कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १४ गते । रुपन्देहीको बुटवलमा एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । मङ्गलबार बिहान करिब ३ बजेतिर बुटवल उपमहानगरपालिका–६ स्थित बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको थियो ।
चोरीको विरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गाेकुल विश्वकर्माले बताउनुभयो ।
व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै शृङ्खलाबद्ध चोरीका घटना हुँदा पनि प्रशासनले चोर पक्रिने र सुनचाँदी फिर्ता गर्न नसकेको भन्दै सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले दुःखेसो पोख्नुभयो ।
उहाँका अनुसार रुपन्देहीमा दुई महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचाँदी चोरी हुनु दुःखद रहेको भन्दै व्यावसायिक वातावरण बन्न नसकेकोमा चिन्ता जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गरगहना, २२ तोला काँचो सुन र नगद पाँच लाख चोरी भएको बताउनुभयो ।
लुटेराले पसलमा अक्सिजन ग्याससहित वेल्डिङ्ग मेसिन प्रयोग गरेर पसल फोरेको पसलका मालिकले बताउनुभएको छ । उहाँका अनुसार चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउनुभयो । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताउनुभयो ।
रुपन्देहीमा पछिल्लो दुई महिनाभित्र तिलोत्तमा, भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसल, चैत १७ गते रानीबगिया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचाँदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचाँदी पसल, वैशाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको छ ।
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                