• १२ साउन २०८१, शनिबार

पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

blog

खेल । फाइल तस्बिर

काठमाडौँ, जेठ २८ गते । खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै छ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ । 

युनिसेफ नेपालले आयोजना गरेको सञ्चार अन्तरक्रियामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा.दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभई यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो । “खेलका माध्यमबाट बालबालिकाले अरूसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्दछन्’’, डा शाक्यले भन्नुभयो, “बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन् । खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ । यी अहिलेको विश्वमा बाँच्नका लागि महत्त्वपूर्ण सीपहरू हुन् ।’’

विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रूपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशिताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्दछ । यही कुरालाई आत्मसात् गर्दै बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो । रासस