• १८ मङ्सिर २०८२, बिहिबार

आँखा शिविरबाट साढे सात सय बढीले लिए सेवा

blog

कपिलबस्तुको कुदानमा आयोजना गरिएको शिविर । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), मङ्सिर १८ गते । कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ७ सय ७६ जनाले सेवा लिएका छन् ।

रोयल थाई मोनेस्ट्री लुम्बिनी, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, स्वर्णभूमि फाउन्डेसन तथा वाट थाई निग्रोधरामको पहलमा र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा उक्त शिविर भएको हो ।

सो शिविरबाट ३ सय ५ जनाको मोतिया विन्दुका अप्रेसन हुने लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभयो । रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरिब, दलित असाहय परिवारलाई विगत आठ वर्षदेखि निःशुल्क शिविर सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।

यस्तै कपिलबस्तुमा विगत देखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरू गरिँदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताउनुभयो । त्यस्तै  विगतमा कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोना कालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको उहाँको भनाइ छ ।