• ११ असोज २०८१, शुक्रबार

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना भत्काउन सुरु

blog

सरकारी जग्गा अतिक्रमण गरेर बनाईएका अवैध संरचना डोजर लगाएर भत्काईंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २८ गते । सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना नेपालगन्ज उपमहानगरपालिकाले भत्काउन सुरु गरेको छ । उपमहानगरभित्र सरकारी जग्गा अतिक्रमण गरेर अवैध रूपमा निर्माण गरिएका सबै संरचना भत्काइने जनाउँदै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सो कार्य तीव्र पारिएको बताउनुभयो । 

उहाँका अनुसार सो क्रममा नेपालगन्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घर टहराहरू उपमहानगरले डोजर चलाएर भत्काएको छ । अवैध रूपमा निर्माण गरिएका घर टहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले मेयर विष्टले आफैँ डोजरले भत्काउने काम सुरु गरेको नेपालगन्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले थप्नुभयो, “अतिक्रमित संरचना हटाउन पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउन बाध्य भएका छाैँ, अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”

नेपालगन्ज उपमहानगरपालिका–९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारवार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ । सोही प्रकारले नेपालगन्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन पनि डोजर लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किनुभएको हो ।

नेपालगन्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । यस्ता अतिक्रमण हटाउन मेयर विष्टसहितको उपमहानगरको टोली सक्रिय भएर लागेको छ । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको मेयर विष्टले बताउनुभयो । 

नेपालगन्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । उहाँले बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको जनाउँदै यसमा सहयोग गर्न सम्पूर्ण नगरवासीसंग आग्रह गर्नुभयो ।