• १२ साउन २०८१, शनिबार

बरघर प्रथा संरक्षण गर्न माग

blog

बरघर प्रथा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागी बडघर । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे

बुटवल, जेठ २८ गते । रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका थारु समुदायका बस्तीमा वर्षौँअघि रहेको बरघर प्रथा अहिले लोप हुन थालेपछि संरक्षणको माग गरिएको छ । 

थारु समुदायका अगुवाले बरघर प्रथा लोप भएको भन्दै संरक्षणका लागि पहल थालेका हुन् । नेपालका राणा शासनभन्दा अघिदेखि थारु समुदायमा बरघर प्रथा चल्दैआएको थियो । तर २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएसँगै यो प्रथा बिस्तारै लोप हुन थालेको स्थानीयको भनाइ छ ।  

थारु समुदायको प्रभाव रहेको गाउँमा कुनै  झैझगडा भए, केही समस्या आइपरे तथा कुनै नयाँ निर्णय गर्नुपरेमा समुदायले चयन गरेको बरघरले सरकारी निकायमा ध्यानाकर्षण गराउन र छिनोफानो गर्ने चलन छ ।  

थारु समुदायले कुनै निश्चित समय तथा अवधिका लागि गाउँ चलाउन तोकेको वा चयन गरेको मुली अगुवालाई बरघर भन्ने गरिन्छ । पछिल्लो समय स्थानीय पालिकामा विभिन्न गाउँ तथा वडामा टोल विकास संस्था गठन गर्ने प्रावधान आएपछि थारु समुदायको बरघर प्रथा लोप हुन थालेको थारु अगुवाको गुनासो छ । 

बरघरको काम टोल विकास संस्थाका पदाधिकारीले गर्न थालेपछि वर्षौँ पुरानो बरघर प्रथा लोप भएकाले यसलाई संरक्षण गर्नुपर्ने उनीहरू बताउँछन् । थारु कल्याणकारी सभा रुपन्देहीका पूर्व अध्यक्ष रामबली चौधरी थारु समुदायमा बरघर प्रथा राणा शासनभन्दा अघिदेखि कायम रहेको बताउनुभयो । 

उहाँका अनुसार गाउँमा हुने कुनै पनि समस्या, झैझगडा लगायतका विवाद समाधानमा तिनै बरघरको निर्णयलाई मान्ने चलन छ । नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि थारु गाउँबाट बिस्तारै यो प्रथा लोप हुँदैगएको उहाँको भनाइ छ । पश्चिममा थारु गाउँमा बरघर कायम रहे पनि पूर्वतिर यसको अस्तित्व समाप्त हुँदैगएको उहाँको भनाइ छ ।  

थारु अगुवा केवलप्रसाद थारुले पश्चिमका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरतिर बरघर प्रथा कायमै रहेको बताउँदै त्यहाँ पनि बरघर प्रथालाई संरक्षण गरिनुपर्ने बताउनुभयो ।

बरघर प्रथालाई जोगाउने र थप प्रभावकारी बनाउने गरी लुम्बिनी प्रदेश सरकारले बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ । तालिममा तीन जिल्लाबाट ४२ जना थारु समुदायका अगुवा (बरघर) को सहभागिता थियो ।