• ८ वैशाख २०८२, सोमबार

अझै भएन जीर्णोद्धार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते ।  २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको रणमुक्तेश्वर मन्दिरको जीर्णोद्वार अझै हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाको मध्य भागमा रहेको यो शिवालय अहिलेसम्म जस्ताले मात्र छोपिएको छ । स्थानीय लायकू साःका ज्येष्ठ नागरिक कृष्णराम मानन्धरका अनुसार एकले अर्कोलाई जिम्मेवारी पन्छाएर यो शिवालय बन्न नसकेको हो ।

रणमुक्तेश्वर संरक्षण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार मुक्तेश्वर बनाउने विषयमा गुठी संस्थानका अधिकारीसँग परामर्श भइरहेको छ । चर्चित व्यापारिक आरबी कम्प्लेक्स क्षेत्रमा रहेको यो शिवालयको आम्दानी पर्याप्त रहेको र आवश्यक रकम मौज्दातसमेत रहेको समितिका सदस्य दिनेश श्रेष्ठाचार्य बताउनुहुन्छ । “आम्दानी नभएको होइन तर बनाउनका लागि बैठक मात्र हुन्छ, निर्णय र काम हुँदैन, यसो किन भइरहेको छ ?,” उहाँको  प्रतिप्रश्न छ । 

गुठी संस्थानका पूर्वउपप्रशासक सरोज थपलियाका अनुसार आरबी कम्प्लेक्स रणमुक्तेश्वरकै बगैँचामा बनेको हो । १० रोपनी मुक्तेश्वरको जग्गामा सात रोपनीमा कम्प्लेक्स बनेको छ र बाँकी तीन रोपनीमा शिवालय छ । 

कम्प्लेक्सले वार्षिक एक करोड रुपियाँ संस्थानलाई भाडा तिर्छ । तर गुठी संस्थान काठमाडौँ जिल्ला शाखा प्रमुख एवं सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्य यस विषयमा संस्थानलाई जानकारी नै नभएको बताउनुहुन्छ । सदस्य श्रेष्ठाचार्य भने संस्थान र समितिको सहभागितामा रणमुक्तेश्वरका पसलका बहाल रकम संयुक्त बैङ्क खातामा दाखिला हुने गरेको र रकम पर्याप्त जम्मा भइसकेको दाबी गर्नुहुन्छ ।

गुठी संस्थानका पूर्वउपप्रशासक सरोज थपलियाका अनुसार श्रीकुमारीघर, भद्रकालीको चौघेरा सत्तल, रणमुक्तेश्वर निर्माणका लागि पुनर्निर्माण प्राधिकरणलाई भनिएको थियो तर प्राधिकरणबाट आर्थिक अनुदान नपाएर रोकिएको थियो । तर श्रीकुमारीघर, भद्रकाली सत्तल काठमाडौँ महानगरपालिकाले बनाउने सहमति भइसकेको भद्रकालीस्थित गुठी लगत कार्यालयका सूचना अधिकृत श्रीरत्न शाक्य बताउनुहुन्छ ।

रणमुक्तेश्वरबाहिरका पसल कबल पनि जीर्ण भएको सदस्य श्रेष्ठाचार्य बताउनुहुन्छ । पुरातत्त्व विभागको स्वीकृति नलिई यसै बनाउन नसकिएको उहाँको भनाइ छ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले रणमुक्तेश्वर संरक्षण समितिले नै शिवालयको विषय हेरिरहेको बताउनुभएको छ । आम्दानी गुठी संस्थानले लिने तर बनाउने पुरातत्त्व विभागले, यो हुनै नसक्ने महानिर्देशक गौतम बताउनुहुन्छ । 

तत्कालीन राजा रणबहादुर शाहलाई भाइ शेरबहादुर शाहले हत्या गरेपछि शाहको आत्माको मुक्तिको कामना गर्दै यो शिवालय स्थापना भएको इतिहास छ ।काठमाडौँ महानगरपालिका–२२ का अध्यक्ष चिनीकाजी महर्जनले संरक्षण समितिले नै यस विषयमा हेरिरहेको बताउनुभयो । नजिकैको सिद्धिचरण चोकस्थित दफ्तर युवा क्लबका अध्यक्ष राकेश शाहीका अनुसार रणमुक्तेश्वर नबन्दा सहर अशोभनीय भएको जनगुनासो छ ।