• ७ कात्तिक २०८१, बुधबार

टी-२० विश्वकप : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

blog

फाइल तस्बिर ।

सेन्ट भिन्सेन्ट, असार २ गते । आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ ।

सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो । 

नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । याे खेल जितेमा नेपालले जारी विश्वकपमा बलियो टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ । 

खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको प्रदर्शन रामो भएपनि दक्षिण अफ्रिकाविरुद्ध मानसिक आत्मबल गुमाएको बताउनुभयो । 

‘‘हार ब्यहोर्ने टोली सधैँ सफल जस्तो मानिन्छ । तर दक्षिण अफ्रिकाविरुद्ध नेपालले राम्रो खेलेको हो । अन्तिममा आत्मबल देखाउन नसक्दा हार खेपेको हो । टेस्ट राष्ट्रलाई हामी पनि विश्वकप खेलका हौँ भनेर देखाइरहेका छौँ । मोन्टीले बङ्गलादेश राम्रो टोली हो । तर नेपालले अन्तिम खेलमा बलियो चुनौती दिनेछ,’’ मोन्टीले भन्नुभयो । उहाँले सबै खेलमा नेपाली खेलाडीले मानसिक आत्मबल देखाउन आवश्यक रहेको पनि बताउनुभयो । 

दक्षिण अफ्रिबाविरुद्ध अन्तिममा नेपालका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले जितको नजिक पुगेर हार खेपेको थियो । हाल समूहको दोस्रो स्थानमा रहेको बङ्गलादेश पनि नेपाललाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा छ ।

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो । 

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण  अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो । 

दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलङ्का पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।