• २२ माघ २०८१, मङ्गलबार

लागुऔषध कारोबारीलाई पक्राउ गर्न ६ राउण्ड गोली प्रहार

blog

घाइते आलमलाई उपचार गर्न लगिएको कनकाई नगर अस्पताल । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, माघ २२ गते । झापाको कनकाई नगरपालिका–४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

मङ्गलवार साँझ समयमा कनकाई नगरपालिका–४ मनोकामना टोलमा  दुई जनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वमा प्रहरी टोलीले कारोबारीलाई पिछा गरेको थियो ।  

 त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख दाहाल नेतृत्वको  प्रहरीले ६ राउन्ड  फायर गरेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडानम्बर ५ बिहार घर भएका वर्ष २८ का अन्जर आलमलाई गोली लागेको छ ।

उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ वर्ष १७ का युसुव   आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाईकल र उनीहरुको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख राधाकृष्ण दाहालले बताउँनुभयो ।

घाइतेलाई स्थानीय कनकाई नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडतर्फ लगिएको छ । पक्राउ परेका युसुव आलम र मोटरसाईकललाई हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

नेपाल भारत खुल्ला सिमाको फाइदा उठाउँदै नेपालको दक्षिणी सिमा दिघलबैँब नाकाबाट हरेक दिनजसो लागुऔषध र कारोवारीहरुले सोझै नेपाली भूमिमा लागुऔषध भित्राउने गरेको सुराकी पाएसँगै प्रहरीले यसको नियन्त्रणमा कडाई गरेको जनाएको छ।