• १३ असोज २०८१, आइतबार

चित्रका माध्यमबाट सुनौलो सपनाको यात्रा

blog

ललित बसेल

सुर्खेत, जेठ ३२  गते । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेका पुष्पा खत्रीको विद्यालयको पढाइ पूरा नहुँदै बिहे भयो । अनि पढाइ छुट्यो । एसएलसी परीक्षा दिएपछि छुटेको पढाइ फेरि निरन्तर हुन्छ भन्ने सोच पनि बनाउनुभएको थिएन । पढाइ छाडेको झन्डै आठ वर्षपछि उहाँले फेरि पढ्न थाल्नुभयो र कक्षा ११ र १२ पास पनि गर्नुभयो । पढाइसँगै उहाँले दैनिक सानो काम गरेर पनि थोरै रकम बचत गर्ने बानीको विकास गर्नुभयो । 

अर्का स्थानीय लक्ष्मी बिसीसँग दुई वर्ष पहिले एउटा मात्र बाख्राको पाठो थियो । अहिले बढेर पाँच वटा बाख्रा भएका छन् । पहिले किनेर खानुपर्ने तरकारी बाख्राको मल प्रयोग गरी आफ्नै करेसाबारीमा उत्पादन गर्दै खानलाई पुगेको छ । तरकारीमा खर्च गर्ने रकम उहाँले बचत गर्न थाल्नुभएको छ । 

बाख्रालाई आवश्यक पर्ने घाँससमेत आफ्नो बारीमा उमार्नुभएको छ । भेरीगङ्गा नगरपालिका–८ का विन्दु डाँगीले बारीभरि घाँस लगाउनुभएको छ । दुई वर्षको अवधिमा आठ वटा बाख्रा पाल्न सफल हुनुभएको छ । तीन वर्षभित्र उहाँले १५ वटा बाख्रापालन गर्ने योजना बनाउनुभएको थियो । घरको काम श्रीमान् श्रीमती मिलेर गर्नुहुन्छ । पैसाका लागि अरूको भर पर्नुपर्ने बाध्यताबाट उहाँ मुक्त हुनुभएको छ । 

पुष्पा, लक्ष्मी र विन्दु जस्तै अति विपन्न महिलामा अहिले यस्तै परिवर्तन आएको छ । उनीहरू जस्तै सामान्य लेखपढ गर्न सक्ने महिलाले आफूले चित्र बनाई सुनौलो सपनाको यात्रा तय गरेका छन् । विगतको दुःखको जीवन भोगाइबाट मुक्ति पाउन तीन वर्षभित्र के के गर्ने भनी चित्रका माध्यमबाट महिलाले आफ्नो योजना बनाउनुहुन्छ । त्यही योजनालाई तीन महिनामा, छ महिनामा, एक वर्षभित्र के गर्ने भनी यात्रा तय गर्ने गरिन्छ । यही यात्रालाई सुनौलो सपनाको यात्रा नाम दिइएको छ । 

कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय सुर्खेतबाट सञ्चालित लैङ्गिक कार्य सिकाइ पद्दतिले लेखपढ गर्न नसक्ने, घरेलु हिंसामा परेका, परिवारका सदस्य कुलतमा परेका र गरिब परिवारलाई सुनौलो सपनाको यात्राबाट स्वरोजगार, आत्मर्निभर, आत्मविश्वास बढाउन सघाएको छ । 

कर्णाली प्रदेशका छ वटा जिल्लामा यो कार्यक्रम लागु गरिएको छ । कृषि क्षेत्र विकास कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण कार्यक्रम अधिकृत रुद्र आचार्यले सुर्खेतसहित कालीकोट, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिममा ३२ वटा समूहमा ४८० जना महिला र ४८ जना सहजकर्ता यस कार्यक्रममा सहभागी भएको बताउनुभयो । सुर्खेतमा मात्रै नौ वटा समूह रहेको र जसमा ११२ जना महिला आबद्ध छन् । समूहमा महिला मात्रै आबद्ध हुने प्रावधान छ । 

चित्रका माध्यमबाट आफ्नो काम आफैँ गर्ने बनाउनका लागि महिलालाई आत्मविश्वास बढाइएको छ । चित्रमा महिलाले आफूले गर्न चाहेको काम, त्यसमा आइपर्ने चुनौती, उक्त कामका लागि आवश्यक पर्ने स्रोत र अन्तिममा त्यसबाट प्राप्त हुने उपलब्धिहरू उतार्ने गरेका छन् । सुनौलो भविष्यको यात्रा तय गरेर महिलाले वर्तमानमा विभिन्न काम गरी सक्षम बनाउने कार्यक्रमको लक्ष्य हो । 

आवश्यक पर्ने स्रोत जुटाउने कार्यक्रम लागु भएको करिब डेढ वर्षको अवधिमा निकै महìवपूर्ण उपलब्धि हासिल हुँदै गएको दाबी कार्यक्रम अधिकृत आचार्यले गर्नुभयो । व्यवसाय आफैँ छनोट गरेर आत्मनिर्भर बनेको, जुनसुकै काम गर्न पनि आत्मविश्वास जागेको, घरेलु हिंसामा कमी आएको, कुलतमा फसेका परिवारका सदस्यहरू सत्मार्गमा लागेको, घरपरिवारमा मेलमिलाप बढेको, कृषिलगायतका क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण बढेको जस्ता उपलब्धिहरू यस कार्यक्रमबाट हासिल भएको पाइएको उहाँले बताउनुभयो ।