• १३ असोज २०८१, आइतबार

लागुऔषध कारोबारमा बढी जसो युवा

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ ३२ गते । पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । 

वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन् ।

१५ देखि ३५ वर्षसम्मका युवकयुवती बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला पुरुष लागुपदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन् । प्रदेशमा रुपैडिया, गड्डाचौकी नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ । प्रदेशभर चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म ९४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका छन् । १४३ पुरुष र छ जना महिला पक्राउ परेका छन् । आव २०७७/७८ मा ८४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष १२१ पुरुष र १५ महिला पक्राउ परेका थिए ।

यस्तै आव २०७८/७९ मा ९५ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा १६४ पुरुष र आठ महिला पक्राउ परेका थिए । आव २०७९/८० मा ११४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा १९९ पुरुष र १६ जना महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी वीरबहादुर ओलीले लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका धेरै भेटिएको बताउनुभयो । उहाँका अनुसार १८ वर्षमुनिका पनि केही सङ्ख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ ।

लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । लागुऔषधमा फस्ने ८ देखि १२ कक्षाका बढी हुने भएकाले पनि यसमा विशेष जोड दिँदै आएको ओलीले जानकारी दिनुभयो । विद्यालयका अन्य कक्षाका साना बालबालिकालाई पनि लागुऔषधविरुद्ध सचेतना दिने काम निरन्तर गरिरहेको बताउँदै एसपी ओलीले विद्यालयमा लागुऔषध मात्र नभई ट्राफिक सचेतना र समाजमा हुन सक्ने आपराधिक गतिविधिका घटनाबारेमा पनि सचेत हुन जरुरी रहेको बताउनुभयो । प्रहरी साझेदारी कार्यक्रम, लालटिन अभियानलगायतका अभियान सञ्चालन गरिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागुऔषधको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । लागुऔषध कारोबारको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको पाइएको हो । पछिल्ला केही वर्षको तथ्याङ्कले समेत सुर्खेतमा लागुऔषधको कारोबार बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अघिल्ला आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धेरै लागुऔषध कारोबारी पक्राउ परेको जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चालु आर्थिक वर्षको वैशाख र जेठमा मात्र ११ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको बताउनुभयो । ती घटनामा संलग्न १८ जना पक्राउ परेका छन् ।