• १३ साउन २०८१, आइतबार

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारबाही

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १४ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ती जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो । 

काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशाकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । साथै सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता परिपालनामा गम्भीर बन्न काउन्सिलले आग्रह पनि गरेको छ ।  

स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगसँगको सम्झौताअनुसार काउन्सिलले देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरिरहेको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत काउन्सिलले गराउँँदैआएको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको भन्दै प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ । 

सोहीअनुसार २ वटा सञ्चारगृहले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जनाएको छ ।  यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो ।

दुई वटा अनलाइनबाट निर्देशनपश्चात् पनि आचारसंहिता प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएपछि सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै ४ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले बताउनुभयो ।  

आगामी दिनमा दल तथा उम्मेदवारबारेमा प्रचार प्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउन सञ्चार माध्यमलाई काउन्सिलले आग्रह गरेको छ । गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले सबैमा आग्रह गरेको छ ।