• २१ असार २०८१, शुक्रबार

रघुगंगामा पाँच वटा जलविद्युत आयोजना निर्माण धमाधम

blog

राहुघाट क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजना । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २८ गते । 
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा प्रवेश गरेका छन् । रघुगंगा र यसका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरू एकसाथ निर्माणको अन्तिम चरणमा पुगेका हुन् । आयोजना निर्माण सम्पन्न भएसँगै जलविद्युत विकासमा ठुलो फट्को मार्ने आशा गरिएको छ । 

रघुगंगा नदीमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना, ३७.५ मेगावाट क्षमताको मंगलेराहुघाट, ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २२.५ मेगावाट क्षमताको ठुलो खोला माथिल्लो ए जलविद्युत आयोजना निर्माणाधीन छन् । ती सबै आयोजना निर्माण सम्पन्न भएमा एकसय ६९ मेगावाट विद्युत उत्पादन हुनेछ ।

निर्माणाधीन पाँचवटा जलविद्युत आयोजना मध्य तीनवटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा माथि रहेको छ । रघुगंगा नदीमा तुदी पावर कम्पनीले दुईवटा आयोजना एकसाथ निर्माण गरिरहेको छ ।


कम्पनीले निर्माण गरिरहेको ३७.५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले रघुगंगा गाउँपालिका ८ को बन्दीमा बाँध निर्माण गरी ५.५ किलोमिटर लामो सुरुङबाट पानी ल्याई चिमखोलाको मलाङमा निर्माण हुने विद्युत गृहमा खसालेर विद्युत निकाल्ने योजना छ ।

त्यसैगरी, तुदी पावर कम्पनी प्रवर्द्धक रहेको अर्को ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना मंगलेराहुघाटको विद्युत गृहबाट निक्लेको पानी छेउको चिमखोलामा समेत मिसाई ५ किमी लामो टनेलबाट पानी ल्याएर राहुघाट जलविद्युत आयोजनाको बाँधस्थल माथि बुक्लमा विद्युत गृह बनाएर विद्युत निकाल्ने योजना छ । यो आयोजनाको पनि ७५ प्रतिशत भौतिक प्रगति भएको छ । दुवै आयोजना एकसाथ निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको तुदी पावर कम्पनीका आवासीय इन्जिनियर प्रकाश तिमिलसीनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले दुईवटा जलविद्युत आयोजनाको निर्माण एकसाथ अगाडि बढाएका छौँ । दुवै आयोजनाको टनेल पुरा भई पाइपलाइन राख्ने र कंक्रिटिङको काम गरिरहेका छौँ । अपर राहुघाट यही अगष्टसम्म र मंगलेराहुघाट सन २०२४ को डिसेम्बर सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’’


त्यसैगरी रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको सुगरथलामा बाँध बनाई राहुघाट खोलाको मुख्य सहायक ठुलोखोलाको पानी ३.६ किलोमिटर लामो टनेल र १ किलोमिटर पेनस्टक पाइपबाट पानी ल्याई छरीमा पावरहाउस रहने २१.३ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत आयोजनाको निर्माण पनि अन्तिमचरणमा पुगेको छ ।

संयुक्त ऊर्जा प्रा.लि प्रवर्द्धक रहेको ठुलो खोला जलविद्युत आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर रवीन्द्र हमालका अनुसार जेठको तेस्रो हप्तासम्म सिभिल तर्फ ९५ प्रतिशत, हाईड्रोमेकानिकल तर्फ ६५ प्रतिशत, इलेक्ट्रोमेकानिकल तर्फ ६० प्रतिशत र ट्रान्समिसन लाइन तर्फ ५० प्रतिशत प्रगति हासिल भएको छ ।

ठुलोखोला जलविद्युत आयोजना निर्माण करिब अन्तिमचरण पुगेको छ आयोजनाका प्रोजेक्ट म्यानेजर हमालले भन्नुभयो, ‘‘आगामी कात्तिक महिनाभित्रमा आयोजनाले परीक्षण उत्पादन थाल्छौँ । हाम्रो उत्पादन भएको बिजुली राहुघाट मंगलेको पावरहाउसमा लुपआउट/लुपइन विधिबाट कनेन्ट गर्ने हो ।’’

ठूलोखोला जलविद्युत आयोजनाभन्दा माथि राहुघाटको सिरानमा अर्को २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला ए जलविद्युत आयोजना निर्माणाधीन छ । रघुगंगा गाउँपालिका ७ र ८ नम्बर क्षेत्रमा पर्ने ससलधारामा हेडवक्स र सेतिनीभ्यालीमा पावरहाउस रहने आयोजनाको पुरै दुईहजार आठसय मिटर लामो पेनस्टक पाइप मात्र प्रयोग हुने आयोजनाले जनाएको छ ।

आयोजनाको हेडवक्स तर्फ ६० प्रतिशत,हेडवक्स पाइप ९० प्रतिशत, सर्च पाइपलाइन ७५ प्रतिशत, पेनस्टक पाइप ५० प्रतिशत, पावरहाउसको काम ३० प्रतिशत र ट्रान्समिसन लाइनको काम भने भर्खर सुरु भएको आयोजनाका प्रोजेक्ट म्यानेजर लोकबहादुर नायकले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण आयोजनामा काम गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।


धौलागिरि हिमालको फेदीमै आयोजना भएकाले भौगोलिक कठिनाइ, चिसो मौसम लगायतले काम गर्न कठिनाइ भए पनि आयोजना निर्माणलाई तीव्रता दिएको आयोजनाका प्रोजेक्ट म्यानेजर नायकले बताउनुभयो ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत आयोजनाको ६ किलोमिटर २ सय ७० मिटरमध्ये करिब एकसय १५ मिटर सुरुङ खन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।  करिब ८० प्रतिशत भौतिक प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजना सहित काम भइरहेको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो ।

निर्माणाधीन जलविद्युत आयोजनाहरू सम्पन्न भएर विद्युत उत्पादन भएमा गाउँपालिकाको विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । जलविद्युत आयोजनाहरूको निर्माणमा आइपर्ने समस्याहरूको समाधानका लागि  गाउँपालिकाले सहजीकरण गर्ने गरेको उहाँको भनाइ छ ।