• २३ माघ २०८१, बुधबार

नेपालगन्जमा सामूहिक बेल विवाह

blog

नेपालगन्जमा सम्पन्न सामूहिक बेल विवाहका सहभागीहरु । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ २३ गते । नेवार समुदायको संस्कारअनुसार नेपालगन्जमा विधिवत् रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) सम्पन्न भएको छ ।

नेवाः पुचः बाँकेले विगतका वर्षहरुझैं यस वर्ष पनि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

नेवार समुदायको अनिवार्य संस्कार मानिने बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाडौंका १२ जना बालिकाको सहभागिता रहेको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्रकुमार जोशीले बताउनुभयो । 

उहाँका अनुसार त्यसैगरी हिन्दू धर्मावलम्बीहरुको अनिवार्य मानिने संस्कार बालकका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रममा सात जना बालकको सहभागिता थियो । 

सो कार्यक्रममा काठमाडौंबाट आउनुभएका नेवाः ब्राह्मण मूलगुरु विजय राजोपाध्याय र अर्का गुरु विरु राजोपाध्यायबाट दुई दिनसम्म नेवारी संस्कार र परम्पराअनुसार विधिवत् रुपमा गरिएको थियो । 

नेवाः पुचः बाँकेका पार्षद् पूर्णलाल चुकेले नेवार समुदायमा अनिवार्य संस्कारको रुपमा लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) का लागि यस भेगमा विधिवत् पूजा गर्ने पुजारी नपाइने भएकाले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने बाध्यता भएको बताउनुभयो । नेवाः पुचःले नेपालगन्जमा यसरी सामूहिक कार्यक्रमको आयोजना गर्न थालेको बताउनुभयो ।