राममणि दाहाल
हेटौँडा, माघ २३ गते । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०-०८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।
चालु आव २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपियाँ बराबरको निर्यात गरेको भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ)का अनुसार गत आव २०८०-०८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपियाँ बराबरको निर्यात गरेका थिए ।
व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँच वटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्त्रीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताउनुभयो ।
मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा.लि.र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको सङ्घले जनाएको छ । सङ्घका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो ।
लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा.लि. ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सङ्घले यसअघि सम्मान गरेको थियो ।
गत आवमा बिस्कुट, पपलगायत उत्पादन भारततर्फ निर्यात गरेको खजुरीको नेपाल प्रा.लि. को उत्पादन चालु आवमा निर्यात भएको छैन । गत आव २०८०-०८१ मा मकवानपुर जिल्लाका विभिन्न उद्योगबाट गरी ४३ करोड ५३ लाख ९४ हजार ९९४ रुपियाँ बराबरको उत्पादन भारत तथा तेस्राे मुलुकमा निर्यात भएको थियो ।