• २७ पुस २०८१, शनिबार

मातृत्वको कथा ‘महासत्त्व’ (फोटो फिचर)

blog

महासत्व नाटकको एक दृश्य । तस्बिर: मनोजरत्न शाही

काठमाडौँ, पुस २७ गते। तत्कालीन पाञ्चाल राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार महासत्त्वको कथामा आधारित नाटक 'महासत्त्व' कौशी थिएटर टेकुमा मञ्चन भइरहेको छ। 

नाटकमा सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय छ।

नाटकका परिकल्पनाकार तथा निर्देशन गर्नुभएका चन्द्रमान मुनिकारले करिब ६ महिनाको अध्ययन, अनुसन्धान र बौद्ध धर्मका विद्वानसँगको परामर्शपछि यो नाटक तयार पार्नुभएको हो। बौद्ध धर्मका नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वको प्रसङ्गबाट यो नाटक बनाएको मुनिकारले बताउनुभयो।

मुनिकारले तयार पार्नुभएको कथा तथा परिकल्पनालाई इङ्गी होपो कोइच सुनुवारले नाट्य रूपान्तरण गर्नुभएको हो। यसको नाट्य प्रस्तुतिकरणमा बज्रकला कुञ्जका प्रतिनिधिको मिहिनेत छ। बज्रकला कुञ्जले पौराणिक कथालाई नाट्य रुपान्तरण गरेर अहिलेको समाजलाई विशेष सन्देश दिने प्रयास गरेको कलाकार सुदन मुनिकारले जानकारी दिनुभयो। नाटकले मातृत्वको महिमा गान गरेको उहाँको भनाइ छ। नाटक माघ ५ गतेसम्म मञ्चन हुनेछ।  


महापूजाका लागि आवश्य अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रह्लाद र महादेव जङ्गल गएपछि भोकाएकी बघिनी चार डमरूसहित मृत्युसँग लडिरहेकी देख्छन्। शिकार गर्न नसक्ने अवस्थामा रहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन्।  शरीर दान गरेका राजकुमारको त्यही मृत्यु हुन्छ। कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन्। उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमोःबुद्धको नामले प्रसिद्ध हुन्छ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।