छविलाल पाण्डे
बुटवल, जेठ ३० गते । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हीराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधवार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेका छन् । केही घाइतेको भने अझै पनि उपचार भइरहेको छ ।
उता बसका सहचालक भने गम्भीर घाइते छन् । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।