• २३ माघ २०८१, बुधबार

लिमी लगायतका उच्च क्षेत्रमा हिमपात

blog

लिमीको हल्जी गाउँमा हिउँ पर्दै । तस्बिर सौजन्य : पाल्जोर तामाङ

राजन रावत
हुम्ला, माघ २३ गते । जिल्लाको उत्तरी क्षेत्र लिमीलगायतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । मङ्गलबार रातिदेखि ती क्षेत्रहरुमा हल्का हिमपात भइरहेको हो ।

नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीलगायत उच्च स्थानमा हिमपात भइरहेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँले मङ्गलबार रातिबाट हल्का हिमपात हुने क्रम जारी रहेको र जमिनमा हिउँ जम्न सुरु भएको जानकारी दिनुभयो ।

लिमीमा यस वर्षको यो छैटाैं हिमपात हो । उहाँका अनुसार लिमीका तीन वटै गाउँ तील र जाङका साथै लाप्चा, ताक्ची, न्यालु, नारा, यारी मुचुमा पनि हिमपात भइरहेको छ । उहाँले खासै बाक्लो हिमपात नभए पनि हिउँ पर्ने क्रम जारी रहेको बताउनुभयो । तर नारा, न्यालु र लाप्चामा भने बाक्लो हिमपात भइरहेको छ ।

हिमपातसँगै चिसो बढेका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । तापक्रम पनि माइनसमा झरेको कारण चिसो बढेको बताउनुहुँदै उहाँले चिसोका कारण पशुवस्तु पनि गोठभित्रै राखिएको बताउनुभयो ।

सिमकोटमा परेन हिउँ
जिल्लाका उच्च क्षेत्रमा हिमपात भए पनि सदरमुकाम सिमकोटमा भने यस पटक पानी मात्र परेको छ । मङ्गलबार सुरुमा हिउँ पर्न सुरु भए पनि त्यसपछि रातभर वर्षा भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

यसअघि जहिले पनि फागुन महिनासम्म सिधै हिउँ पर्ने सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा यस पटक हिउँ सट्टा वर्षा मात्र भएको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि माघ महिनामा वर्षा भएको हुन सक्ने उहाँले बताउनुभयो ।