• १२ पुस २०८१, शुक्रबार

साहित्यमा तेस्रो आयाम

blog

 राजेन्द्र सुवेदी

‘आयाम’ मा ‘इक’ शब्दको योगबाट बनेको आयामिक शब्दमा ‘साहित्य’ शब्दसमेत मिलेर बनेको साहित्यको विवेचनामा प्रयोग हुने पारिभाषिक पदावली हो आयामिक साहित्य । आयाम भन्नु फैलावट र विस्तार पनि हो । आयामिक वा आयामेली शब्दले लम्बाइ, चौडाइ र गहिराइ सबै मिलेको आयामसँग सम्बन्धित पदावली हो भन्ने बुझिन्छ ।

सन् १९६३ को मईमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ)को सम्पादनमा तेस्रो आयाम पत्रिका पहिलोपल्ट प्रकाशित भयो । यसै पत्रिकामा आयामिक साहित्यको सिद्धान्त प्रकाशित भयो र यसैलाई नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलन भनियो । यसले यतिखेरसम्मको नेपाली साहित्यमा गहिराइ र घनत्व नभएका कारण अबको साहित्य आयामिक हुनुपर्ने स्थितिको बोध गरेर यो आन्दोलनको सुरुआत भएको थियो । यस सिद्धान्तका प्रवर्तक इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाले आरम्भ गरेका यस आन्दोलनले नेपाली साहित्यमा नयाँ अभियानको रूप लियो । यसका प्रेरक विचारहरूमा जेस्टाल्टवाद, घनत्ववाद, हेलियोग्राफ, सामूहिक अवचेतन आदिको भूमिका रहेको थियो ।

सन् १९४२ मा जर्मनीमा आरम्भ भएको जेस्टाल्टवाद मनोविज्ञानको क्षेत्रबाट आरम्भ भएको हो । यसले सम्पूर्णताको अभिव्यञ्जनमा विश्वास गर्दछ । मान्छेको अङ्ग अङ्गमा विभक्त भएका नाक, कान, आँखा, मुख, हातखुट्टा जेजस्ता अङ्गमा खोजेर मान्छे प्राप्त हुँदैन मान्छेलाई समग्रतामा पहिल्याउनुपर्ने हुन्छ । यो काम जेस्टाल्टवादका आधारमा मात्र सम्भव हुन्छ । यस चिन्तनका मुख्य प्रतिपादकहरूमा एम. बेर्टहाइमेर, डब्ल्यु कोहलेर र काफ्का हुन् । त्यस्तै घनत्ववाद सन् सन् १९०८ मा चित्रकलाबाट आएको एउटा अभिव्यक्तिगत पद्धति हो । यसअन्तर्गत ज्यामितीय पद्धतिलाई अँगाल्ने दृष्टि पनि विकसित भयो ।

ज्यामितिमा वस्तुका लम्बाइ, चौडाइ र गहिराइ समान भएको कुनै ठोस वस्तुलाई आधार मानिएको हुन्छ । ज्यामितीय कोण, समकोण आदि आवश्यक अङ्गसहितको यो प्रविधिले सङ्केत गर्ने तìव नै घनत्ववाद हो । पिकासो र ब्राक यसका जन्मदाता हुन् र वस्तुको मूर्त रूपभन्दा त्यसको घनत्वलाई प्रतिपादन गर्ने प्रणालीमा नै सबै पक्ष एकैपल्ट प्रकटमा आउँछन् भन्ने यस वादको निष्कर्ष छ ।

भौतिक विज्ञानमा उपयोग हुने अर्को पद्धतिको नाम हो हेलियोग्राफ । मूर्तिकलाका क्षेत्रमा सन् १०४० मा प्रतिपादन भएका यस पद्धतिमा मूर्तिलाई तीन आयाममा हेर्ने गरियो । लेसर र बिम स्प्लिटर धनिने किरण अर्थात् प्रकाश सन्तुलन गरेर हेलियोग्राफको निर्माण गरिन्छ । एउटा किरणले वस्तुलाई प्रकाशमान बनाउँछ र अर्को किरणले प्रेषकका रूपमा काम गर्छ । यसरी उभय किरणका सहायताले वस्तुको तेस्रो आयाम देखाएर चित्राङ्कन गर्दछ । प्रस्तुत सिद्धान्तका प्रतिपादक डेनिस गेबर हुन् र उनले १९७१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार पनि प्राप्त गरे । त्यस्तै मनोविज्ञानमा प्रचलित अर्को चिन्तन हो– सामूहिक अवचेतन । युङ्गको यस प्रतिपादनमा सामूहिक मन नै सामूहिक अवचेतन हो भन्ने कुरा अघि ल्याइएको छ । अवचेतन मनमा कैयौँ गुण व्यक्तिगत नभएर वंशानुगत रूपमा आएका हुन्छन् र यो जातीय र सांस्कृतिक प्रभावको अभिव्यञ्जन पनि हुन्छ ।

सामूहिक क्षेत्रमा जातीय अनुभव र प्रवृत्तिगत समग्रता पनि पुस्ता पुस्तामा सर्दै गएको हुन्छ । अवचेतन मन आदिम युगदेखि क्रमिक रूपमा सङ्क्रमित बन्दै आएको हुन्छ र यी सबै आदिम वृत्तिहरू आद्य स्वरूप हुन् ।

उप¥युक्त सिद्धान्त र विचार, वाद, आधार र मान्यताका स्थितिहरू नै आयामिक साहित्यका प्रभाव स्रोत मानिएका छन् । नेपालीमा आयामिक साहित्यका विषयमा तिनै राई, बल्लभ र काइँलाका घोषणा नै सिद्धान्त बनेका छन् । यसका अतिरिक्त कुनै सामग्री सार्वजनिक भएको पाइन्न । यिनै तीन जनाको अभिमतका आधारमा साहित्यको विवेचना गरिँदै आएको छ । आयामिक साहित्यको घोषणा गरिँदा ‘अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्नु पर्छ’ भनेर त्यसअघिको साहित्य च्याप्टो रहेको, तीन आयाम नभएको र कुनै न कुनै एक आयाम मात्र उपयोग भएको आरोप लगाउने गरेको र अब तिनै आयामको उपयोग हुनुपर्ने सन्दर्भ यहाँ उपयोग भएको छ । नेपाली साहित्यको इतिहासमा आयामिक सिद्धान्त प्रमुख विषय मानियो तर क्रमिक रूपमा यसका प्रवर्तकहरूले क्रमिक रूपमा आयामिक सिद्धान्तलाई परिमार्जित गर्दै लगे यस क्रममा सिद्धान्तमा सम्पूर्णतासँगै अन्य विषय पनि समावेश हुँदै गए । यसरी सैद्धान्तिक स्थितिमा आयामिक चिन्तनको अवस्था तिन चरणमा विभक्त भएको हुन्छ ।

१) वस्तुका तीन आयाम, २) सम्पूर्णता र ३) चित्रको भाषा । यी तीन तìवको स्थापना नेपालीमा १९६३ मा भयो र यसले साहित्यिक मान्यता १९६३ मा नै प्राप्त ग¥यो र यसको प्रथम चरण परिचय प्राप्त गर्ने प्रक्रियामै खर्च भयो । सन् १९६४ देखि यसको दोस्रो चरण आरम्भ भयो । तेस्रो आयाम पत्रिका बन्द भएपछिको यस चरणमा आयामको चिन्तनका प्रवक्ताहरूबाट मान्यतामा दार्जिलिङमा व्यापक चर्चा र विमर्श र टीकाटिप्पणी हुन थाले । पहिलो चरणमा प्रवक्ताद्वारा विचार प्रक्षेपण गर्नेसम्मको काम भएको थियो । दोस्रो क्षेत्रबाट चरणमा भने अन्य क्षेत्रबाट पनि विचार–विमर्श पनि आरम्भ भयो । आयामिक साहित्य सिर्जनाको परम्परामा गरिएको विमर्श वस्तुतामा केन्द्रित थियो । मानिसलाई सम्पूर्ण रूपमा हेर्न वस्तुताको विधि अवलम्बन गर्नुपर्छ भन्ने मत स्थापना भयो । तेस्रो चरणको काम चाहिँ आयामिक सिद्धान्तको सविस्तार व्याख्या र विश्लेषण गरिनेमा केन्द्रित रह्यो ।

दोस्रो चरणमा उल्लेख मात्र गरिएका वस्तुताको विस्तृत बहस र विवेचना यस तेस्रो चरणमा भयो । यस बहसमा वस्तुतालाई प्राथमिकता दिइयो । यसै सन्दर्भमा आयामिक सिद्धान्तलाई अझ परिमार्जन गरेर सबल बनाउने प्रयत्न भयो । आयामिक सिर्जना तत्क्षणको लेखन हो र यसमा हुनुपर्ने वस्तुताका निम्ति आवश्यक आद्य विम्बको उपयोग हुनु पर्ने अतिरिक्त मान्यताहरू पनि थपिँदै गएको स्थिति देखा प¥यो । यस प्रकार आयामिक सिद्धान्तलाई समग्रमा निरूपण गर्दा प्रमुख रूपमा पाँचवटा मान्यता मात्र देखिएका छन्– क. वस्तुको घनत्व वा त्रैआयामिकता, ख. वस्तुको सम्पूर्णता, ग. वस्तुता, घ. चित्रको सघन भाषा र ङ. आद्य विम्ब । यिनको सङ्क्षिप्त व्याख्या यसरी गर्न मिल्छ ः

क. घनत्व– जुनसुकै वस्तु पनि लम्बाइ, चौडाइ र गहिराइ तीन आयामबाट युक्त हुन्छ । यी तीन आयामको पहिचानको अभावमा वस्तुको तीन आयामको चित्रण सम्भव हुन्न । यी तीन आयाममध्ये कुनै एकको अभावमा साहित्य चेप्टो हुन्छ । आयामिक चिन्तनमा यस्तो पनालाई भावुक सिर्जना मानिन्छ र यो पनि एक प्रकारको पलायन हो । घनत्वको अभाव भएको यस प्रकारको सिर्जनामा वैचारिक गहिराइको उपस्थिति रहँदैन । पाब्लो पिकासोले चित्रमा घनत्व प्राप्त गर्न घनत्ववादी चिन्तन प्रतिपादन गरेका थिए । वस्तुलाई सपाटतामा उतार्ने कामबाट केवल दुई आयाम मात्र प्रस्तुत हुन्छन् । यसका अतिरिक्ति ज्यामितीय गुणको प्रभाव लिएर पिकासोले वस्तुको तेस्रो आयाम अङ्कन गर्नमा समर्थ भएका थिए । आयामिक साहित्य सिर्जनामा जीवनको घनत्व प्रस्तुत गर्दा बौद्धिक व्यायाम हुने कुरा पनि अघि सारिएको छ । 

ख. सम्पूर्णता– सम्पूर्णता जीवनको समग्र यथार्थ हो । यसलाई आयामिकहरू अनेक दृष्टिले निरूपण गर्दछन् । सम्पूर्णता भनेको वस्तुका आन्तरिक तथा बाह्य दुवै पक्षलाई सम्बोधन गर्ने शब्द हो । यसका पनि चारवटा पक्षहरू छन्– १. अंश वा कुनै एकाइ मात्र सम्पूर्णता होइन, २. एकाइमा विभाजन गर्नाले सम्पूर्णतामा व्यवधान आउँछ, ३. सम्पूर्णताले काल अथवा समयको पनि निरन्तरता जनाउँछ, ४. सम्पूर्णता जीवनको तेस्रो आयाम हो । यसरी तेस्रो आयाममा जीवनका सम्पूर्णताको अन्वेषण र मापन गरिन्छ । 

ग. वस्तुता– आयामिक सिद्धान्तमा वस्तुतालाई साहित्यको सार तìव मानिन्छ । वस्तुको स्वतन्त्र अस्तित्व वस्तुता हो र वस्तु सधैँ स्वतन्त्र रहन्छ मान्छेले दिएको अर्थ र विशेषणभन्दा पर वस्तु एक्लै र स्वतन्त्र हुन्छ । विशेषण र व्याख्याबिना पनि बाँचिरहेको हुन्छ र त्यही नैरन्तर्य वस्तुताको वास्तविक साहित्य हो । वस्तुताको लेखन नै साहित्य हो र यो लेखन तटस्थ र आयामिकतातर्फ प्रेरित हुनुपर्छ । वस्तुतालाई आयामिकहरू पराभौतिक मान्दछन् र यो अमूर्त हुन्छ भन्ने स्वीकार्दछन् । यही अमूर्तताबाट जीवनको यथार्थ प्रक्षेपित हुन्छ भन्ने उनीहरूको ठम्याइँ छ । वस्तुतालाई पनि उनीहरू चार प्रकारमा विभाजन गर्दछन् । जस्तैः १. स्वतन्त्रता, २. अर्थनिरपेक्षता, ३. साक्षात्कृति र ४. तत्क्षणिकता । यसरी वस्तुलाई प्रत्यक्ष र परोक्ष प्रकृतिमा विभाजन गरी वस्तुलाई दुई प्रकारले लेखन गर्न सकिन्छ । 

घ. चित्रको सघन भाषा– आयामिकहरू भाषाको शक्ति सीमित भएकाले यसले समग्र वस्तुता प्रकट गर्न सक्तैन भन्ने विश्वास गर्दछन् । अनुभूतिलाई तात्क्षणिकतामा अभिव्यक्त गर्दा चित्रको जस्तो भाषा प्रयोग गर्नुपर्ने हुन्छ । यसरी नयाँ ढङ्गले भाषालाई प्रयोग गर्दा भाषिक दुरुहता, शाब्दिक जटिलता र नयाँ अर्थको सन्निवेश, विम्ब र प्रतीकमा साङ्केतिकता 

जस्ता क्षेत्रमा अर्थको प्रवेश हुने सम्भावना बढ्छ । अमूर्त चित्र आकारहीन भएझैँ आयामिक साहित्यको भाषा पनि आकार तथा रूपहीन बन्दछ ।

ङ. आद्यविम्ब– आद्यविम्बले वंशानुक्रमिक आदिवृत्तिलाई सम्बोधन गर्दछ । आद्यविम्ब भनेको सामूहिक अवचेतनको अभिव्यञ्जन हो । आयामिक चिन्तकहरू आद्यविम्बलाई आत्मसात् गर्न कालगत नैरन्तर्यको खोजी गर्दछन् । निरन्तरतामा विभिन्नका मिथक, रआद्यविम्ब ग्रहण गर्दा सामान्यीकरण गरिन्छ र यस प्रक्रियामा लिएका वस्तु मात्र होइन, भाषासमेत अमूर्त बन्न पुग्छ । आयामिकहरू यसै अमूर्तताको अवस्थालाई सिर्जनात्मकता प्रदान गर्नु पर्छ भन्ने पक्षमा विश्वास गर्दछन् ।

यी विभिन्न सैद्धान्तिक अवधारणा अनुसार नेपाली आयामिक साहित्यका त्रिमूर्ति (राई, बल्लभ र काइँला) ले सिर्जना गरेका छन् । सामान्यतः वि.सं.२०२०÷०२१ देखि आरम्भ भई २०२९ सालसम्म आयामिक रचना सिर्जना भए । इन्द्रबहादुर राईका ‘ब्ल्याक आउट काजु बदाम छोरा’, ‘टाढामा’, ‘आकारहरू’, ‘ऊ त्यसरी बाँचेको छ त्यसरी नै’ जस्ता कथाहरू आयामिक चिन्तनमा केन्द्रित छन् । ईश्वर बल्लभका ‘नितान्त’, ‘अग्नि दीप’, ‘गीतान्त’ जस्ता कवितामा र बैरागी काइलाका ‘म गङ्गा नीलो बग्छु’, ‘ब्रेल हत्केला छामेर’ जस्ता कविताले पनि आयामिक संवेग समेटेका छन् । यिनलाई आयामिक साहित्यका नमुनाका रूपमा लिने गरिन्छ । २०३० पछि भने आयामिक लेखनमा शिथिलता आएको छ । कतै छिटफुट सिर्जना भए पनि २०२० को दशकको तीव्रतामा क्रमशः ह्रास हुँदै आएको छ । आयामिक सिर्जना कथा र कवितामा नै सीमित रहेको छ ।

पछिल्लो चरणमा आयामिक साहित्यको सिर्जनात्मक अनुशरण गर्नेमा कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण सुवेदी निराकारका प्रयत्नहरू देखिएका छन् तर तिनमा पनि त्यस्तो ऊर्जा देखिन्न । समालोचनामा धरावासीबाट केही प्रयास भए पनि विनिर्माणतर्फ उन्मुख भएको स्थिति देखिन्छ । यसरी आयामिक सिर्जनामा जीवनको सम्पूर्णतालाई परम्परागत चिन्तन र मान्यताका विपरीत दिशाबाट प्रस्तुत गर्ने प्रयास भएको छ । यस सिर्जनाको भाषा, शैली परम्परित लेखनभन्दा पृथक्, वक्र र अमूर्त गतिमा प्रवाहित बनेको छ ।

आयामिक लेखनका विषयमा अनेक बहस र विवाद पनि भए । नेपाली साहित्यमा आयामिक लेखन यसभन्दा पहिले पनि थिए भन्ने चर्चा चले । यसको उत्तरमा राईले भानुभक्तको आध्यात्मिक सिर्जनामा रहेको दर्शन, लेखनाथमा रहेको ज्ञानात्मक अध्यात्म, सममा रहेको मानवतावादी चेत, देवकोटा कल्पनामा रहेको घनत्व र उच्चतालाई आयामिक परिधिभित्रै रहेको कुरा स्वीकारेका छन् । निष्कर्ष के हो भने आयामिक लेखन सिद्धान्त परिपोषणका निम्ति बलात् सिर्जना भएको लेखन हो भन्ने पक्षमा भने सहमत हुनैपर्ने स्थिति देखिन्छ । 


–स्वर्गीय राजेन्द्र सुवेदीको अप्रकाशित रचना ।