• १३ साउन २०८१, आइतबार

बन्दीपुर केबुलकार सञ्चालन

blog

अमरराज नहर्की

तनहुँ, जेठ ३२ गते । बन्दीपुर केबुलकार बिहीबारबाट सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले केबुलकारबाट आवतजावत गर्न पाएका छन् । 

सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएकाले ३६० रुपियाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । छुटको व्यवस्था एक साताका लागि गरिएको छ ।  

केबुलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन आएको उहाँले जानकारी दिनुभयो । शर्माका अनुसार अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त भएकाले व्यावसायिक रूपमा जेठ ३१ बाट सञ्चालनमा आएको हो । 

टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । शर्माले भन्नुभयो, “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पछि मात्रै केबुलकार सञ्चालनमा ल्याएका हौँ ।”

केबुलकारबाट ९० डिग्रीको ठाडो चट्टान अरोहण गरे झैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको लिमिटेडको उपाध्यक्ष किरण पोखरेलले  बताउनुभयो । 

बन्दीपुर गाउँपालिका–४ को डुम्रे बजारनजिकै केबुलकार चोकदेखि मन्दिरसम्म एक हजार सात सय मिटर दुरी सात मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबुलकारको ३१ मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा रहेको छ । प्रतिघण्टा पाँच सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केबुलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म चल्ने छ ।