तानसेन समाचारदाता
तानसेन, जेठ २९ गते । चालु आव सकिन एक महिना बाँकी छ । आवको अन्त्यमा पाल्पाका अन्य स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयलाई काम सक्ने हतारो छ तर जिल्लाको बगनासकाली गाउँपालिका भने चालु आवको काम एक महिनाअघि नै सकेर नयाँ योजना निर्माणमा लागेको छ ।
बगनासकाली गाउँपाालिकाले वैशाखभित्रै विकासका काम सकेर नयाँ योजना निर्माणमा लागेको छ । असारे विकास रोक्ने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि नै योजनाबद्ध काम गरेपछि बगनासकालीले वैशाखभित्रै सबै योजनाको काम सकेको हो ।
बगनासकाली गाउँपालिकाले नौ वटै वडाका वडास्तरीय योजना, पालिकास्तरीय योजना तथा सङ्घ र प्रदेशसँगको सहकार्यमा सञ्चालित योजना वैशाखभित्रै सकेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले योजनाको काम सकेर प्राविधिक मूल्याङ्कन र अनुगमनपछि उपभोक्ता समितिलाई भुक्तानी गरिएको जानकारी दिनुभयो । असारमा विकासको काम गर्ने प्रवृत्तिलाई रोक्न आवको सुरुदेखि नै योजनाबद्ध रूपमा काम गरिएको उहाँले बताउनुभयो ।
चालु आवमा बगनासकाली गाउँपालिकाले उपभोक्तामार्फत चार सय योजना सञ्चालन गरेको थियो । त्यस्तै १६ वटा योजना ठेक्कामार्फत गरेको थियो । योजना समयमै सम्पन्न गर्नका लागि पालिकाले वडा वडामा गत मङ्सिरअघि घुम्ती सेवामार्फत योजना सम्झौता र प्राविधिक स्टिमेटको काम गरेको थियो ।
उपभोक्ताले गरेका काम २०८० चैत मसान्तभित्रमा सक्ने सम्झौता भएको थियो भने ठेक्कामार्फत गर्ने योजना वैशाख १५ भित्र सक्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पालिकाले समयमै काम गरेर आगामी आवका लागि योजना सङ्कलनको काम गरिरहेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । असारमा पालिकाकै योजना बनाउने हतार हुने र असारमा हुने काम गुणस्तरीय नहुने निष्कर्षका साथ समय तालिका बनाएर काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकामा जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा समयमै योजनाको काम सम्पन्न भएको छ ।”
योजना समयमै सम्पन्न भएका उपभोक्ताको खातामा पैसा भुक्तानी भइसकेको छ । कतिपय प्रदेश र सङ्घसँगको सहकार्यमा भएका योजनाको भने रकम नहुँदा भुक्तानीमा समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।
समयमै योजनाको काम सकिएपछि पालिका आगामी आव २०८१/८२ को योजना निर्माणमा लागेको छ । बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले चालु आवको विकासको काम सकिएको र आगामी आवका लागि बस्ती तहबाट योजना सङ्कलनको काम भइरहेकोे बताउनुभयो । पालिकाको सुशासन कायम गर्न समयमै योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्न तालिका बनाएर काम गरेको प्रवक्ता थापाले बताउनुभयो ।