• १२ साउन २०८१, शनिबार

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

blog

फाइल तस्बिर

जानकी (बाँके), जेठ २६ गते । बाँकेको नेपालगन्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।

उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताउनुभयो । पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा.घोषले बताउनुभयो । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उहाँले बताउनुभयो । गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा.घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिनुभयो ।

कान्ति आरोग्य अस्पतालका डा.रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गर्नुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजेटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि एक लाख र लुम्बिनी प्रदेश सरकारले दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार दिने गरिएको छ । 

स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा.समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी बिसीले जानकारी दिनुभयो ।

चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको छ । तीमध्ये एक जनामा पोजेटिभ देखिएको बताइएको छ । रासस