अमरराज नहर्की
तनहुँ, जेठ ५ गते । गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहिद बुद्धसिंह मार्गको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अलपत्र जस्तै बनेको छ । सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र एक साता समय बाँकी रहँदा भौतिक प्रगति भने मात्र ४० प्रतिशत देखिएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार आगामी जेठ १२ गते यो ठेक्काको म्याद सकिँदैछ । तर ६० प्रतिशत काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्योलमा परेको हो ।
सफल मैनाचुली जेभीले २०७९ भदौ २७ गते ३३ महिनाभित्र सम्पन्न गर्ने गरी ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । दमौली बसपार्कदेखि सुँडेको पुलसम्मको १० किलोमिटर खण्ड सात मिटर चौडा कालोपत्रे गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ, नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ । बुद्धसिंह मार्ग उपभोक्ता सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कछुवा गतिमा हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेन्नुपरेको बताउनुभयो । उहाँले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
३२ वर्षअघि ट्याक खोलिएको यो मार्ग पोखरा–नारायणगढ सडकको उत्तम र छोटो विकल्प हो । दमौलीबाट मुग्लिङ हुँदै घुमाउने पुग्ने ५६ किलोमिटरको यात्रा यो मार्ग पूर्ण भएमा मात्र ३२ किलोमिटरमा झर्ने छ, जसले साविकको दूरी २३ किलोमिटर छोटो बनाउने छ । तर कामको सुस्त गति र त्रिशूली नदीमा मोटरेबल पुल बन्न नसक्दा यात्रुहरू मर्कामा परेका छन् । यसका साथै तल्लो सेती जलविद्युत् परियोजनाले आठ किलोमिटर सडक डुबानमा पार्ने देखिएकाले नयाँ ट्याक खोल्नुपर्ने थप प्राविधिक चुनौती समेत थपिएको छ ।
म्याद सकिनै लाग्दा पनि आधाभन्दा बढी काम बाँकी रहनुले निर्माण कम्पनीको चरम लापरबाही र सरकारी निकायको फितलो अनुगमन उजागर गरेको बुद्धसिंह मार्गका संस्थापक अध्यक्ष यमबहादुर आले बताउनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा विसं २०१८ मा भानु नगरपालिका निवासी बुद्धसिंह रानाले चितवनको भरतपुरमा शहादत प्राप्त गर्नुभएको थियो । उहाँकै सम्झनामा यो मार्ग नामाकरण गरिएको हो । सहिदको नाममा खोलिएको मार्ग यसरी अलपत्र पर्नु जनतालाई पीडा मात्र नभई सहिदप्रतिको समेत अपमान भएको आलेको भनाइ छ ।