• १३ साउन २०८१, आइतबार

चौध वर्षको शिक्षक पेशा छाडेर पशुपालमा रमाउनुहुँदै चौधरी

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १३ गते ।
रुपन्देहीको तिलोत्तमास्थित एक विद्यालयमा  गौतमप्रसाद चौधरी (थारु) कुनै समय शिक्षक हुनुहुन्थ्यो ।

उहाँले आफ्नो जीवनका महत्वपूर्ण १४ वर्ष तिलोत्तमा नगरपालिका–१३ स्थित नमर्देश्वर आधारभुत विद्यालयका विद्यार्थीलाई कखरा सिकाएरै बिताउनुभयो । तर अहिले उहाँको शिक्षकको जीवन बदलिएको छ ।

चौधरी शिक्षक पेशा छाडेर पशुपालनमा रमाउन थाल्नुभएको छ । उहाँ विद्यार्थीलाई मात्रै होइन अरुलाई समेत ‘पाठशाला निर्माण गर्ने’ उद्देश्यले पशुपालन क्षेत्रमा होमिएको बताउनुभयो ।

शिक्षक पेशाबाट राजीनामा दिएर ‘गोल्डेन हैण्डसेक’ लिएका उहाँले सोही पैसालाई पशु फार्ममा लगाउनुभयो । पुर्खौ देखिको आफ्नो जग्गामा उहाँले आधुनिक प्रकृतिको पशुपालन फार्म स्थापना गर्नुभयो । अहिले चौधरीले ‘थारु भैसी फार्म’ चलाउनुभएको छ ।

‘‘साधारण किसान भएर काम गर्न मन लाग्यो, निकट भविष्यमा एउटा नमुना रिसर्च सेन्टर समेत बनाउने  योजना छ,’’ उहाँले सुनाउनुभयो ।

उहाँले २०७३ सालमा स्थापना गर्नुभएको फार्मलाई आधुनिकीकरण गर्दै लैजानुभएको  छ । श्रीमती कुन्तीकुमारी चौधरीको साथमा स्थापना भएको फार्म दुई बिघा १२ कठ्ठा क्षेत्रफलमा छ । उक्त फार्ममा उहाँले हालसम्म एक करोडभन्दा बढी लगानी गरिसक्नुभएको छ ।

अहिले दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुने उहाँको फार्मबाट उत्पादित दूध स्थानीय डेरी उद्योगसहित बुटवलसम्म जाने गर्दछ । सिजनमा एक सयभन्दा बढी लिटर दूध उत्पादन हुने गर्दछ । गौतम बुद्ध डेरी उद्योगसहित स्थानीय रुपमा उहाँको फार्मको दूध खपत हुने गर्दछ । अहिले मासिक एक लाख रुपैयाँ आम्दानी भएको उहाँको भनाइ छ ।

आधुनिक मुर्रा भैसी पाल्नुभएका उहाँले फार्मलाई अझ विस्तार गरी कम्पोष्ट मलको पिट बनाउने योजनामा रहेको बताउनुभयो ।

यस्तै, हाल ४० भैसी र ३० पाडापाडी रहेको र पछि एक सय भैसी पु¥याउने योजना समेत रहेको उहाँले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकामा सञ्चालित नगर प्रमुख दायित्व कार्यक्रमअन्तर्गत उत्कृष्ट ५ उद्यामीमा परेका उहाँले त्यसबाट समेत थप हौसला थपिएको बताउनुभयो ।

सामाजिक क्षेत्रमा नामा चिनाउने काम भएको उहाको भनाइ छ । पहिला केही सिमिति व्याक्ति , विद्यालयमा मात्रै चिन्ने गरेकोमा अब भने अन्य तिलोत्तमावासी, देशले नै चिन्ने गरी काम गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले सात जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिनुभएको छ । उहाँको फार्ममा ५० लाखको योजना  परेको छ भने नेपाल लाइभस्टक सेन्टर इन्नोभेषन परियोजनाबाट ५० लाखको परियोजना छ । जसमा कम्पोष्ट पिट र युरिन पिट बनाउने योजना छ ।

जसको लागि मेसिन खरिद गर्ने र फुल अटोमेटिक रुपमा कम्पोष्ट मलको पिट बनाउने र युरिन(मुत्रबाट) पिट बनाउने र बिक्री गर्ने योजना छ । पशुपालनबाटै उहाँले छोरीलाई आइटी इन्जिनियरको अध्यापन गराइरहेकाे बताउनुभयो ।