रजनी योगी
सुर्खेत, असार ४ गते । सुर्खेतमा किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको चिङ्गाड गाउँपालिका २ रहकुलका किसानहरू आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका हुन् ।
विगत सात वर्ष अघिदेखि किवी खेती सुरु गर्नुभएका कर्णबहादुर थापाले यतिबेला किवीको व्यावसायिक उत्पादन गरिरहनुभएको छ । उहाँले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक करिब चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सात रोपनी जग्गामा किवीको व्यावसायिक उत्पादन सुरु गरेको थापाले बताउनुभयो । उत्पादित किवी स्थानीय बजारदेखि वीरेन्द्रनगर, नेपालगन्ज र काठमाडौँसम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
थापाको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो वर्ष किवीको फल लागिरहेको छ । भदौ र असोजमा किवी पूर्ण रूपमा बिक्री वितरण गर्न योग्य हुन्छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष किवी लटरम्म फलेको कृषक थापाले बताउनुभयो । फल पनि राम्रो लागेकाले उत्पादन बढ्ने उहाँको अनुमान छ । २०७४ सालबाट व्यावसायिक किवी खेती सुरु गरेको थापाले बताउनुभयो । उहाँले थापा कृषि फर्म दर्ता गरेर व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । सुरुमा १५ वटा बिरुवाको परीक्षण सुरु गर्नुभयो । थापाको बारीमा अहिले किवीका २०० बिरुवा लटरम्म फलेको छ ।
चिङ्गाड–२ रानीबास काडाँपोखरीका ४५ वर्षीय रामबहादुर हमालले लगाएको किवीको बगानमा पनि लटरम्म फल लागेका छन् । यो वर्ष फल राम्रो लागेकाले करिब साढे २० क्विन्टल किवीको उत्पादन हुने हमालको अनुमान छ । २०७३ सालबाट व्यावसायिक खेती सुरु गर्नुभएका उहाँको दैनिकी अहिले त्यही किवीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका हमालले आफ्नो गाउँठाउँमा माटो सुहाउँदो फलफूल खेती थाल्नुभएको हो । घर अगाडि–पछाडि रहेको २७ रोपनी खेतीयोग्य जमिनमा हमालले आधिकारिक रूपमा फर्म दर्ता गरेर व्यावसायिक किवी खेती गर्नुभएको छ । गत वर्ष साढे तीन लाख रुपियाँ मूल्य बराबरको किवी बिक्री भएको थियो । यो वर्ष फल राम्रो फलेकाले उत्पादन दोब्बरले वृद्धि हुने उहाँको अनुमान छ ।
सरकारी अनुदानले व्यवसाय गर्न सहज भइरहेको उहाँको भनाइ छ । कृषि विकास निर्देशनालय सुर्खेतबाट अनुदान लिने गरेको हमालले बताउनुभयो । यो वर्ष मात्र पक्की पोल र किवीका बिरुवा लगाउनका लागि एक लाख २० हजार अनुदान लिएको हमालले जानकारी दिनुभयो । सुरुवातीदेखि हालसम्म करिब नौ लाख अनुदान पाएको उहाँले सुनाउनुभयो । दुई जना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई रोजगारीसमेत दिनुभएको छ ।
किवीले रोपेको तीन वर्षपछि उत्पादन दिने गरेको छ । उत्पादन भएको किवी सुर्खेत, सल्यान, नेपालगन्ज, दैलेख लगायतका ठाउँहरूमा बिक्री हुने गरेको छ । अहिले हमालको फर्ममा ५०० किवीका बिरुवा लटरम्म फलेका छन् ।
हमालले किवी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिनुभएको छ । तालिम लिएसँगै खेती गर्न सहज भएको हमालले बताउनुभयो । सुरुमा अन्दाजी रूपमा बिरुवा लगाउनुभएका उहाँले अहिले ज्ञान सिकेर व्यावसायिक रूपमा खेती गरिरहेको जानकारी दिनुभयो । १२ वटा बिरुवाबाट सुरु गर्नुभएका हमालको बारीमा ५०० वटा किवीका बिरुवा छन् । रोपेको करिब तीन वर्षमै उत्पादन दिन थाल्छ । हमालले उत्पादन गरेको किवी प्रति केजी २५० देखि ३०० रुपियाँ सम्ममा घरैबाट बिक्री हुनेगरेको छ । अहिले बारीमा लटरम्म फल लागिरहेको कृषक हमाल बताउनुहुन्छ । भदौबाट किवी बिक्री सुरु गरिने उहाँले जानकारी दिनुभयो । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको बिरुवासमेत हमालले आफैले उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किवीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक लाखौँ बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो।
हमालले उत्पादन गरेको बिरुवा प्रतिगोटा साढे २०० रुपियाँमा घरबाटै बिक्री हुने गरेको छ । जिल्लामा किवीको व्यावसायिक खेती सुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको हमालको भनाइ छ । २०७३ साउन ३२ गते हमाल कृषि फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेको हमालले जानकारी दिनुभयो ।
रहरै रहरमा किवी खेती सुरु गर्नुभएका हमालका लागि अहिले किवीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । हमाललको फार्ममा अहिले एक हजार ५०० बढी बिरुवा मौज्दात रहेको बताउनुभयो । एउटा वयस्क किवीको बोटमा २५ देखि ४० केजीसम्म फल उत्पादन हुने गरेको कृषक हमालले जानकारी दिनुभयो । बजार मूल्यमा अन्य फलफूलभन्दा किवी धेरै महँगो छ । आफूले उत्पादन गरेको किवी बजार पुर्याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेको हमालले बताउनुभयो । उहाँजस्तै एक दर्जन घरका स्थानीय बासिन्दाले व्यावसायिक रूपमा किवी खेती गरिरहेका छन् ।
किवी खेती विस्तार गरिने
कृषि विकास निर्देशनालय सुर्खेतले किवीको क्षेत्र विस्तार गरिरहेको छ । कृषकलाई अनुदान उपलब्ध गराएर किवी खेतीलाई प्रवर्द्धन गर्ने गरिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो । कर्णालीको वातावरण किवी खेतीका लागि उपयुक्त रहेको उहाँको भनाइ छ । किवी फलमा धेरै पौष्टिक तत्त्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि निर्देशनालयले पोल, बिरुवा र सिँचाइमा सहयोग पुर्याउँदै आएको छ । व्यावसायिक किवीको उत्पादनमा युवाहरूको चासो बढेको निर्देशक रोकायले बताउनुभयो । कृषकहरूलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि निर्देशनालयले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी आर्थिक वर्षदेखि पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
सुर्खेतको चिङ्गाड गाउँपालिका, जाजरकोटको नलगाड, भेरी नगरपालिका र कुशे र जुनीचादे गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र रुकुमपश्चिमका विभिन्न पालिकामा समेत किवी खेती भइरहेको निर्देशनालयले जनाएको छ ।
किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरूलाई निर्देशनालयबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाइएको छ । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने कृषकको अनुभव छ । अहिले कृषकका बारीहरू किवीले ढपक्कै ढाकिएका छन् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ५० देखि १०० किलोसम्म फल दिने गरेको कृषकहरूको भनाइ छ ।