• १३ असार २०८१, बिहिबार

कालोपत्रे हुँदा जनताको खबरदारी

blog

कविराज घिमिरे

हिले, असार ५ गते । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ । 

यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ । 

७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु भएदेखि बस्नेतसहित स्थानीय धेरै व्यक्तिको दैनिकी कोरिडोर आसपासमा नै बित्ने गरेको छ । बर्खा लागेसँगै कामको चाप बढे पनि सबै काम थाँती राखेर स्थानीयवासी सडक आसपास नै आउने गरेका छन् ।

स्थानीयवासी सो स्थानमा भेला हुनुको कारण रमित हेर्नु मात्र नभई सडक कालोपत्रे हुन थालेकोमा खुसियाली साटासाट गर्नु तथा गुणस्तरीय कार्यको लागि खबरदारी गर्नु हो । “सडक नै कहिल्यै आउँदैन होला भनेको ठाउँमा अहिले सडक पक्की हुन थाल्यो, एकदमै उत्साहित छौँ । साथै सडक गुणस्तरीय बनाउन खबरदारी पनि गर्नु छ, त्यसैले दिनभर सडक आसपास रहन्छौँ,” बस्नेत भन्नुहुन्छ । “स्थानीयले खबरदारी गरेनन् भने काम गुणस्तरीय हुँदैन रे, त्यसैले हामी दिनभर खबरदारी गर्दै रमाउँदै यतै दिन बिताउँछौँ,” उहाँ थप्नुहुन्छ ।

गाउँमा सडक सुविधा नहुँदा धेरैले गाउँ छाडे पनि आफूहरू गाउँ नै रुँघेर बसेको अहिले सडक कालोपत्रे हुन थालेपछि मनै दङ्ग भएको भण्डारी बताउनुहुन्छ ।

आयोजना अन्तर्गत निर्माणाधीन धनकुटाको फलामेटार–कुशेटार सडकखण्डको कालोपत्रेको काम सुरु भएको छ । निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर कोरिडोरको ११२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुशेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर कोरिडोर आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो । उहाँले आगामी एक वर्षभित्र रौताह क्षमादेवी जेभीले जिम्मा पाएको सम्पूर्ण काम पूरा गर्ने बताउनुभयो । 

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर कोरिडोर सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ११२ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपियाँमा ठेक्का लागेको थियो । कोरिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रेको चरणमा रहेको छ । तमोर कोरिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्नुपर्ने छ । 

मूलघाटदेखि हाङसुवासम्म ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोड र बाँकी रहेको सडकखण्ड एफएक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरी काम अगाडि बढाइरहेका छन् । यस सडकले पूर्वी पहाडी जिल्ला हुँदै सङ्घीय राजधानी काठमाडौँका साथै भारत र चीनसम्म छोटो दूरीले सिधा सम्पर्क जोड्छ । भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न २०६५ सालमा संसद् विकास कोषको १० लाख रुपियाँ बजेट विनियोजन गरेर तत्कालीन संविधान सभा सदस्य हेमराज भण्डारीले आयोजना सुरु गर्नुभएको थियो । 

त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म २०६६ सालमा ट्र्याक खोल्न छ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । हाल ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको र तोकिएको समयभित्र फिदिमसम्म कालोपत्रे कार्य सक्ने आयोजनाले जनाएको छ । 

आफूले सुरुवात गरेको सडक राष्ट्रिय गौरवको आयोजनामा पनि अहिले कालोपत्रे सुरु हुँदा अत्यधिक खुसी लागेको संविधान सभा सदस्य हेमराज भण्डारीले बताउनुभयो । यसले धनकुटालाई मात्र नभई पूर्वी पहाडलाई लाभ पुग्ने भण्डारीको भनाइ छ ।