• ४ असार २०८१, मङ्गलबार

सामाजिक सुरक्षा भत्तामा अपचलन गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

blog

काठमाडौँ, जेठ ३२ गते। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलाराम लुइटेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो वडाबाट ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्दा वडाअध्यक्ष समेतको मिलेमतोमा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचीमा प्रविष्ट गरी, गराइ सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरिएको देखिएको छ।

साविकको जन्म मिति फेरबदल गरी उमेर नै नपुगेका व्यक्तिलाई भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउन उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरी, गराइ सिफारिस गरेको आरोपमा एक लाख ६० हजार रुपियाँ बिगो रकम कायम गरी आरोपपत्र दागर भएको आयोगले जनाएको छ। 

लुइटेलसहित तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध एक लाख ४४ हजार रुपियाँ, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल, तत्कालीन नायब सुब्बा रमेश कोइराला, वडा नंं ६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्तकुमारी लुइटेलविरुद्ध एक लाख ४४ हजार रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।