हिन्दुहरूको धार्मिक ग्रन्थ महाभारत वेदव्यासले रचना गरेका हुन् । महाभारतमा कृष्णसँग जोडिएका प्रसङ्ग धेरै छन् । तिनै प्रसङ्गमध्ये शिशुपाल वध पनि एउटा हो । भारतमा मध्यप्रदेश र गुजरातको जीवन रेखाका रूपमा आजसम्म पनि नर्मदा नदीलाई लिइन्छ । मध्यप्रदेशबाट पश्चिम बग्ने नर्मदा नदीको उत्तरी दिशामा चेदी राज्य रहेको कुरा महाभारतमा वर्णन गरिएको छ । वर्तमान भारतको यमुना नदीभन्दा दक्षिणमा र नर्मदाभन्दा उत्तरमा रहेको चेदीराज्य द्वापर युगमा शिशुपालको राज्य थियो । शिशुपाल मगध देशका जरासन्धका सहयोगी पनि थिए ।
द्वापर युग कृष्णको युग हो । शिशुपाल यसै युगमा जन्मेका थिए । यिनका बाबु दमघोष थिए । आमाको नाम श्रुतशुभा थियो । कतै कतै श्रुतकीर्ति पनि लेखिएको पाइएको छ । शिशुपाल जरासन्धको रेखदेखमा हुर्किएका थिए । त्यसैले जरासन्धलाई यिनको पालक पिता पनि मानिन्छ । शिशुपालको अर्थ बालबच्चाका रक्षक भन्ने हुन्छ । महाभारतको सभापर्वमा शिशुपाललाई मारिएको कथा आउँछ ।
शिशुपाल कृष्णका फुपू दिदीका छोरा थिए । कृष्ण र बलराम शिशुपालका मामाका छोरा हुन् । कृष्णले आफ्नी फुपू श्रुतशुभाले छोरा पाएको खबर सुनेछन् । कृष्ण र उनका दाइ बलरामलाई पनि फुपूको छोरा हेर्न जान मन लागेछ । फुपूका छोरा कृष्ण र बलरामका भानिज भाइ भए । फुपूको घर पुगेर उनलाई भेट्दा पूरै दुःखी भएको पाए । कारण बुझ्दा शिशुपालको अनौठो शारीरिक बनोट नै रहेछ । शिशुपाल जन्मँदा तीन आँखा र चार वटा हातसहित जन्मेका रहेछन् ।
कृष्णले श्रुतशुभासँग भाइ हेर्ने इच्छा प्रकट गरे । त्यसपछि उनले आफ्नो छोरा शिशुपाललाई बलरामको काखमा राखिदिइन् । बलरामको काखमा रहँदा शिशुपालले कुनै प्रतिक्रिया जनाएनन् । केही बेरमा उनलाई कृष्णको काखमा सारियो । कृष्णको काखमा आउनासाथ उनी रुन लागे । तुरुन्तै शिशुपालको एउटा आँखा र दुईवटा हात भुइँमा झर्यो । त्यसपछि शिशुपालकी आमा पनि खुब रुन थालिन् । कृष्णले त्यसरी रुनाका कारण सोधे । उनले शिशुपालको जन्म हुँदा ज्योतिषीले जसले समाउँदा यो बच्चाको आँखा र हात झर्छ त्यसकै हातबाट यसको मृत्यु हुन्छ भनेको कुरा सुनाइन् । उनले कृष्णसँग आफ्नो प्रिय पुत्रलाई मारेर आफ्नो काख रित्तो नबनाउन अनुरोध पनि गरिन् ।
त्यस्तो कुरा सुनेपछि कृष्णले आफ्नी फुपूलाई सम्झाए । हरेक प्राणीको साथमा उसको पूर्वजन्मको फल जोडिएको हुन्छ । कृष्णले फुपूलाई भाइको मृत्यु मेरो हातबाट लेखेको छ भने त्यसलाई कसैले टार्न सक्दैन भने । उसको स्वभाव राक्षसको जस्तो हुने कुरा आमालाई ज्योतिषले भनिसकेका थिए । त्यसैले कृष्णले फुपूको चित्त बुझाउन शिशुपालले एक सय गल्ती गरेसम्म आफूले क्षमादान दिने कुरा सुनाए । त्यसभन्दा बढी गल्ती गरेमा सहेर नबस्ने बताए । कृष्णको यस कुराबाट शिशुपालकी आमाको चित्त बुझ्यो । शिशुपाललाई गल्ती नगर्न सल्लाह दिन उनी तयार भइन् ।
कृष्ण रुक्मिणीलाई खुब माया गर्थे । उता शिशुपाल पनि रुक्मिणीसँग विवाह गर्न चाहन्थे । रुक्मिणीको विवाह चाहिँ कृष्णसँग भयो । युधिष्ठिरका राज्याभिषेक यज्ञमा कृष्णले पाएको मानसम्मानले त शिशुपाललाई कृष्णप्रति झन ईष्र्यालु बनाइदियो । उनले कृष्णको झन् अपमान गर्न थाले । कृष्णले शिशुपालका गल्ती गनेर एक सय पुग्दासम्म चुप लागेर बसे । जब शिशुपालले १०१ औँ गल्ती गरे त्यसपछि सहन नसकी यज्ञस्थलमै सुदर्शन चक्र प्रहार गरी शिशुपाललाई मारिदिए ।