• २२ माघ २०८१, मङ्गलबार

मालपोत प्रमुख नटिक्दा मर्कामा छन् सेवाग्राही

blog

मालपोत कार्यालय लमजुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २२ गते । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राही समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमुख नहुँदा लमजुङका सेवाग्राही समस्यामा परेका हुन् । 

मालपोत कार्यालयमा एक वर्षदेखि पटक पटक कार्यालय प्रमुख फेरिदैं आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्र जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमुखको आगमन तथा सरुवा भएको छ । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेको स्थानीयको गुनासो छ ।

गत आर्थिक वर्षको फागुन अघिसम्म निमित्त कार्यालय प्रमुखको भरमा सेवा प्रवाह हुँदै आएको थियो । फागुनमा प्रमुखका रूपमा चिरिञ्जीवी पौडेल आउनु भए पनि एक महिनामै सरुवा हुनुभयो । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भयो । जेठ महिनामा हरेन्द्रकुमार श्रेष्ठ आउनुभयो, तर असार महिनामै सरुवा हुनुभयो । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदैआएको थियो ।

पछिल्लो पटक मङ्सिरमा भिष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनुभयो । उहाँ पनि पुस महिनामै सरुवा हुनुभयो । त्यसयता कार्यालय प्रमुखमा कोही आउनुभएको छैन । प्रमुखका रूपमा कास्कीबाट रामचन्द्र अधिकारीलाई सरुवा गरिए पनि उहाँ लमजुङमा हाजिर हुन आउनुभएको छैन् । 

हाल निमित्त कार्यालय प्रमुखको रूपमा कार्यालयका कर्मचारी पूर्णबहादुर गुरुङलाई जिम्मेबारी दिइएको छ । उहाँलाई कार्यालय प्रमुखको अख्तियारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । अख्तियारी नपाएका निमित्तका भरमा कार्यालय सञ्चालन हुँदा महत्त्वपूर्ण कामहरू रोकिएको बेसीसहर–३ का भरतबाबु घिमिरेले बताउनुभयो । 

प्रमुख नहुँदा कार्यालयबाट निर्णय गर्नुपर्ने काम, नामसारी, घरजग्गा कायम, संशोधन लगायतका काम रोकिएको मालपोत कार्यालय निमित्त प्रमुख पूर्णबहादुर गुरुङले बताउनुभयो ।  सामान्य सेवा प्रवाह भइरहेको भए पनि कार्यालयमा विशेष काम लिएर टाढा–टाढाबाट आएका सेवाग्राहीलाई प्रमुख नहुँदा फर्कनु परेको छ ।

मन्त्रालयबाट मालपोत कार्यालय लमजुङ सरुवा भएर आउने अधिकांश कार्यालय प्रमुख आफ्नो सरुवा हुने अवधि नपुुग्दै सरुवा मागेर हिँड्ने गर्नुभएको छ । पूरै अवधिसम्म प्रमुखहरू नबस्नुमा एकातिर स्थानीय पुराना कर्मचारीको हालीमुहाली र कमाइ कम हुनु रहेको हुनसक्ने सेवाग्राहीले आशङ्का गरेका छन् ।