• ७ साउन २०८१, सोमबार

‘नदीको तिरो तिरिरहेका छौँ, वर्षा सुरु हुँदा मुटु भक्कानिन्छ’

blog

राप्तीसोनारी ६ जोरैयास्थित स्थानीयको जग्गाबाट हिँडिरहेको राप्ती नदी । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, जेठ ३१ गते । बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ ।

सम्बन्धित सरोकारवाला निकायबाट यो समस्याको समाधानका लागि पहल गर्छन् कि भन्ने आशासमेत उनीहरूमा मरिसकेको छ । “विगतदेखि नै हामीले हरेक वर्ष यो नियति भोग्दै आएका छौँ, हरेक वर्षको बाढीले हाम्रो हजारौँ भन्दा बढी बिघा जग्गा काटेर बगर बनाइसकेको छ, हाम्रो जग्गामा अहिले राप्ती नदी बगिरहेको छ ।” राप्तीसोनारी गाउँपालिका ६ जोरैयाका स्थानीय भक्तिराम पाण्डेले भन्नुभयो, “नेता र सरकारका प्रतिनिधिहरूलाई कति भन्यौँ, भन्यौँ । तर हाम्रो समस्याका बारेमा कसैले सुनुवाइ गरेन, अब त आशा पनि लाग्दैन ।”

गत सालको बाढीले आफ्नो एक बिघा जग्गा काटेर लगेको पाण्डेले बताउनुभयो । उहाँले बाँकी बाँचेको एक बिघा जग्गाको ढिकैबाट नदी हिँडिरहेको र यो वर्ष पक्कै यो पनि काटेर लैजाने अनुमान गरेको सुनाउनुभयो । “खेतीयोग्य एक बिघा जग्गा गत साल काट्यो, अहिले नदी यही जग्गाको ढिकबाटै हिँडिरहेको छ, यो वर्ष यो पनि पक्कै लैजान्छ ।” उहाँले भन्नुभयो, “कुनै रोकथाम नै छैन, रोकथामका लागि तटबन्ध बनाएर जमिन काट्नबाट बचाइदिन भनेर नेताहरूसँग धेरै हारगुहार गर्यौं, कसैले ध्यान दिएनन्, कमसेकम तीन खेती लाग्ने जग्गामा एक खेतीसम्म गर्न पाए पनि केही राहत हुने थियो, कति बेला बाढीले बाँचेको जग्गा पनि लैजान्छ भनेर हेर्नुको विकल्प छैन ।”

पाण्डेले नदी पूर्वतिर बढ्दै आएको र आफूलगायत गाउँलेहरूको जग्गा काटेर पश्चिम नदी पारी डुडुवा गाउँपालिकातिर पारिदिएको दुखेसो पोख्नुभयो । उहाँले स्थानीयको हजारौँ बिघा जमिन नदीपारि डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको र अहिले राप्ती नदी आफूहरूकै जग्गाबाट बगिरहेको भन्दै नदी बगिरहेको ठाउँको पनि तिरो तिरिरहेको बताउनुभयो ।

अर्का स्थानीय जयराम थारुले गत सालको बाढीले दुई बिघा तीन कट्ठा जग्गा काटेको जानकारी दिनुभयो । उहाँले लगाएको धान बालीसहित बाढीले उक्त जग्गा बगाएको बताउनुभयो । “वर्षा सुरु हुँदा मन भक्कानिएर आउँछ, बाढी उर्लेर आउँछ आफ्नै अगाडी आफ्नो खेत काटेर लगेर हेर्नु सिवाय अरू केही गर्न सक्दैनौँ, न क्षतिपूर्ति पायौँ, न त हाम्रो समस्याको समाधान नै भएको छ ।” उहाँले भन्नुभयो ।

थारुले नदीको छेउमा रहेको बाँकी बाँचेको अलि अलि जग्गा पनि अहिले बाढीले लैजाने बताउनुभयो । “बाढी छेकबार र रोकथामका लागि कति भन्यौँ भन्यौँ, भन्दा भन्दा थाकिसक्यौँ, अब त भन्न पनि लाज लागेर आउँछ, जति बाँचेको जग्गा छ त्यो पनि पक्कै लैजान्छ नै, सबै जग्गा लग्यो भने, कि आत्महत्या गर्ने दिन आउँछ, कि त भने काला पहाड जानुपर्ने हुन्छ ।” थारुले पीडा पोख्नुभयो ।

नामबहादुर रानाले गत सालको बाढीले आफ्नो एक बिघा तीन कट्ठा जग्गा काटेर पारी डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको बताउनुभयो । “बाँचेको ६–७ कट्ठा जग्गालाई सुरक्षित गरिदिए हुने थियो, जाने जग्गा गए पनि अलिअलि बाँचेको जग्गामा खेती गरेर कमसेकम ६ महिनालाई खान पुग्ने उत्पादन त गर्न सकिन्थ्यो, ६ महिना ऋण धन गरेरै भए पनि पेट पाल्नहुन्थ्यो ।” रानाले भन्नुभयो, “अरू नोकरी चाकरी केही छैन, यही जग्गाबाट उब्जाएर परिवारको पेट पाल्ने हो, जग्गै नबचेपछि के गरी खाने ? युवा जति सबै बाहिर छन्, अब त हामी बुढाहरू पनि चौकीदार गर्न भारततिर जानुपर्ने दिन आयो ।”

खल्लाटेपरी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर बुढाले पनि खल्लाटेपरीबाट हरेक वर्ष राप्ती नदीको बाढीले स्थानीयको जग्गा कटान गर्ने र डुबानमा पार्ने समस्या रहेको बताउनुभयो । उहाँले खल्लाटेपरीमा जनता तटबन्ध कार्यक्रमको ड्याम भए पनि गत सालको बाढीले त्यसको लञ्चिङ जालीसमेत भत्काएर जोखिममा रहेको बताउनुभयो । “खल्लाटेपरीमा जनता तटबन्धले लगाएको ड्यामको लञ्चिङ जालीसमेत गत सालको बाढीले भत्काएको छ, अत्यन्तै जोखिम छ, त्यो ड्याम भत्कियो भने बाढी सोझै गाउँमा पस्ने धेरैनै सम्भावना छ ।” बुढाले भन्नुभयो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थित नदीको किनारमा पर्ने खल्लाटेपरी, जोरैया र ढलैया बाढीबाट अत्यन्तै जोखिम रहेको वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । खल्लटेपरीमा जनता तटबन्धको ड्याम भए पनि बाढीले तार जालीसमेत भत्काउँदा अत्यन्तै जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जोरैयामा आकस्मिक बाढीको जोखिमबाट रोक्नका लागि केही ठाउँमा आरसिसी प्रोकोपाइल (तीन खुट्टे सिमेन्टबाट बनेको पिल्लर) भए पनि जोरैयाका अन्य क्षेत्रमा नहुँदा सबैभन्दा बढी कटान जोरैयामा भएको बताउनुभयो ।

खल्लाटेपरी, जोरैया र ढलैयाबाट बाढी गाउँमा पसे खल्लाटेपरी, डाँडाटेपरी, मेहमानपुर, गोडियनपुर, लक्ष्मीराजपुर, जोरैया पदनाहा हुँदै ७ नम्बर वडाका बस्ती, ढलैया, गुलारी, छटकपुर, डाँडाटेपरीलगायतका बस्तीहरू डुबानमा पर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

हरेक वर्ष राप्ती नदीबाट हुने स्थानीयको जग्गा कटान र डुबानबाट जोगाइदिनका लागि आफूले गाउँपालिका, प्रदेश र केन्द्रका माननीय तथा जनता तटबन्धको कार्यालय, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय र विभागमा समेत लिखित जानकारी गराउँदासमेत कुनै वास्ता नगरिएको अध्यक्ष खरेलको भनाइ छ ।

२०६३, ०७१ र ०७४ सालमा आएको ठुलो बाढीले ती बस्तीहरूमा ठुलो नोक्सानी पुर्याएको थियो । हरेक वर्ष वर्षाको समयमा आउने बाढीले उक्त क्षेत्रका स्थानीयका हजारौँ बिघा खेत नियमित कटान गर्ने गरिरहेको छ । कटानबाट जोगाउनका लागि स्थानीयहरूले दीर्घकालीन रुपमा रोकथाम हुनुपर्ने उपाय खोज्नुपर्ने भनिरहँदा सरकारबाट आशा हराइसकेको बताएका छन् ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।