• ४ असार २०८१, मङ्गलबार

ललितकला प्रदर्शनी सम्पन्न

blog

काठमाडौँ, असार १ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । 

उहाँले समाज रूपान्तरणका लागि कलाकार स्वयं रूपान्तरण हुनुपर्ने कुरामा जोड दिँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालदेखि नै राष्ट्रिय ललितकला प्रदर्शनीमा गर्दै आएको भए पनि यस पटक क्षेत्रीय प्रदर्शनीसमेत गरिएको जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रादेशिक ललितकला प्रदर्शनीमा हजारभन्दा बढी कलाकार जोडिएको र त्यसबाट छानिएका र अप्रतियोगी गरी ४८२ जना कलाकारका ५२२ कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै नेपाल सरकारका विशिष्ट पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थीले प्रदर्शनी अवलोकन गर्नुभएको जानकारी दिनुभयो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्रेष्ठले ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक रूपमा गरेको प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । उहाँले गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी–२०८० मा ललितकला प्रज्ञा–प्रतिष्ठानसँग ऐतिहासिक कार्यमा सहकार्यको अवसार पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रदर्शनीको पूर्वसन्ध्यामा आयोजित ‘ब्यानर लेखन प्रतियोगिता’ मा पहिलो, दोस्रो र तेस्रो हुनुहुने कलाकारलाई समापन कार्यक्रममा सम्मान गरिएको थियो । सो प्रतियोगितामा क्रमशः सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी र उमेश शाह तेलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यशालामा सामाजिक विभेद

‘सामाजिक विभेदविरुद्धको सचेतना ललितकला कार्यशाला–२०८१’ को दुईदिने कार्यशाला बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समयानुसार कला परिष्कृत हुँदै गएको चर्चा गर्दै रैथाने कला, शिल्पकला आदि ज्ञानको खोजी गर्दै विज्ञानसँग जोडी विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले सामाजिक विभेदको अन्त्य संविधानमा उल्लेख भएको र कलाकारले यस्ता विषयलाई आफ्ना सिर्जनामा अभिव्यक्त गर्ने विश्वास आफूले लिएको बताउनुभयो । वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले महिलालाई परेका समस्या/पीडाका विषय कलाकारका कलाकृतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठले ‘कलामा आवाजविहीनको आवाज’ र डिबी नेपाली ‘दमु’ ले ‘कलामा शिल्पी समुदायको गरिमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रमाथि क्रमशः त्रिविका उपप्राध्यापक डा. बालाकृष्ण अधिकारी र नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले टिप्पणी गर्नुभएको थियो । 

कार्यशालामा प्राज्ञपरिषद् सदस्य सञ्जय बान्तवा राई, अरुणा हिङमाङ अग्रज कलाकार राधेश्याम मुल्मी, सङ्गी श्रेष्ठ, अर्जुन न्यौपाने, दीपेन्द्रमान बनेपाली, दुर्गाबहादुर भण्डारी, सरिता मण्डल, विनोद गुप्ता, किरण सिगु, विपना महर्जन, चन्द्रा श्रेष्ठ, दीपमाला महर्जन, कान्छाकाजी भासिमा, टासी सलका शेर्पा, दीपक आउजी, सुरक्षा वाग्ले, रुवीकुमारी कर्ण, निरुपन जैसवाल, विनिता खड्का, सोनी राई, प्रमिला परियार, जेनी घले, सिकेन्दर चौधरीलगायतका कलाकारको सहभागिता रहेको थियो ।