• ७ कात्तिक २०८१, बुधबार

नेपालका लोपोन्मुख मातृभाषाको संरक्षण गरिने

blog

भक्तपुर, जेठ ३१ गते । भाषा आयोग र काठमाडौँ स्कुल अफ लले संयुक्तरुपमा नेपालका लोपोन्मुख एवम् मातृभाषाको विकास, अध्ययन, अनुसन्धान र संरक्षण गर्ने भएका छन् । मातृभाषाका साथै विशेष गरी लोप हुन लागेका भाषाको विकास र संरक्षणमा संयुक्त प्रयास गर्ने गरी काम थालिएको हो ।

भाषाविज्ञान, भाषा नीति र कानुनसम्बन्धी अनुसन्धान एवम् नीति निर्माण वा परिवर्तनका प्रयासमा सहकार्य गर्ने, परस्पर पहिचान गरिएका आपसी चासोका क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण, कार्यशाला र सम्मेलनको संयुक्तरुपमा विकास र संरक्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता गरी आयोजना अगाडि बढाएको कार्यकारी निर्देशक प्रा.डा.युवराज सङ्ग्रौलाले जानकारी दिनुभयो । 

काठमाडौँ स्कुल अफ लमा भाषा आयोगका पदाधिकारी, प्राध्यापक तथा विद्यार्थीबिचको छलफल र सहभागितामा भाषाको संरक्षण र विकास गर्न सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भाषा आयोगका कामु सचिव डा.लोकबहादुर लोप्चन र स्कुल अफ लका कार्यकारी निर्देशक प्रा.डा.सङ्ग्रौलाले हस्ताक्षर गर्नुभयो । शैक्षिक स्रोत, अनुसन्धानका निष्कर्ष, विज्ञता, पूर्वाधारमा साझेदारी, शैक्षिक तथा अनुसन्धान प्रयोजनका लागि आवश्यक अन्य सुविधाको आदानप्रदान गर्ने, एकअर्काबिच रहेको सीप, ज्ञान तथा प्राज्ञिक र व्यावसायिक अनुभवहरु साझेदारी गरेर क्षमता अभिवृद्धि र व्यावसायिक विकासमा सहजीकरण गरिने भएको छ । 

भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सबै मातृभाषाको समान विकास गर्न अवरोध पुर्‍य ाउने संविधानका धारामा रहेका छिद्रहरुलाई सच्याएर संविधान संशोधन र ऐन संशोधनमार्फत सबै भाषालाई समानताको अधिकार प्रदान गरेर जानुपर्ने आवश्यकता औँल्याउनुभयो । स्कुल अफ लका कार्यकारी अध्यक्ष डा.गोविन्दप्रसाद कुसुमले दुई पक्षबिचको समझदारीले नेपाली भाषा संस्कृतिमाथि विभिन्न कोणबाट भइरहेको अतिक्रमण र हस्तक्षेपलाई संरक्षण गर्ने बताउनुभयो । उहाँले स्कुल अफ लले सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिएर कानुन शिक्षामार्फत त्यस समुदायको भाषा संरक्षण गर्ने जमर्को गरेको बताउनुभयो ।

स्कुल अफ लका कार्यकारी निर्देशक प्रा.डा.सङ्ग्रौलाले भाषा मर्‍याे भने देश बाँच्न सक्दैन भन्दै नेपालमा बोलिने हरेक भाषाको संरक्षणका लागि अनुसन्धानमूलक प्राज्ञिक अध्ययनमार्फत भाषा नीति र कानुनी व्यवस्थामा समसामयिक सुधारका लागि अगाडि बढ्ने बताउनुभयो । भाषा आयोगका कामु सचिव डा.लोप्चनले भाषाको संरक्षणका लागि मातृभाषा, नेपाली भाषा, अन्य भाषा गरी स्तरीकरण गर्नु आवश्यक रहेको र यसका लागि प्राज्ञिक अनुसन्धानमार्फत भाषा समृद्विको राष्ट्रिय संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।

वि.सं.२०५७ मा स्थापना भई पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त समुदायमा आधारित गैरनाफामूलक शैक्षिक संस्था काठमाडौँ स्कुल अफ ल विश्वविद्यालय अनुदान आयोगबाट वि.सं.२०७९ मा विश्व मान्यता गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो र एक मात्रै कानुन अध्ययन गर्ने शैक्षिक संस्था भएको कलेजका सञ्चार माध्यम हेर्ने मिडिया को–अर्डिनेटर प्रदीप पाठकले जानकारी दिनुभयो । रासस