बिन्दु थापा
पाल्पा, जेठ ३० गते । तानसेन नगरपालिकाले लैङ्गिकमैत्री तानसेन नगर बनाउन लैङ्गिक समानता नीति तयार पारेर कार्यक्रम गर्ने योजना बनाएको छ । लैङ्गिक समानतामा आधारित समतामूलक र समावेशी तानसेन नगर बनाउने सोचका साथ नगरपालिका अगाडि बढेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । बुधबार सिडिडब्लुएले आयोजना गरेको छलफल कार्यक्रममा श्रेष्ठले तानसेनमा महिला, अपाङ्ग, दलित तथा यौनिक तथा अल्पसङ्खयमैत्री कार्यक्रमहरु गरिने बताउनुभयो ।
तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहाँ सिंजालीले स्थानीय तहका नीति र रणनीति, योजना, संरचना, कार्यक्रम र बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विषय मूलप्रवाहीकरण गर्ने लक्ष्य लैङ्गिक समानताका लागि जनतालाई जिम्मेवार र संवेदनशील बनाउन क्षमता अभिवृद्धि गराउने कुरा नगरको योजनामा समावेश रहेको जानकारी दिनुभयो । छलफलमा प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला , सामाजिक साखा प्रमुख भरत प्रसाद आचार्य, सिडिडब्लुएनका कार्यक्रम प्रबन्धक रिजु रसाइली निर्मला शाही लगायतले नगरपालिकाले सबै क्षेत्रमा सारभूत लैङ्गिक समानता कायम गरी प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।
छलफल कार्यक्रममा सहभागीका तर्फबाट नगरका कार्यपालीका सदस्य संजय घलले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, पर्यटनमा लैङ्गिक नीति र समावेशी के हुने भन्नेबारेमा नगरपालिका मौन रहेको भन्दै त्यसलाई समावेश गर्न सुझाव दिनुभयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, अल्पसङ्ख्यक समुदायको सहभागिता सुनिश्चित गर्न माग, विभेदलाई विभेदका रुपमा नहेरी शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच कहा पुग्यो त्यो हेरेर मात्रै नीति बनाउनपर्ने, लैङ्गिक न्याय र समानता कायम राख्न नीति कोशेढुङ्गा सावित गर्न लाग्नुपर्ने सुझाव छलफलमा सहभागीहरुको थियो ।
नगरले लैङ्गिक समानतामा आधारित महिला, बालिका एवम् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको बहुपक्षीय सशक्तीकरण तथा विकासका लागि नीतिगत, कानुनी तथा संरचनागत क्षमता सुदृढ गर्न विभिन्न कार्ययोजनाको परिकल्पना गरेको छ ।
महिला अधिकारमा आधारित लैङ्गिक उत्तरदायी शासन पद्धति सुनिश्चित गरी लैङ्गिकतामा आधारित सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न अभियान चलाउनने, लैङ्गिक समानताका लागि मनोव्यवहारगत परिवर्तनका लागि प्रोत्साहन गरिने कार्ययोजना छ । विकास र शासनका सबै क्षेत्रमा लैङ्गिक समता कायम गर्न सकारात्मक विभेदको पद्धति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने सरोकारवालाको सुझाव रहेको छ ।