पनि एक हजार पाँच सय मेगावाट विद्युत् अपुग भएकाले लोडसेडिङ गरिरहेको छ । 

त्यस्तै एनभीभीएन इन्डियाले ढल्केबार मुजफ्फरपुर प्रसारण लाइनबाट चार रुपियाँ १६ पैसा र पीटीसी इन्डियासँग पनि चार रुपियाँ १२ पैसा टनकपुरमार्पmत नेपाललाई आवश्यकताअनुसार विद्युत् दिने गरेको थियो । यी विद्युत् पनि उपलब्ध हुन नसकेपछि प्राधिकरण समस्यामा परेको हो ।

२८ अर्बको निर्यात हुने 

भारतमा ऊर्जा सङ्कट कम्तीमा तीन महिना रहने देखिए पनि नेपालका लागि अहिले एक महिना मात्रै समस्या हो । मध्यजेठदेखि नदीनालामा पानीको आपूर्ति बढ्ने र विद्युत् उत्पादन बढने भएकाले त्यसपछिको अवस्था सहज बन्ने आकलन प्राधिकरणको छ । 

भारतीय इनर्जी एक्सचेन्जमा अहिले अधिकतम मूल्य १२ भारतीय रुपियाँ प्रतियुनिटमा कारोबार भइरहेको छ । नेपालले एक्सचेन्जमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । यसको डेभिएसन सेटलमेन्टको प्रावधानअनुसार ४१२ मेगावाटसम्म बिक्री गर्न सकिने घिसिङको भनाइ छ । यसअनुसार असारदेखि मङ्सिरसम्ममा करिब २८ अर्बको विद्युत् इनर्जी एक्सचेन्जमा बेच्न सकिने आकलन उहाँको छ । 

सामान्य अवस्थामा पनि भारतमा वर्षायाममा कोइला प्लान्टबाट विद्युत् उत्पादन कम हुने र माग पनि बढी हुने गर्छ । कोइला सङ्कट अहिले नै चुलिएर विद्युत् उत्पादन प्रभावित भएकाले नेपाली बिजुली अहिलेकै मूल्यमा बिक्री हुन सक्ने देखिएको उहाँको भनाइ छ । 

सस्तोमै खरिद

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारतबाट सङ्कटका केही दिन मात्र महँगोमा बिजुली किनेको जानकारी दिँदै महँगोमा बिजुली किनेको आरोपको खण्डन गर्नुभयो । “कोहीकोहीले ३८ रुपियाँमा बिजुली किन्यो भनेर हल्ला गरिरहेका छन्, त्यो गलत हो । एक दिनको एकछिनको कुरालाई सामान्यीकरण गर्नु गलत हो,” उहाँले भन्नुभयो । 

प्राधिकरणको तथ्याङ्कअनुसार यो वर्ष पुुसदेखि विद्युत् आयात थालिएको हो । २०७८ को पुस, माघ र फागुनको खरिद दर औसत खरिद दर अन्य शुल्कसमेत तीन रुपियाँ ५० पैसा भारतीय रुपियाँ रहेको घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार चैतमा भारतीय बजारमा २० रुपियाँसम्म पुगेकाले यो दर चार रुपियाँ १८ पैसा पुगेको र भने पछिल्लो पटक औसत दर पाँच रुपियाँ ३० पैसासम्म पुगेको छ ।