स्थानीय संस्थागत विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने एकजना विद्यार्थी रुँदै रुँदै घर आइरहेको थियो । विद्यालयबाट आउँदा सधैँ हाँसीखुसी आउने विद्यार्थीको आँखामा आँसु देखेपछि मनमा जिज्ञासा पैदा हुनु स्वाभाविक नै हो र मैले कारण जान्न चाहेँ । उसले आफ्नो रुवाइको गतिलाई झनै तीव्र बनायो । रुनुको कारण चाहिँ कक्षा क्याप्टेनको निर्वाचनमा धेरै मतान्तरले ऊ पराजय भएको रहेछ । ३७ जना विद्यार्थी भएको कक्षामा उसले पाँच मत मात्रै ल्याएको रहेछ । सबै साथी र शिक्षकले निर्वाचनमा सामेल हुनका लागि हौस्याएपछि निर्वाचनमा क्याप्टेनको उम्मेदवार भएको केटो लज्जास्पद मतले हार बेहोर्नु परेपछि मानसिक रूपमा विक्षिप्त जस्तै देखिन्थ्यो । जिन्दगीमा सबैभन्दा महत्वपूर्ण कुरा गुमाएको र गर्नै नहुने गल्ती गरेको भाव उसको अभिव्यक्तिमा देखिन्थ्यो ।
जसै कलिलो मुनामा सानो हावाको झोक्काले पनि असर पार्न सक्छ, उसै गरी ससाना बालबालिकामा पनि साना साना कुराले ठुलो असर पार्न सक्छ । सानो कुरामा तत्कालै खुसी हुने र सानो कुरामै तत्कालै दुःखी हुने उनीहरूको स्वभाव नै हो । मानसिक रूपमा पनि परिपक्व नहुने भएको हुँदा निर्वाचन र त्यसमा पराजयको विशालतालाई आत्मसात् गर्न अवश्य पनि उनीहरूलाई हम्मे हम्मे पर्छ । क्षमताका हिसाबले यो बालबालिकाको वशको कुरा होइन । हामीले उनीहरूलाई क्षमताभन्दा बढी थोपर्न खोज्यौँ भने त्यसले सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव बढी पार्छ । अझ विद्यालयलाई त विद्यार्थीले सिकाइको सबैभन्दा विश्वसनीय ठाउँ मानिरहेको हुन्छ । त्यसकारण विद्यालयबाट हुने कमजोरी रोक्नका लागि प्रशासन धेरैभन्दा धेरै संवेदनशील हुनु आवश्यक छ ।
“अर्को साथीले सबैलाई क्यान्टिनमा पार्टी दियो । अनि सबैले उसलाई भोट हाले,” आफ्नो पराजयमा उसको बुझाइ थियो यो । आमनेपाली परम्परा नै हो कि हामीले हाम्रो कुनै पनि कमजोरीको दोष आफूलाई दिन चाहन्नौँ । आफूले निर्वाचन जित्दा सही मान्छे छानेको बताउने उम्मेदवारहरूले अर्कोले निर्वाचन जितेमा पैसामा बिक्री भएको, स्वार्थ प्रेरित भएको आरोप लगाउने गर्दछन् । यो आमप्रवृत्ति हो । निर्वाचनमा विजय र पराजय सामान्य भएको भनेर मैले उसको मन त शान्त पार्ने प्रयास गरेँ तर आफैँ पनि केही निर्वाचनमा पराजय हुँदा भोग्नु परेको तनाव सम्झिएपछि नमज्जा महसुस भयो । विद्यालयमा एउटा कक्षालाई नियन्त्रण गर्नका लागि विद्यार्थीहरूलाई विभाजित गरेर निर्वाचन गराउन के आवश्यक छ त ? यो प्रश्नलाई केही विवेचनात्मक ढङ्गले व्याख्या गरौँ ।
विद्यालयहरूका कक्षाको नेतृत्व गर्ने विद्यार्थी छान्नका लागि सर्वत्र निर्वाचन गर्ने परम्परा स्थापित हुँदै गएको छ । लोकतान्त्रिक देशमा विद्यार्थीले सानै उमेरदेखि लोकतन्त्रको अभ्यास गर्नु आफैँमा उत्साहप्रद कुरा हो । यसले लोकतन्त्रलाई जीवन प्रदान गर्नका लागि निर्वाचनको भूमिकाप्रति उनीहरूको बुझाइलाई सानै उमेरदेखि फराकिलो बनाउँदै लैजान्छ । आफूलाई नेतृत्व गर्ने व्यक्ति आफूले नै छान्न पाउनु लोकतन्त्रको सुगन्ध नै हो । एक समय थियो, शिक्षकहरूले कक्षामा अलिक जान्नेलाई कक्षाको लिडर बनाउने गर्दथे । कक्षामा शिक्षक नआउँदाको समयमा पनि नियमित रूपमा कक्षा सञ्चालन होस् भन्नका लागि यसले राम्रै गरेको थियो तर पढ्ने कुरामा निपुण हुनु र नेतृत्व गर्नु भने अलग अलग कुरा हुन् । नेतृत्व आफैँमा एउटा कला पनि हो । यो सबैमा नहुन सक्छ ।
ससाना बालबालिकालाई निर्वाचनमा होमेर नेतृत्व छान्ने कुराका अदृश्य प्रभावलाई हामीले समयमै नियाल्न सकेनौँ भने यसका नकारात्मक बाछिटा छिटपुट रूपमा अवश्य पनि देखिन थाल्ने छन् । कतिपय सन्दर्भमा अहिले देखिन पनि थालेको छ । पराजयलाई काँचो दिमागले सहजै स्वीकार गर्दै लैजानु सानोतिनो कुरा होइन । बालबालिका साना साना कुरामा पनि आफू अपहेलित अथवा कमजोर भएको कुरा स्वीकार गर्न सक्दैन । उसको दिमाग नै त्यो तरिकाले विकसित भइसकेको हुँदैन । यस्तो अवस्थामा निर्वाचनका बाछिटालाई रोक्नका लागि विद्यालय र परिवारले पहल गर्न सक्दछ । निर्वाचनका बेला विद्यार्थीमा आउने उत्साहलाई निर्वाचनमा पराजयपश्चात् पनि कायम गराउनका लागि हामीले भूमिका खेलेका छौँ या छैनौँ ? मेरो छिमेकी विद्यार्थीजस्तै पराजय हुने विद्यार्थीको मनोविज्ञानमा के असर परेको छ भन्नेबारे सोचेका छौँ या छैनौँ ? अहिलेका लागि यो महत्वपूर्ण सवाल हो । एउटा सानो घटनाले पनि ठुलो सम्भावना बोकेको बालकलाई गहिरो नकारात्मक प्रभाव पार्न सक्दछ ।
सामान्यतया मत प्राप्तिका आधारमा छानिएको क्याप्टेनसँग नेतृत्व क्षमता हुन्छ भन्ने हुँदैन । निर्वाचन जित्नु भनेको सबै गुणले सम्पन्न हुनु भन्ने बुझ्नु हुँदैन । नेपालका संसदीयलगायतका विविध खालका निर्वाचनलाई हे¥यौँ भने पनि हामीले विश्लेषण गर्न सक्छौँ । विद्यालयले निर्वाचनबाट छनोट भएको विद्यार्थीलाई सबै जिम्मेवारी प्रदान गर्ने भुल गर्नु हुँदैन । नेतृत्वबाट छानिँदैमा उसमा सबै खाले गुण हुन्छ भन्ने हुँदैन । सामान्यतया कक्षा या विद्यालयको नेतृत्व गर्ने विद्यार्थीमा मुख्यतया नेतृत्व गर्ने क्षमता हुनु पर्छ । त्योसँगै प्रभावकारी सञ्चार गर्न सक्ने क्षमता, जिम्मेवारीबोध, अब्बल शैक्षिक क्षमता, कुनै पनि काम सजिलोसँग गर्न सक्ने क्षमता र विद्यालयको नीति र मूल्यप्रति प्रतिबद्ध हुनु पर्छ । हामीले गर्ने निर्वाचनले यस खालको नेतृत्व छनोट गर्न सक्ने आधार देखिँदैन । निर्वाचनले सही क्षमताको व्यक्ति मात्रै छनोट गर्न सक्दैन भन्ने दृष्टान्त हाम्रामाझ रहेका छन् ।
कक्षामा नेतृत्व गर्ने विद्यार्थी छनोटका लागि विभिन्न खालका अन्य आधार पनि छन् । हामीले त्यस्ता कुरालाई बढी प्राथमिकतामा राख्नु पर्छ । विद्यार्थीसँग अन्तर्वार्ता लिएर उसका विभिन्न सकारात्मक पक्षबारे जानकारी लिन सकिन्छ । यस्तो अन्तर्वार्तामा नेतृत्वबारे भिन्न सवाल राख्न सकिन्छ, जसबाट राम्रो क्षमता भएको विद्यार्थीको छनोट गर्न सकिन्छ । कसैलाई पनि दुस्मन नठान्ने, सबैलाई आफ्नो मान्ने बालबालिकालाई निर्वाचनका नाममा विभाजित नगरौँ । म सर्वेसर्वा या म केही पनि नभएको भन्ने खालका विषाक्त सोचको बीजारोपण हुनबाट जोगाऔँ । हामीले सस्तो लोकप्रियता या देखासिकीका नाममा बाल नेतृत्व छनोटमा मतदान गरिरहेका छौँ भने त्यसले सकारात्मक परिणामभन्दा नकारात्मक परिणाम नै ल्याउँछ ।