• २३ माघ २०८१, बुधबार

प्रदेश सभा बैठकको बस्दै, विधेयक पेस हुने

blog

बागमती प्रदेश सभाको भवन । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ २३ गते । बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसहित चार वटा विधेयक प्रदेश सभा बैठकमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार आजै दिउँसो बस्ने प्रदेश दोश्रो बैठकमा प्रदेश सभामा पेस भएको विधेयकहरूमाथिको सैद्धान्तिक छलफल हुने भएको छ ।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बैठक सुचारु गर्ने सहमति जुटाइएको थियो । सत्तापक्ष र विपक्षी दलबिच बजेटसम्बन्धी विवाद समाधान गर्ने सहमतिपछि तत्कालका लागि प्रदेश सभा बैठक सञ्चालन गर्न सहमति जुटेको थियो । 

बजेटसम्बन्धी आफ्नो माग पुरा नगरेको भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ । बजेटसम्बन्धी माग क्रमशः पुरा गर्ने सत्ता पक्षको प्रतिबद्धतापछि तत्काललाई बैठक सञ्चालन गर्ने सहमति जुटाइएको माओवादी केन्द्रले जनाएको छ ।

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन माघ १८ गतेबाट सुरु भएको हो ।