• १३ साउन २०८१, आइतबार

प्रमुखमा दस महिलाको उम्मेदवारी

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, वैशाख १५ गते । स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो । 

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा विभिन्न पदमा १७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई जना महिलाले नगरप्रमुखका लागि उम्मेदवारी दिएको बताइएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरेन्द्रनगरको प्रमुखमा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । ढकाल यसअघि वीरेन्द्रनगरको उपप्रमुख हुनुहुन्थ्यो । उहाँ पार्टीले टिकट दिएपछि उपप्रमुखबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार बन्नुभएको हो । एकीकृत समाजवादी पार्टीले धनकुमारी जिसीलाई उम्मेदवार बनाएको छ ।

यस्तै गुर्भाकोट नगरपालिकाको प्रमुखमा सात जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये दुई जना महिला उम्मेदवार हुनुहुन्छ । नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कलावती रेग्मी र एकीकृत समाजवादीबाट गौमाया वलीले उम्मेदवारी दिनुभएको हो । 

यस्तै भेरीगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रबाट डल्लीकुमारी बुढाले उम्मेदवारी दिनुभएको छ । उक्त नगरपालिकामा भेरीगङ्गाको प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ । आठ जनामध्ये एक जना महिलाको उम्मेदवारी परेको छ । सिम्ता गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट ज्योति चन्दले उम्मेदवारी दिनुभएको छ । गाउँपालिका अध्यक्षका लागि विभिन्न दलबाट चार जनाको उम्मेदवारी परेको र माओवादी केन्द्रले चन्दलाई अध्यक्षको उम्मेदवार बनाएको जनाइएको छ ।

चौकुने गाउँपालिकाको अध्यक्षमा दुई जना महिलाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । यसमध्ये दुई जना महिला उम्मेदवार रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट निर्मला सापकोटा र एकीकृत समाजवादीबाट रत्नाकुमारी बीसीले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको बताइएको छ ।

लेकबँेसी नगरपालिका प्रमुखमा एक जना महिलाको उम्मेदवारी परेको छ । नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट टीका अधिकारीले उम्मेदवारी दिनुभएको छ । यस्तै उपप्रमुख पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।

चिङ्गाड गाउँपालिकामा महिला उम्मेदवार नभएको जनाइएको छ । विभिन्न दलबाट अध्यक्षमा पाँच जना पुरुषको  उम्मेदवारी परेको छ । उपप्रमुखमा छ जनाको उम्मेदवारी छ । एक जना उपप्रमुख पुरुषबाहेक सबै महिला उपप्रमुखका उम्मेदवार छन् । बराहताल गाउँपालिकाको  अध्यक्षमा विभिन्न दलबाट सात जनाको उम्मेदवारी परेको छ । 

पञ्चपुरी नगरपालिकामा एक जना पनि महिला उम्मेदवार छैनन् । पञ्चपुरी नगरपालिकाको प्रमुखमा आठ जना पुरुषको उम्मेदवारी परेको छ । उपप्रमुखमा महिला नै उम्मेदवार छन् । स्थानीय तहको निर्वाचनमा यस पटक अधिकांश दलले महिलालाई उपप्रमुखकै उम्मेदवार बनाएका छन् ।