• १३ असार २०८२, शुक्रबार

गोरखापत्रकर्मी गुरुङ बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित

blog

गोरखापत्रकर्मी गजेन्द्र गुरुङ सम्मानित ।

कमल खत्री

धम्बोझी, जेठ २७ गते । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाँकेको १४औं साधारणसभाको अवसरमा गोरखापत्रकर्मी गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा समाचार सङ्कलन गरेर समाज महत्वपूर्ण योगदान गरेको भन्दै गुरुङलाई बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष दामोदर भण्डारीलगायतले नगद पाँच हजार र सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभएको छ । 

यसैगरी साधारणसभामा लियाकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेल, क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिताबाट शङ्कर खनाल र शोभा केसीलाई सम्मान गरिएको छ । कार्यक्रममा चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछल्डङग्या, रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुङ्गाना (बर्दिया) र अनिता विश्वकर्मा (बाँके), रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट विक्रम बुढा क्षेत्री र अभिशेष गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट रुपनी जिएम सम्मानित हुनुभयो । 

आँखा स्वास्थ्य पत्रकारिताबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँले नगदसहित पुरस्कृत हुनुभयो ।

महासङ्घ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहित पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी तथा ठाकुर सिंह थारुलाई सम्मान पनि सम्मान गरिएको छ । 

लियाकत अलि पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार महासङ्घ बाँकेले स्थापना गरेको पुरस्कार हो भने अन्य दाताले स्थापना गरेको पुरस्कार हो । साधारण सभाको अवसरमा प्रदान गरिएको पुरस्कार छनोटको लागि रुद्र सुवेदीको संयोजकत्वमा डक्ट धिताल र नवीन गिरी रहेको तीन सदस्यीय समिति गठन गरियो ।

यसैगरी पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ बाँके शाखाले आफ्नो १४औं साधारणसभामा १४ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गरेको छ । १४ बुँदे नेपालगञ्ज घोषणापत्र जारी नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट पारित १४ बुँदे घोषणापत्रमा पत्रकारका विभिन्न विषय उठान गरिएको छ । 

साधारणसभाबाट पारित भएको १४ बुँदे घोषणापत्रको पहिलो बुँदामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ठ, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्ने उल्लेख छ । यस्तै घोषणापत्रमा पत्रकार आचारसंहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्ने जनाइएको छ ।

साना लगानीमा सञ्चालन गरिएका भाषाभाषीका मिडियाको संरक्षण संवर्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्ने, मिडियामैत्री नीति तथा कानुन बनाउन माग गर्दै नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्न माग गर्ने, स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्ने, स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकताका साथ दिने व्यवस्था माग गर्ने उल्लेख छ । अनलाइन आमसञ्चार माध्यमको दर्ता र नवीकरण, पत्रकार परिचयपत्रको वितरण र नवीकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्ने, समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधारणमा एकै बुझाइ भएकाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानुन निर्माण माग गर्ने तथा श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्ने उल्लेख छ । 

यस्तै, आठौं र नवौं बुँदामा आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दिगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने तथा नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशील पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशील नरहेका सदस्यहरुलाई स्वघोषणा वा ससम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने विषय समेटिएको छ । पत्रकारिता पेशा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठी, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

घोषणा पत्रमा पत्रकारलाई निर्वाधरुपमा समाचार तथा फोटो, भिडियो सङ्कलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्ने, महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा आग्रह गर्ने, बाँकेका पर्यटकीय गन्तव्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गर्ने विषय समेटिएको छ ।

साधारण सभाको बन्दसत्रमा सचिव कमल डाँगी र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो ।