• ५ जेठ २०८३, मङ्गलबार

अनलाइन ठगी प्रकरणमा वडा सदस्यसहित तीन पक्राउ

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ ५ गते ।
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोरखाका एक वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ का वडा सदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका–७ का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका–४ की कोपिला लामिछाने रहनुभको छ ।

रौतहटको चन्द्रनिगाहपुर–२ निवासी रेनुमाया थिङको जाहेरीका आधारमा उहाँहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित थिङले ‘चिट्ठा परेको’ भन्दै विभिन्न बहाना बनाएर आफूबाट करिब ७० लाख रुपियाँ ठगी गरिएको आरोप लगाउनुभएको छ ।

घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धानअनुसार पक्राउ परेकाहरूले गोरखाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ । विशेषगरी एनआइसी एसिया बैँक र गरिमा विकास बैँकमा रहेको खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ ।

“गाउँलेलाई सहज रूपमा ऋण उपलब्ध गराइदिने भन्दै खाता खोल्न लगाइन्थ्यो । खाता खोलेबापत १०–१० हजार रुपियाँसमेत दिने गरिएको देखिएको छ,” प्रहरी उपरीक्षक रिजालले भन्नुभयो । उहाँका अनुसार खोलिएका खातामा ठगीबाट प्राप्त रकम जम्मा गरी कारोबार सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि भीमसेन थापा गाउँपालिका–४ का स्थानीयवासी आक्रोशित बनेका छन् । आफूहरूलाई भ्रममा पारेर बैँक खाता खोल्न लगाइएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरी उपरीक्षक रिजालका अनुसार यस प्रकरणमा थप व्यक्तिको पनि संलग्नता हुन सक्ने आशङ्कासहित अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।