• २३ पुस २०८२, बुधबार

तत्कालीन सचिव र कार्यालय सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, पुस २१ गते ।सर्लाहीको साविक हरिपूर्वा गा.वि.स. का तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुणकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार १८ वर्ष नपुग्दै बिना दरबन्दी नियुक्ति गरी गराई अख्तियारको दुरुपयोग गरेको भन्नेसमेतको उजुरीमा अनुसन्धान हुँदा सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार यादवको जन्म २०४७ असोज ५ गते रहेको मिति २०६७ भदौ १० गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट जारी नागरिकता प्रमाणपत्र नम्बर वि.सं. २०६६ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेको स्कुल लिभिङ सर्टिफिकेटबाट देखिएको छ ।

 निजले गाउँ विकास समितिको कार्यालय, हरिपूर्वा सर्लाहीमा २०७३ माघ १ गतेदेखि २०७५ असार मसान्तसम्म पटक–पटक म्याद थप गर्दै राष्ट्रसेवकको रूपमा सेवा करारमा कार्यरत रहेको देखिएको छ ।

उक्त करार सेवा सुरु हुनुभन्दा अघि मिति २०७१ भदौ ३१ गते नै हरिपूर्वा गा.वि.स.बाट प्रतिवादी यादवको स्थायी नियुक्ति भएको भनी सरकारी लिखतको दुरुपयोग गरी गराई गलत लिखतको आधारमा आर्थिक वर्ष २०७८/७९ बाट स्थायी नियुक्ति लिएको देखिएको आयोगले जनाएको छ ।

 सहायक स्तरको पदका लागि १८ वर्ष उमेर पुरा भएको हुनु पर्ने कानुनी प्रावधान रहेकोमा यादव २०६४ असोज मसान्तसम्म १७ वर्ष २५ दिन मात्र भएकोले उक्त समयमा नेपाली नागरिकता नै प्राप्त भएको नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूमाथि सजाय हुन माग दाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।