बोमलाल गिरी
नवलपुर, मङ्सिर ४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरको पछाडि बस्ने एकजना घाइते भएका छन् ।
बिहीबार बिहान मध्यविन्दु नगरपालिका–८ गडारखोला नजिकै नारायणघाटबाट बुटबलतर्फ जाँदै गरेको बा.प्र. ०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई विपरित दिशामा गुडिरहेको सु. प्र. ०२–००१ ख नम्बरको बसले ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बसको ठक्करबाट धादिङ नीलकण्ठ नगरपालिका–५ का २६ वर्षीय शिवजी वस्तीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार उदयपुर गाइघाटका २१ वर्षीया निरु शाह घाइते हुनु भएको छ । उहाँको सोही अस्पतारमा उपचार भइरहेको नेपालले जानकारी दिनुभयो । बसका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।