• १० मंसिर २०८१, सोमबार

अवस्था बदल्न सोच बदलौँ

blog

नेपाली शान र मान एकातिर बहादुरीसँग जोडिएको छ भने अर्कातिर पूर्वीय ज्ञानसँग जोडिएको छ । पूर्वीय ज्ञानमा गौतम बुद्ध र उनको ज्ञानको सागर छ । साथै महर्षि जनक र उनको शासन गर्ने शैली छ । गीता, वेदपुराण र कैयौँ ऋषिमुनि छन् तर यी दुई वटै पाटाको मर्मबाट वर्तमान विचलित छ । न त बहादुरीको इतिहास लेखाउने साहस छ न त बुद्ध, जनक र ऋषिमुनिको बाटो भेटाउन सकिएको छ । 

इतिहासका पानामा उनै चढे, जो शक्तिमा थिए । इतिहासको भाषा र मर्म उनकै पढ्यौँ, जो शक्तिका नजिक थिए । अर्थात् खुकुरी बनाउनेको इतिहास कहिल्यै लेखिएन । नङ्ग्रा खियाउने कर्मयोगी र पसिना बगाउनेको इतिहास कहिल्यै पढिएन । पढिए र लेखिए फगत आदेश दिनेका कथा । यसको मतलब हामीले हाम्रो पुर्खाको इतिहास बिर्सनु भन्ने होइन तर इतिहासमा सबैको सम्मान गर्न र लेख्न कन्जुस्याइँ पनि गर्नु हुन्न भन्ने हो । 

वर्षौंसम्म हामी यिनै गोलचक्रमा घुमिरह्यौँ । यिनकै कुरालाई धर्म मानी पछ्याइरह्यौँ । पढाएनौँ कर्तव्यनिष्ठ बन्ने सिप । सिकाएनौँ समाजको कानुन र समाजप्रति सजग रहने ज्ञान । भनेनाँै, गलत गर्नेलाई औँला उठाउनु पर्छ भनेर । सिकाएनाँै विश्लेषणात्मक चेतनाको ज्ञान । व्यवहारमा देखाएनौँ, हरेक व्यक्तिको सम्मान गर्नु पर्छ भनेर ।    

‘म को हुँ’ भन्ने कुरामा हामी रनभुल्ल भयौँ । एक जना क्यानडाका अनुसन्धानकर्ताले महाभारत युद्ध र अन्तर्राष्ट्रिय न्यायालयको युद्ध अपराधबारे अनुसन्धान गरेका छन् । उनको प्रारम्भिक कथन थियो कि, महाभारत लडाइँको एउटा पाटो युद्धमा कसरी, कसले नियम उल्लङ्घन गर्छन् र सत्यताको मर्म के हो भन्ने ज्ञानसँग सम्बन्धित छ । विश्वमा लडिरहेका सैनिक र विद्रोही सबैका लागि यो निष्कर्ष उत्तिकै महत्वपूर्ण छ । यही ज्ञानको आधारमा 

अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी कानुन पनि बनेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घमा कार्यरत त्यसबेलाका व्यक्तिहरूले महाभारत पढेको मात्र रहेन छ, उपयोग नै ल्याएको रहेछ । 

हामीले खुकुरीको कहानी भन्यौँ । बहादुरी पढायौँ तर त्योभन्दा महìव बोकेको आफ्नो पूर्वीय ज्ञान न त पढायौँ न त उपयोग नै ग¥यौँ । देशमा महर्षि पनि राजा थिए भन्ने इतिहास एक पानामा टुङ्ग्यायौँ । नैतिकताको धरातलमा उभिएको आध्यात्मवादलाई छायाँमा राख्यौँ । धर्मको नाममा व्यक्तिलाई जय जयकार गर्ने विभेदकारी संस्कारको पालना ग¥यौँ । नतिजा अहिले आफैँतिर फर्केको छ । हामी परिवर्तन खोज्छौँ, आफूमा होइन, अरूमा । कर्तव्य पालना गर्न चाहँदैनौँ तर अरूलाई पाठ सिकाउँछौँ । राम र वेदव्यासका कथा सुनाउँछौँ  तर तिनका आदर्शलाई व्यवहारमा लागु गर्दैनौँ ।  

हिजो राणाकाल र पञ्चायतले भ्रमित गरेको जङ्गबहादुरको बाङ्गो रुख सोझो भन्ने जमात सामाजिक सञ्जालमा झ्याङ्गिँदो छ । हामी निहत्थाको हत्या अपराध हो भन्ने ज्ञान महाभारतमा पढ्छौँ तर निहित स्वार्थका लागि धृतराष्ट्र नै ठिक भनी दुर्योधन पुज्न थाल्छौँ । महर्षि जनकको संस्कार पढाउँछौँ तर शासन पद्धति, जनकल्याणकारी संस्कारमा ती आदर्श नियमको पालना गर्दैनौँ । 

हाम्रो चिनारीको अर्को पाटो विश्व शान्ति र मनवतावादसँग सम्बन्धित छ । हामीले समय र परिस्थिति हेरेर या त बहादुरीको कहानी या त शान्तिको कहानी सुनाइ हाल्छौँ । बहादुरीको कहानी झैँ शान्तिको कहानी पनि हाम्रो केवल सुनाउनका लागि मात्र भएको छ । बुद्धको शान्तिको ज्ञान विश्वजगत्ले उपयोग गरेको विज्ञानसँग जोडिएको छ । जो मानव मस्तिष्क र चित्तसँग कुरा गर्न सक्छ, उसमा धर्मभन्दा माथिको आचरण, करुणा, मानवता गाँसिएको हुन्छ । परिवर्तन अरूबाट होइन, आफैँबाट हुनु पर्छ भन्ने मान्यतासहित पञ्चशील र अष्टमार्गका आचरणमा बाँधिएको हुन्छ । 

सायद यी आचरण पालना गरेर नै भिक्षु ‘मेथिउ रिकार्ड’ विश्वकै खुसी व्यक्ति भए । उनले जेनेटिक्समा विद्यावारिधि गरेर बौद्धको सेचेन गुम्बालाई कर्मथलो बनाए । अनि नेपाललाई मात्र नभई विश्वलाई नै यो ज्ञान बाँडे । उनको मस्तिष्कलाई स्नायु वैज्ञानिकले धेरै पटक अध्ययन गर्दा हालसम्मकै खुसी व्यक्तिको रूपमा रहेको प्रमाणित भएको छ । 

बुद्धको ज्ञानमा आधारित करुणामयी शासकीय पद्धति बसाल्न सके दुःखीका आँसु पुछ्न सकिन्छ । शिक्षा, स्वास्थ्य, सामाजिक सेवा जस्ता क्षेत्रमा समान पहुँच पु¥याउन सकिन्छ । गरिबीका रेखाले भरिएका निधारबाट चुहिने पसिनाको मलमपट्टी गर्न सकिन्छ । निःस्वार्थ भावनाले नेतृत्व गर्न सके बुद्धको ज्ञान सबै ठाउँमा पु¥याउन सकिन्छ । व्यक्ति, परिवार र स्वकेन्द्रित राजनीतिका सूचकले बेरिएको हाम्रो मनस्थितिले बुद्धका बहुसत्य सोचाइको अनुसन्धानपरक ज्ञान र विश्लेषणात्मक चेत पचाउन सक्दैन । नेताभक्ति र आज्ञाकारिताको पाठशालामा हुर्केकाले त्योभन्दा परको संसारको सोच बनाउन सक्दैनन् ।

हाम्रो संस्कारले विश्लेषणात्मक चेत बोकेको सोचमा ताल्चा लगाउन खोज्छ । विधार्थीले शिक्षकसँग, बालबालिकाले ठुलाबडासँग र कार्यकर्ताले नेतासँग प्रश्न गर्ने होइन, सुन्न पर्छ भन्ने आज्ञाकारिता घोकाइएको छ । प्रश्न सोध्नै हुन्न खुरुखुरु मान्न पर्छ भन्ने सोच अहिले पनि मौलाएको छ । नयाँ सोचसहित समाज सुधारको बाटोमा खुट्टा टेक्न प्रयास ग¥यो भने तिनै पुराना सोचका प्रवृत्तिले चिथोर्ने प्रयास गर्छ । हामी त्यस्ताका सन्तान थियौँ र त्यस्तै बन्नु पर्छ भनी आदर्श फुक्छौँ । कहानी र कथाले हाम्रो दिमाग दीक्षित हुन्छन् । युवा वर्षौंदेखि ठगिँदै आएका छन् तर दुःख लाग्छ विश्लेषणात्मक चेत भएको बुद्धको बहुसत्य र गीताको कर्मवादलाई पछ्याउनु भन्दा गलतलाई सही भन्दै औँठाछाप ठोक्ने सामाजिक सञ्जालका पिछलग्गु हुन्छौँ । यसरी निर्लज्ज जमातबाट नवीन सोचका युवा जन्माउन मुस्किल छ । यसबाट न शासन पद्धति सुदृढ हुन्छ न त व्यक्ति र समाज नै सुध्रिन सक्छ । 

छातीमा हात राखेरभन्दा सडकमा मान्छे हिँड्न फूलले सजिएका हरियालीसहितका सफा पैदल बाटा सहरका सडकमा चाहिएका छन् । काठमाडौँ राजधानी सहर मात्र होइन, नेपालकै छाती र मुटु हो । त्यसैले यो पाहुनाका लागि नेपालको पहिचान पनि हो । फोहोर, प्रदूषण र यत्रतत्र पार्किङमा राखिएका मोटरसाइकल, गाडी र तिनका आवाज कुरूप पक्ष हुन् । युवाको आवाज उठ्नु पर्छ– यस्ता खराब कामलाई हटाउन । विकल्पको रूपमा टनेल, पुल वा अरू प्रविधिबाट सवारी चलाउँ भनेर तर केहीले सही कामलाई सही भन्न सकेका छैनन् । राजधानी सफा गर्ने जिम्मा सबैको हो । फोहोरको डङ्गुरमा नाक छोपेर हिँड्नु परेको हिजोलाई सपार्न खोज्दा सबैले साथ दिनु पर्छ ।